काठमाडौं — एलन मस्कको कम्पनी स्पेसएक्सले आफ्नो भविष्यको ठूलो सम्भावना रकेट वा अन्तरिक्षयानमा मात्र होइन पृथ्वीको कक्षामै विशाल ‘अर्बिटल डेटा सेन्टर’ निर्माण गर्ने योजनामा देखेको छ।
कम्पनीको योजना सामान्य छैन। स्पेसएक्सले १० लाख स्याटेलाइटको विशाल कन्स्टेलेसन तयार गरी १२० गिगावाट ऊर्जा उत्पादन गर्ने र त्यसबाट डेटा सेन्टर सेवाका लागि करोडौं अत्याधुनिक जीपीयू सञ्चालन गर्ने परिकल्पना गरेको छ। यो पूर्वाधारले दशौं लाखदेखि सम्भावित रूपमा १० करोडसम्म ‘फ्रन्टियर-क्लास’ जीपीयूलाई कम्प्युटिङ क्षमता उपलब्ध गराउने कम्पनीको योजना छ।
तर पृथ्वीको कक्षामा यति ठूलो डेटा सेन्टर पूर्वाधार निर्माण गर्नु प्राविधिक रूपमा सम्भव भए पनि आर्थिक र व्यावहारिक हिसाबले कति सम्भव छ भन्ने प्रश्न उठेको छ। प्रारम्भिक अनुमानले नै यसका लागि हजारौं रकेट प्रक्षेपण, अत्यन्त हलुका र प्रभावकारी कुलिङ सिस्टम तथा केही ट्रिलियन डलरसम्म लगानी आवश्यक पर्न सक्ने देखाउँछ।
‘एआई१’ स्याटेलाइटबाट सुरु गर्ने योजना
मस्कले केही महिनाअघि नै १० लाख स्याटेलाइटको विशाल कन्स्टेलेसन बनाउने योजना सार्वजनिक गरेका थिए। तर प्रत्येक स्याटेलाइटको आकार र क्षमताबारे धेरै विवरण बाहिर आएको थिएन।
जुनमा मस्क र स्पेसएक्सका स्याटेलाइट इन्जिनियरिङ निर्देशक इयान डाहलले कम्पनीले विकास गर्न लागेको पहिलो पुस्ताको अर्बिटल डेटा सेन्टर ‘एआई१’ स्याटेलाइटबारे जानकारी दिएका थिए। त्यस क्रममा स्याटेलाइटको आकार र ऊर्जा क्षमतासम्बन्धी विवरणसमेत सार्वजनिक गरिएको थियो।
मस्कका अनुसार एआई१ निर्माणका लागि अहिलेसम्म अस्तित्वमै नभएको कुनै जादुई प्रविधि आवश्यक छैन। स्टारलिंक भी३ स्याटेलाइटका लागि स्पेसएक्सले विकास गरिसकेको धेरै प्रविधि यसमा प्रयोग गर्न सकिने उनको भनाइ छ। त्यसैले कम्पनीले यसलाई अत्यन्त कठिन प्राविधिक समस्या मानेको छैन।
तर अर्बिटल डेटा सेन्टरको भौतिक विज्ञान असम्भव नभए पनि यसको अर्थशास्त्र भने निकै चुनौतीपूर्ण देखिन्छ।
इरिडियम कम्युनिकेसन्सका प्रमुख कार्यकारी म्याट डेसले पनि अर्बिटल डेटा सेन्टर अन्तरिक्षमा समाधान गर्न सकिने समस्या जस्तो देखिए पनि त्यसका लागि विशाल प्राविधिक चुनौती पार गर्नुपर्ने बताएका छन्।
उनले अर्बिटल डेटा सेन्टरप्रतिको पछिल्लो उत्साह तत्काल समाधान गर्नुपर्ने कुनै गम्भीर आवश्यकताभन्दा पनि कम्पनीहरूको मूल्यांकन अर्थात् भ्यालुएसनसँग जोडिएको हुन सक्ने आशंका गरेका छन्। उनका अनुसार यो बढीमा निकै दीर्घकालीन अवसर हो।
