काठमाडौं — भारतमा निजी क्षेत्रले विकास गरेको पहिलो पूर्ण व्यावसायिक स्याटेलाइट लन्चर ‘विक्रम-१’ पहिलो उडानमै सफलतापूर्वक अन्तरिक्षको कक्षमा पुगेको छ। स्काइरुट एरोस्पेसले विकास गरेको यो रकेट शनिबार बंगालको खाडीस्थित श्रीहरिकोटा टापुबाट प्रक्षेपण गरिएको थियो।
भारतीय अन्तरिक्ष अधिकारीहरूले विक्रम-१ को पहिलो उडानलाई ‘भव्य सफलता’ भनेका छन्। रकेट पृथ्वीबाट करिब २८० माइल अर्थात् ४५० किलोमिटर उचाइको कक्षमा सफलतापूर्वक पुगेको हो।
विक्रम-१ भारतको दक्षिणपूर्वी तटमा रहेको प्रमुख स्पेसपोर्ट श्रीहरिकोटा टापुबाट शनिबार बिहान १:३५ ईडीटी अर्थात् ०६:३५ यूटीसीमा उडेको थियो। अन्तिम समयमा देखिएको प्राविधिक समस्या समाधान गर्न प्रक्षेपण आधा घण्टाभन्दा बढी समय ढिलो भएको थियो।
समस्या समाधान भएपछि काउन्टडाउन पुन सुरु गरिएको थियो। त्यसपछि विक्रम-१ को सोलिड फ्युल्ड फर्स्ट स्टेज बुस्टर इग्नाइट गरी रकेटलाई लन्च प्याडबाट अन्तरिक्षतर्फ पठाइएको थियो।
भारतका ठूला रकेटको तुलनामा विक्रम-१ आकारमा सानो छ। स्काइरुटको यो रकेट करिब ७२ फिट अर्थात् २२ मिटर अग्लो छ। यसले ७७० पाउन्ड अर्थात् ३५० किलोग्रामसम्मको पेलोड लो अर्थ अर्बिटमा पुर्याउन सक्छ।
आकार र क्षमताका हिसाबले विक्रम-१ रकेट ल्याबले विकास गरेको इलेक्ट्रोन लन्च भेहिकलभन्दा केही ठूलो छ। इलेक्ट्रोनलाई विश्वकै सबैभन्दा सफल डेडिकेटेड स्मल स्याटेलाइट लन्चर मानिन्छ।
शनिबारको उडानमा कुनै ठूलो समस्या देखिएन। तीनवटा सोलिड फ्युल्ड रकेट मोटर क्रमश सक्रिय हुँदै रकेटलाई अन्तरिक्षसम्म पुर्याएका थिए। त्यसपछि सानो लिक्विड फ्युल्ड फोर्थ स्टेज इग्नाइट भएर रकेटलाई करिब १७ हजार माइल प्रतिघण्टाको अर्बिटल भेलोसिटीसम्म पुर्याएको थियो। रकेटमा जडान गरिएका क्यामेराबाट प्रक्षेपणका विभिन्न चरणको लाइभ दृश्यसमेत देखाइएको थियो।
उडानका क्रममा असामान्य देखिएको एउटा घटना थर्ड स्टेज र फोर्थ स्टेज छुट्टिने समयमा थियो। प्रयोग भइसकेको थर्ड स्टेज मोटर टाढा हट्नुको साटो केही समय फोर्थ स्टेज नजिकै रहेको देखिएको थियो।
तर यसले मिसनको सफलतामा असर पारेन। फोर्थ स्टेजमा रहेको थ्रीडी प्रिन्टेड इन्जिनले रकेटलाई भूमध्यरेखाबाट ६० डिग्री इन्क्लिनेसनमा करिब ४५० किलोमिटर उचाइको कक्षमा पुर्यायो। स्काइरुट एरोस्पेसका अनुसार यो नतिजा उडानअघि गरिएको अनुमानसँग निकै नजिक थियो। अमेरिकी सैन्य ट्र्याकिङ डेटाले पनि रकेट सफलतापूर्वक कक्षमा पुगेको पुष्टि गरेको छ।
पहिलो प्रयासमै सफलता
स्काइरुटका सहसंस्थापक तथा सीईओ पवन कुमार चन्दनाले भारतको अन्तरिक्ष क्षेत्रमा अहिलेसम्मकै ठूलो उपलब्धिमध्ये एक हासिल भएको बताएका छन्।
“हामीले भारतको अन्तरिक्ष क्षेत्रमा अहिलेसम्मकै ठूलो उपलब्धिमध्ये एक हासिल गरेका छौं, पहिलो निजी अर्बिटल रकेट पहिलो प्रयासमै कक्षमा पुगेको छ,” उनले कम्पनीको लन्च टिमलाई सम्बोधन गर्दै भने, “यो अझै पनि सपनाजस्तै लागिरहेको छ र तपाईंहरू सबैले यो सपना सम्भव बनाउनुभयो।”
निजी क्षेत्रले विकास गरेका नयाँ अर्बिटल-क्लास रकेटको पहिलो उडान सफल हुने इतिहास भने त्यति उत्साहजनक छैन।
