Tekmandu

मेटामा ८ हजार कर्मचारी कटौती, मान्छेले होइन, एआई ले गर्‍यो जागिरबाट निकाल्ने निर्णय !

काठमाडौं — फेसबुकको माउ कम्पनी मेटाले हालै ८ हजार कर्मचारीलाई जागिरबाट निकाल्ने घोषणा गर्‍यो। तर, यो गम्भीर निर्णय कुनै म्यानेजर वा मानव संशाधन (एचआर) ले नभई एआईले गरेको भन्दै २६ जना कर्मचारीले अदालतको ढोका ढक्ढकाएका छन्। उनीहरूको आरोप छ  मेटाले अपाङ्गता भएका र बिदामा बसेका कर्मचारीलाई लक्षित गर्दै एआईको भरमा उनीहरूको जागिर खोसेको हो।

अमेरिकाको क्यालिफोर्नियास्थित उत्तरी जिल्ला अदालतमा दर्ता गरिएको उजुरीमा मेटाले ‘मेटामाट’ (Metamate), कर्मचारीले नै तालिम दिएका ‘सेकेन्ड-ब्रेन’ एजेन्ट, किस्ट्रोक र एक्टिभिटी-मोनिटरिङ डेटा जस्ता आन्तरिक एआई टुलहरू प्रयोग गरेर कर्मचारी छनोट गरेको उल्लेख छ।

मुद्दा हाल्ने २६ जना कर्मचारीको भनाइ छ, “मेटाले काम जानेका र कर्मचारीलाई चिनेका म्यानेजरहरूको विवेक प्रयोग गरेन। बरु एआई सिस्टम र अल्गोरिदमको आधारमा कर्मचारीलाई नम्बर दिएर निकाल्ने सूची तयार पार्‍यो।”

उजुरीका अनुसार मेटाको आन्तरिक ड्यासबोर्डले कर्मचारीहरूलाई उनीहरूले कति एआई प्रयोग गर्दछन् भन्ने आधारमा ‘एआई नेटिभ’, ‘एआई फर्स्ट’, र ‘एआई इनेबल्ड’ जस्ता श्रेणीमा बाँडेको थियो। रोयटर्सका अनुसार अमेरिकाको कुनै ठूलो कम्पनीले जागिरबाट निकाल्न एआईको प्रयोग गरेको भन्दै परेको यो सम्भवत  पहिलो मुद्दा हो।

बिदामा बसेकाहरू मारमा

एआई टुलले कामको मूल्याङ्कन, उत्पादकत्व र  एआई टोकन  खपतको आधारमा कर्मचारीको रेटिङ गर्दछ। तर  मेडिकल वा पारिवारिक बिदामा बसेका  वा अपाङ्गताका कारण कामको गति कम भएका कर्मचारीले स्वभावैले यो रेटिङमा राम्रो अंक ल्याउन सक्दैनन्। एआईले यो मानवीय अवस्थालाई बुझ्न नसक्दा उनीहरूलाई अन्यायपूर्ण रूपमा निकालिएको उजुरीकर्ताको गुनासो छ।

सुत्केरी बिदामा बसेकादेखि अपाङ्गताका कारण मेडिकल बिदा लिएकाहरू यसको सिकार भएका छन्। एकजना वैज्ञानिकलाई त सुत्केरी हुनुभन्दा ठीक दुई दिनअघि (वाटर ब्रेक हुनु अघिल्लो दिन) जागिरबाट निकालिने सूचीमा राखिएको मुद्दामा उल्लेख छ। कतिपय कर्मचारी भने कम्पनीकै स्वीकृतिमा घरबाटै (वर्क फ्रम होम) काम गरिरहेका बेला कटौतीमा परेका थिए।

के भन्छ मेटा

मेटाले भने यी सबै आरोप अस्वीकार गरेको छ। कम्पनीले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “यी दाबीहरूमा कुनै सत्यता छैन र तथ्यमा आधारित पनि छैनन्। कार्यबल व्यवस्थापन र संस्थागत निर्णयहरू मान्छेले नै गरेका हुन्  एआईले होइन।” यद्यपि  कम्पनीले मुद्दासँग जोडिएका अन्य विषयमा भने थप प्रतिक्रिया दिन चाहेन।

किन भयो लेअफ?

सन् २०२६ को मे महिनामा मेटाकी चिफ पिपल अफिसर जेनेल गेलले आन्तरिक मेमो पठाउँदै करिब १० प्रतिशत कर्मचारी कटौती गर्ने र ६ हजार नयाँ पदमा भर्ना रोक्ने जानकारी दिएकी थिइन्। कम्पनीलाई थप प्रभावकारी बनाउन यसो गरिएको उनको भनाइ थियो।

तर  अघिल्लो महिना मात्रै कीर्तिमानी आम्दानी गरेको मेटाले २०२६ मा एआईका लागि १२५ देखि १४५ अर्ब डलर (२०२५ को भन्दा दोब्बर) खर्च गर्ने घोषणा गरिसकेको छ। यस्तोमा अर्बौं डलर एआईमा खन्याउने कम्पनीले जागिर कटौती किन गर्नुपर्‍यो भन्दै कर्मचारीहरूले प्रश्न उठाएका छन्।

अदालतसँग के माग?

आउँदो जुलाई २२ देखि यी कर्मचारीहरूको जागिर औपचारिक रूपमा जाँदैछ। क्यालिफोर्निया, न्युयोर्क, वासिंटन लगायतका राज्यमा कार्यरत यी २६ कर्मचारीले अमेरिकाका विभिन्न श्रम तथा भेदभावविरुद्धका कानुनको उल्लङ्घन भएको दाबी गरेका छन्।

उनीहरूले कम्पनीविरुद्ध सामूहिक रूपमा (क्लास एक्सन) मुद्दा लड्न नपाउने सम्झौता गरेकाले व्यक्तिगत रूपमै  आर्बिट्रेसनमा जाने तयारी गरेका छन्। तर  यो कानुनी प्रक्रिया नटुंगिएसम्म आफ्नो जागिर र बिदाको स्टाटस यथावत् राख्न, तलब सुविधा नरोक्न र लेअफ छनोट प्रक्रियाको स्वतन्त्र अडिट गर्न उनीहरूले अदालतसँग माग गरेका छन्। सबै डेटा र अल्गोरिदम सुरक्षित राख्न पनि उनीहरूको माग छ।

सम्बन्धित समाचार

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

काठमाडौं — अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको प्रसिद्ध 'स्वीफ्ट' गामा-रे टेलिस्कोपलाई सम्भावित दुर्घटनाबाट जोगाउन पठाइएको यान आफैँ अ...
बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...