एउटा स्याटेलाइटमा ६०० वर्गमिटर सोलार प्यानल
अन्तरिक्षमा डेटा सेन्टर राख्नुको प्रमुख आकर्षण सूर्यबाट प्राप्त हुने निरन्तर र नि शुल्क ऊर्जा हो।
स्पेसएक्सले सार्वजनिक गरेको योजनाअनुसार प्रत्येक एआई१ स्याटेलाइटमा करिब ६०० वर्गमिटर क्षेत्रफलका सोलार प्यानल रहनेछन्। यो क्षेत्रफल बास्केटबल कोर्टको करिब डेढ गुणा हो।
ती सोलार प्यानलले अधिकतम १५० किलोवाट ऊर्जा उत्पादन गर्ने र कम्प्युटिङका लागि औसत १२० किलोवाट ऊर्जा उपलब्ध गराउने अनुमान छ।
तर सोलार प्यानलको तौल नै ठूलो चुनौती बन्न सक्छ। यसको तौल करिब १ देखि २ मेट्रिक टनसम्म हुन सक्ने अनुमान गरिएको छ।
स्याटेलाइट उद्योगका कन्सल्टेन्ट स्टुअर्ट टेलरका अनुसार स्पेसएक्सले सिलिकनको सट्टा ‘पेरोभ्स्काइट’ नामक नयाँ सामग्री प्रयोग गर्ने सम्भावना पनि छ। यसबाट सोलार प्यानलको तौल उल्लेख्य रूपमा घटाउन सकिन्छ। तर पेरोभ्स्काइटको दीर्घकालीन स्थायित्वबारे अझै प्रश्न रहेकाले हालको विश्लेषण परम्परागत सिलिकन सोलार सेललाई आधार मानेर गरिएको छ।
तातो नियन्त्रण अर्को ठूलो चुनौती
स्याटेलाइटभित्र ठूलो संख्यामा सञ्चालन हुने कम्प्युटिङ हार्डवेयरले अत्यधिक ताप उत्पादन गर्नेछ। त्यसलाई नियन्त्रण गर्न ठूलो रेडिएटर आवश्यक पर्नेछ।
विभिन्न स्रोतको अनुमानअनुसार रेडिएटरको तौल मात्रै कम्तीमा थप १ देखि २ मेट्रिक टन हुन सक्छ। स्याटेलाइट बस, जीपीयू र अन्य कम्पोनेन्टसमेत जोड्दा एउटा एआई१ स्याटेलाइटको कुल तौल ३.५ देखि ७.५ मेट्रिक टनसम्म पुग्न सक्ने अनुमान छ।
पृथ्वीमा तातो हावाको माध्यमबाट बाहिर निकाल्न सकिन्छ। तर अन्तरिक्षमा हावा नहुने भएकाले कन्भेक्टिभ कुलिङ सम्भव हुँदैन। त्यसैले स्पेसक्राफ्टले थर्मल रेडिएसन’मार्फत इन्फ्रारेड प्रकाशका रूपमा ताप अन्तरिक्षमा फाल्नु पर्दछ।
यो प्रक्रिया तुलनात्मक रूपमा कमजोर भएकाले ठूलो आकारका रेडिएटर आवश्यक पर्दछन्।
इन्टरनेसनल स्पेस स्टेसनमा प्रयोग गरिएका ६ वटा रेडिएटरको संयुक्त तौल ६ मेट्रिक टनभन्दा बढी छ। अमोनियालाई कुलन्टका रूपमा प्रयोग गर्ने यी रेडिएटरले संयुक्त रूपमा करिब ७० किलोवाट ताप बाहिर निकाल्छन्। यो क्षमता स्पेसएक्सको प्रस्तावित अर्बिटल डेटा सेन्टरलाई आवश्यक पर्ने स्तरसँग मिल्दोजुल्दो छ।
तर एआई१ जस्ता लाखौं स्याटेलाइटमा यति भारी रेडिएटर प्रयोग गर्नु व्यावहारिक हुँदैन।
स्पेसएक्सका पूर्वभौतिकशास्त्री साम वाल्डम्यानका अनुसार स्टारलिंक स्याटेलाइट सञ्चालनबाट कम्पनीले ताप व्यवस्थापनसम्बन्धी उल्लेख्य अनुभव हासिल गरिसकेको छ। स्टारलिंकको डिजाइन नै ताप बाहिर निकाल्न सतहको क्षेत्रफल अधिकतम बनाउने हिसाबले गरिएको उनको भनाइ छ।
स्टारक्लाउड नामक स्टार्टअपले पनि कम लागत र कम तौलको रेडिएटर विकास गरिरहेको छ। कम्पनीका प्रमुख कार्यकारी फिलिप जोनस्टनका अनुसार इन्जिनियरिङ टिमको दुईतिहाइ जनशक्ति यही प्रविधिमा केन्द्रित छ।
कम्पनीले हाल ४५० किलोग्राम तौल र ८ किलोवाट ऊर्जा उत्पादन क्षमता भएको ‘स्टारक्लाउड-२’ मिसन तयार गरिरहेको छ। उक्त स्याटेलाइट अक्टोबरमा प्रक्षेपण गर्ने योजना छ। सफल भएमा यसले अन्तरिक्षमा प्रभावकारी रूपमा ताप बाहिर निकाल्दै ग्राहकका लागि उपयोगी कम्प्युटिङ वर्कलोड सञ्चालन गर्न सकिने अवधारणाको परीक्षण गर्नेछ।
जोनस्टनका अनुसार इन्टरनेसनल स्पेस स्टेसनका रेडिएटर महँगा र भारी छन्। उनको कम्पनीको लक्ष्य त्यही काम गर्ने रेडिएटरलाई सस्तो र हलुका बनाउनु हो।
स्टारसिपको सफलता निर्णायक
यति धेरै तौल अन्तरिक्षमा पुर्याउन अत्यन्त शक्तिशाली सुपर हेभी लिफ्ट रकेट आवश्यक पर्दछ।
स्पेसएक्सको स्टारसिप भी३ रकेटले लो अर्थ अर्बिटमा करिब १०० मेट्रिक टन पेलोड पुर्याउन सक्ने अनुमान छ। कम्पनीका इन्जिनियरहरूले यसभन्दा शक्तिशाली स्टारसिप भी४ विकास गर्ने योजना बनाएका छन् जसको क्षमता २०० मेट्रिक टनसम्म पुग्ने अनुमान छ।
यस योजनाको आर्थिक सम्भाव्यता भने स्टारसिपको प्रक्षेपण लागत कति घटाउन सकिन्छ भन्नेमा निर्भर रहनेछ।
स्पेसएक्सको दीर्घकालीन लक्ष्य स्टारसिपलाई पूर्ण रूपमा पुन प्रयोगयोग्य बनाउनु हो। पहिलो र दोस्रो दुवै स्टेज प्रक्षेपणस्थलमा फर्कने र केही घण्टामै पुन प्रक्षेपणका लागि तयार हुने अवस्था कम्पनीको आदर्श लक्ष्य हो।
त्यस्तो अवस्थामा मुख्य खर्च प्रोपेलेन्ट र रकेट तथा ग्राउन्ड सपोर्ट इक्विपमेन्ट निर्माण तथा मर्मत गर्ने जनशक्तिमा सीमित हुन सक्छ। लिक्विड अक्सिजन, मिथेनलगायत सामग्रीको लागत एउटा प्रक्षेपणमा करिब १५ लाख अमेरिकी डलर हुन सक्ने अनुमान छ।
आदर्श अवस्थामा एउटा स्टारसिप प्रक्षेपणको लागत २ करोड डलर मान्दा लो अर्थ अर्बिटमा एक किलोग्राम पेलोड पुर्याउन करिब १०० डलर मात्रै खर्च हुनेछ। यो सम्भव हुन सक्ने भए पनि त्यस्तो अवस्थामा पुग्न समय लाग्नेछ।
तीन सम्भावित परिदृश्य
विश्लेषणमा आशावादी, तटस्थ र निराशावादी गरी तीन परिदृश्य प्रस्तुत गरिएको छ।
आशावादी अवस्थामा स्टारसिपको पेलोड क्षमता २०० मेट्रिक टन, एउटा एआई१ स्याटेलाइटको तौल ३.५ टन र एउटा प्रक्षेपणको लागत २ करोड डलर मानिएको छ।
तटस्थ अवस्थामा पेलोड क्षमता १५० मेट्रिक टन, स्याटेलाइटको तौल ५.५ टन र प्रक्षेपण लागत ५ करोड डलर अनुमान गरिएको छ।
निराशावादी अवस्थामा स्टारसिपको क्षमता १०० मेट्रिक टन, स्याटेलाइटको तौल ७.५ टन र एउटा प्रक्षेपणको लागत १० करोड डलर मानिएको छ।
यी स्याटेलाइटको आयु पाँचदेखि सात वर्ष रहने अनुमान छ। पाँच वर्षको आयु मान्ने हो भने १० लाख स्याटेलाइटलाई कक्षामा पुर्याउन र समयक्रममा प्रतिस्थापन गर्दै जान प्रत्येक वर्ष हजारौं प्रक्षेपण आवश्यक पर्नेछ।
आशावादी अवस्थामा एउटा प्रक्षेपणबाट ५७ एआई१ स्याटेलाइट पठाउन सकिनेछ। सम्पूर्ण कन्स्टेलेसनका लागि १७ हजार ५०० प्रक्षेपण र वार्षिक ३ हजार ५०० प्रक्षेपण आवश्यक पर्नेछ।
तटस्थ अवस्थामा एउटा प्रक्षेपणमा २७ स्याटेलाइट पठाउँदा कुल ३७ हजार र वार्षिक ७ हजार ४०० प्रक्षेपण चाहिन्छ।
निराशावादी अवस्थामा एउटा प्रक्षेपणबाट १३ स्याटेलाइट मात्रै पठाउन सकिनेछ। त्यस अवस्थामा कुल ७७ हजार तथा वार्षिक १५ हजार ३०० प्रक्षेपण गर्नुपर्नेछ।
यसको अर्थ सबैभन्दा राम्रो अवस्थामा पनि दिनमा करिब १० वटा रकेट प्रक्षेपण गर्नु पर्दछ। सबैभन्दा खराब अवस्थामा यो संख्या दैनिक ४२ पुग्छ।
तुलनाका लागि गत वर्ष विश्वभर ३२९ वटा अर्बिटल प्रक्षेपण प्रयास भएका थिए। तीमध्ये ३२१ वटा कम्तीमा प्रारम्भिक कक्षासम्म पुगेका थिए। खगोलभौतिकशास्त्री जोनाथन म्याकडोवेलका अनुसार तीमध्ये १७० प्रक्षेपण स्पेसएक्सले गरेको थियो।
त्यसैले अर्बिटल डेटा सेन्टरको मेगा कन्स्टेलेसन निर्माण गर्न स्पेसएक्सले आफ्नो हालको प्रक्षेपण क्षमता कम्तीमा २० गुणाले बढाउनुपर्ने देखिन्छ।
लागत डेढदेखि झन्डै १० ट्रिलियन डलरसम्म
स्पेसएक्ससँग हाल टेक्सासस्थित स्टारबेसमा एउटा स्टारसिप लन्च प्याड छ। आगामी केही वर्षमा टेक्सास र फ्लोरिडामा गरी चारवटा लन्च टावर सञ्चालनमा आउने अपेक्षा छ।
यी लन्च प्याड मुख्य रूपमा इक्वेटोरियल अर्बिटका लागि अनुकूलित छन्। सन सिन्क्रोनस अर्बिटका मिसनका लागि कम्पनीलाई थप प्रक्षेपणस्थल आवश्यक पर्न सक्दछ। दक्षिण दिशातर्फ प्रक्षेपण गर्न स्पेसएक्सले लुइजियानालगायत स्थानमा सम्भावित साइटबारे विचार गरिरहेको छ।
स्याटेलाइट निर्माणको लागत पनि कम छैन।
एनालिटिक्स फर्म क्विल्टी स्पेसले स्टारलिंक भी३ स्याटेलाइटको लागत करिब १० लाख डलर पर्ने अनुमान गरेको छ। एआई१ त्यही प्लेटफर्ममा आधारित हुने भए पनि यसमा ठूला सोलार प्यानल र महँगा कम्प्युटिङ हार्डवेयर आवश्यक पर्नेछन्।
अर्बिटबाट विश्वभर ठूलो मात्रामा डेटा आदानप्रदान गर्न आवश्यक ग्राउन्ड सिस्टमका लागि मात्रै करिब १०० अर्ब डलर लाग्ने अनुमान गरिएको छ।
यी सबै जोड्दा आशावादी अवस्थामा प्रक्षेपण खर्च ३५० अर्ब डलर र प्रति स्याटेलाइट लागत १० लाख डलर मान्दा कुल परियोजना लागत १.४५ ट्रिलियन डलर पुग्न सक्छ।
तटस्थ अवस्थामा प्रक्षेपणमै १.८५ ट्रिलियन डलर खर्च हुनेछ। प्रति स्याटेलाइट १५ लाख डलर मान्दा कुल लागत ३.४५ ट्रिलियन डलर पुग्ने अनुमान छ।
निराशावादी अवस्थामा प्रक्षेपण लागत मात्रै ७.७ ट्रिलियन डलर पुग्न सक्छ। प्रति स्याटेलाइट २० लाख डलर मान्दा सम्पूर्ण परियोजनाको लागत ९.८ ट्रिलियन डलरसम्म पुग्नेछ।
स्पेसएक्सले शेयर बजारको इतिहासकै सबैभन्दा आकर्षक इनिसियल पब्लिक अफरिङ सम्पन्न गरेको र कम्पनीसँग नगद रहेको उल्लेख गरिएको छ। तर अर्बिटल डेटा सेन्टरको योजना कार्यान्वयन गर्न अझै ठूलो रकम आवश्यक पर्नेछ। स्टारसिपले प्रक्षेपण लागत नाटकीय रूपमा घटाउन नसकेसम्म यस्तो परियोजना व्यावहारिक बन्न कठिन देखिन्छ।
रेडिएसनले कति असर गर्छ?
अन्तरिक्षमा सञ्चालन हुने कम्प्युटिङ हार्डवेयरका लागि रेडिएसन अर्को चुनौती हो।
स्टारलिंक कन्स्टेलेसन सञ्चालनको अनुभवबाट स्पेसएक्सले प्रोसेसर र मेमोरीजस्ता धेरै कम्प्युटिङ कम्पोनेन्ट रेडिएसन सहन सक्ने पाएको छ।
सन् २०१२ देखि २०१८ सम्म स्पेसएक्समा स्टारलिंकलगायत कार्यक्रमको एभियोनिक्समा काम गरेका भौतिकशास्त्री साम वाल्डम्यानका अनुसार पावर सप्लाई र केही अन्य कम्पोनेन्ट रेडिएसनबाट बढी प्रभावित हुन सक्छन्। तर त्यसको प्रभाव कम गर्ने प्राविधिक उपायहरू उपलब्ध छन्।
मस्कका अनुसार स्पेसएक्सले प्रारम्भिक आर्किटेक्चरमा एनभिडिया रुबिन चिप प्रयोग गर्ने योजना बनाएको छ। पछि कम्पनीले आफ्नै चिप विकास गर्ने लक्ष्य राखेको छ।
अन्तरिक्षमा डेटा सेन्टर निर्माणमा काम गरिरहेको स्टारक्लाउडले गत वर्ष एनभिडिया एच१०० जीपीयूको व्यापक ग्राउन्ड टेस्ट गरेको थियो। त्यसपछि उक्त चिपलाई एउटा सानो स्याटेलाइट बसमा राखेर अन्तरिक्षमा पठाइएको थियो।
परीक्षणको उद्देश्य पृथ्वीका डेटा सेन्टरमा व्यापक रूपमा प्रयोग हुने चिपले रकेट प्रक्षेपणको कम्पन र अन्तरिक्षको रेडिएसन सहन सक्छ कि सक्दैन भन्ने पत्ता लगाउनु थियो।
स्टारक्लाउडका सहसंस्थापक तथा प्रमुख कार्यकारी फिलिप जोनस्टनका अनुसार एनभिडिया चिपले अहिलेसम्म राम्रो प्रदर्शन गरेको छ। सामान्य स्तरको सिल्डिङसहित एच१०० जस्ता चिपलाई अन्तरिक्षमा प्रयोग गर्न सकिने प्रारम्भिक संकेत देखिएको उनको भनाइ छ।
हेवलेट प्याकार्डले पनि आफ्नो ‘स्पेसबोर्न’ कार्यक्रममार्फत इन्टरनेसनल स्पेस स्टेसनमा हाई पर्फर्मेन्स कम्प्युटर परीक्षण गर्दै आएको छ। गुगलले भी६ई ट्रिलियम टीपीयू कम्प्युट ट्रेमा गरेको परीक्षणमा समयसँगै आयोनाइजिङ रेडिएसनले डिभाइस फेल हुन सक्ने देखिएको थियो। तर यस्ता डिभाइस अन्तरिक्षमा करिब पाँच वर्षसम्म भरपर्दो रूपमा सञ्चालन हुन सक्ने निष्कर्ष पनि निकालिएको थियो।
त्यसैले अर्बिटल डेटा सेन्टरका चिपका लागि पाँच वर्षको आयु एउटा व्यावहारिक आधार बन्न सक्छ। यही अवधिमा अत्याधुनिक चिप पनि पुरानो पुस्तामा प्रवेश गर्न थाल्छ।
‘लेटेन्सी’ले सबै काममा समान असर गर्दैन
अर्बिटल डेटा सेन्टरको अर्को चुनौती ‘लेटेन्सी’ हो। अर्थात् एउटा बिन्दुबाट अर्को बिन्दुसम्म डेटा पुग्न लाग्ने समय।
पृथ्वीमा डेटा सेन्टरका सर्भर र्याकहरू केही मिटरको दूरीमा हुन्छन्। तर अन्तरिक्षमा सँगै काम गर्ने स्याटेलाइटहरू दर्जनौं, सयौं मिटर वा किलोमिटरको दूरीमा हुन सक्छन्।
हजारौं जीपीयूबीच उच्च गतिमा डेटा आदानप्रदान र निरन्तर सिन्क्रोनाइजेसन आवश्यक पर्ने ठूला एआई ट्रेनिङ वर्कलोडमा इन्टर स्याटेलाइट लेटेन्सी गम्भीर समस्या बन्न सक्छ। पृथ्वीमा र्याक-टु-र्याक लेटेन्सी सामान्यत केही माइक्रोसेकेन्ड वा त्यसभन्दा कम हुन्छ।
स्याटेलाइटबीचको दूरी प्रत्येक किलोमिटर बढ्दा थप माइक्रोसेकेन्ड लेटेन्सी थपिन्छ। ठूला एआई ट्रेनिङमा यति सानो समयको अन्तरले पनि प्रभाव पार्न सक्छ।
तर सबै एआई वर्कलोडमा यसको प्रभाव समान हुँदैन।
एआई इन्फरेन्सजस्ता काम इन्टर-स्याटेलाइट लेटेन्सीमा कम निर्भर हुन सक्छन् र स्याटेलाइट कन्स्टेलेसनअनुसार अनुकूल बनाउन सकिन्छ। कुनै वर्कलोडलाई कति प्रभावकारी रूपमा साना भाग अर्थात् सार्डमा विभाजन गर्न सकिन्छ र एउटा स्याटेलाइटले तीमध्ये कति काम आफैं गर्न सक्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ।
स्याटेलाइटबीच धेरै समन्वय र सिन्क्रोनाइजेसन आवश्यक पर्ने काममा भने लेटेन्सी ठूलो समस्या बन्न सक्छ।
ग्राउन्ड-टु-स्पेस लेटेन्सी पनि छुट्टै चुनौती हो। ब्याचमा सञ्चालन हुने कामका लागि स्याटेलाइटमै पर्याप्त लोकल स्टोरेज आवश्यक पर्दछ। तर रियल टाइम वा इन्टरएक्टिभ काममा समस्या बढी देखिन सक्छ। उदाहरणका लागि जिफोर्स नाउजस्तो क्लाउड गेमिङ सेवा अर्बिटल डेटा सेन्टरबाट सञ्चालन गर्नु उपयुक्त नहुन सक्छ।
त्यसैले लेटेन्सी अर्बिटल डेटा सेन्टरका लागि चुनौती भए पनि यसले सम्पूर्ण अवधारणालाई असम्भव भने बनाउँदैन। कुन प्रकारको कम्प्युटिङ वर्कलोड अन्तरिक्षमा सञ्चालन गर्ने भन्ने छनोट यसमा निर्णायक हुनेछ।
सम्भव छ, तर धेरै कुरा एकैपटक मिल्नुपर्छ
अन्तत अन्तरिक्षमा डेटा सेन्टर निर्माण गर्न भौतिक विज्ञानले रोक्ने कुनै आधारभूत अवरोध देखिँदैन। तर त्यसका लागि समाधान गर्नुपर्ने प्राविधिक र आर्थिक समस्या निकै ठूला छन्।
स्पेसएक्सलाई अभूतपूर्व क्षमताको हेभी लिफ्ट प्रणाली चाहिन्छ। स्टारसिप पूर्ण रूपमा पुनःप्रयोगयोग्य र तीव्र गतिमा पुनः प्रक्षेपण गर्न सकिने अवस्थामा पुग्नु पर्दछ।
मानव इतिहासमा अहिलेसम्म बनेका सबैभन्दा ठूला स्याटेलाइटमध्ये पर्ने संरचना ठूलो संख्यामा उत्पादन गर्नुपर्नेछ। एउटै कन्स्टेलेसनका लागि मानवजातिले अहिलेसम्म निर्माण गरेको भन्दा सय गुणा बढी स्याटेलाइट बनाउनुपर्ने अवस्था आउन सक्छ।
त्यससँगै रेडिएसनले चिपमा पार्ने प्रभाव व्यवस्थापन गर्न सकिनु पर्दछ। अन्तरिक्षमा ठूलो मात्रामा उत्पन्न हुने ताप हटाउने ‘रेडिएसनल कुलिङ’ प्रविधिलाई सस्तो, हलुका र लाखौं स्याटेलाइटमा प्रयोग गर्न सकिने स्तरमा पुर्याउनुपर्नेछ।
सबैभन्दा महत्त्वपूर्ण कुरा स्टारसिपले प्रक्षेपण लागत नाटकीय रूपमा घटाउनुपर्नेछ। किनकि १० लाख स्याटेलाइटको अर्बिटल डेटा सेन्टर बनाउने सपना पूरा गर्न प्रविधि मात्र पर्याप्त छैन त्यसका लागि केही ट्रिलियन डलर रकम पनि चाहिन्छ।
स्पेसएक्सले पहिलो एआई१ स्याटेलाइट अन्तरिक्षमा पठाउन थालेपछि मात्रै यी अनुमानमध्ये कति यथार्थपरक छन् भन्ने स्पष्ट हुँदै जानेछ। अहिलेसम्मको निष्कर्ष भने एउटै छ अर्बिटल डेटा सेन्टर बनाउनु असम्भव होइन तर त्यसलाई ठूलो स्केलमा आर्थिक रूपमा व्यावहारिक बनाउनु नै सबैभन्दा कठिन परीक्षा हुनेछ।