स्पेसएक्सले आफ्नो फाल्कन-१ रकेटलाई पहिलोपटक कक्षमा पुर्याउन चारपटक प्रयास गर्नुपरेको थियो। सन् २००८ मा मात्रै फाल्कन-१ सफलतापूर्वक कक्षमा पुगेको थियो। रकेट ल्याबको इलेक्ट्रोन पनि सन् २०१७ मा गरिएको पहिलो प्रक्षेपणमा कक्षसम्म पुग्न सकेको थिएन।
ब्लु ओरिजिनले भने सन् २०२५ मा आफ्नो हेभी लिफ्ट न्यू ग्लेन रकेटको पहिलो उडानमै सफलता हासिल गरेको थियो। तर कम्पनीका इन्जिनियरहरूसँग यसअघि सानो न्यू शेपर्ड सबअर्बिटल रकेटका थुप्रै प्रक्षेपणको अनुभव थियो।
“पहिलो प्रयासमै कक्षमा पुगिन्छ भन्ने मैले कहिल्यै सोचेको थिइनँ,” चन्दनाले भने, “स्काइरुटको टिमले यसलाई सम्भव बनायो। यो प्रक्षेपण कुनै सस्पेन्स फिल्मभन्दा कम थिएन।”
विक्रम-१ को पहिलो उडानका लागि स्काइरुटले भने निकै सीमित लक्ष्य राखेको थियो। उडानअघि सार्वजनिक गरिएको प्रेस किटमा कम्पनीले सफलतापूर्वक लिफ्टअफ गर्नु, लन्च साइटको टावर पार गर्नु र उडानका क्रममा अधिकतम डेटा संकलन गर्नु नै प्राथमिक उद्देश्य रहेको उल्लेख गरेको थियो।
भारतको व्यावसायिक अन्तरिक्ष उद्योगलाई प्रवर्द्धन गर्न सन् २०२० मा स्थापना गरिएको सरकारी संस्था इन स्पेसका अध्यक्ष पवन गोयन्काले मिसनको लक्ष्य केवल रकेट उडाउनु र टावर पार गर्नु रहेको बताए।
“मिसनको उद्देश्य केवल लिफ्टअफ गरेर टावर पार गर्नु थियो। त्यो करिब १०० मिटर मात्रै थियो, तर हामी ४५० किलोमिटरसम्म पुग्यौं र प्रक्षेपण गर्नुपर्ने सबै स्याटेलाइट पनि रिलिज गर्यौं,” उनले भने, “त्यसैले मिसन पूर्ण रूपमा सफल रह्यो।”
भारतीय अन्तरिक्ष एजेन्सी इसरोले पनि स्काइरुटलाई सहयोग गरेको जनाएको छ। इसरोका अनुसार कम्पनीलाई श्रीहरिकोटास्थित स्पेसपोर्टमा सोलिड रकेट मोटर कास्टिङ र टेस्टिङ सुविधा उपलब्ध गराइएको थियो। स्काइरुटलाई इसरोका दुई सक्रिय लन्च प्याडमध्ये एउटा प्रयोग गर्नसमेत अनुमति दिइएको थियो।
विक्रम साराभाईको नामबाट ‘विक्रम-१’
निलो र सेतो रंगको विक्रम-१ हलुका कार्बन कम्पोजिट सामग्रीबाट बनाइएको छ। भारतको अन्तरिक्ष कार्यक्रमका पिता मानिने भारतीय भौतिकशास्त्री विक्रम साराभाईको सम्मानमा रकेटको नाम ‘विक्रम’ राखिएको हो।
स्काइरुटले यसअघि सन् २०२२ को नोभेम्बरमा विक्रम-एस नामक सबअर्बिटल रकेटलाई करिब ३ लाख फिट अर्थात् ९० किलोमिटर उचाइसम्म सफलतापूर्वक प्रक्षेपण गरेको थियो।
विक्रम-एसबाट सिकेका अनुभवलाई आधार बनाएर विक्रम-१ विकास गरिएको कम्पनीले जनाएको छ।
स्काइरुटको भावी योजनामा विक्रम-१यू र विक्रम-२ रकेटसमेत छन्। विक्रम-१यूमा थप स्ट्र्याप अन सोलिड रकेट बुस्टर राखेर बढी तौलको पेलोड बोक्ने क्षमता विकास गरिनेछ। विक्रम-२ मा भने क्रायोजेनिक अपर स्टेज प्रयोग गर्ने योजना छ। यसले २ हजार पाउन्ड अर्थात् ९०० किलोग्रामसम्मको पेलोड लो अर्थ अर्बिटमा पुर्याउन सक्नेछ।
स्काइरुटका अनुसार विक्रम रकेट परिवारको प्रारम्भिक उद्देश्य साना स्याटेलाइटका लागि डेडिकेटेड र रेस्पोन्सिभ लन्च सर्भिस उपलब्ध गराउनु हो।
तर कम्पनीको दीर्घकालीन लक्ष्य अझ ठूलो छ। विक्रम-१ को पहिलो प्रक्षेपणअघि दिएको अन्तर्वार्तामा चन्दनाले स्काइरुटले भविष्यमा ठूला, लिक्विड फ्युल्ड र पूर्ण रूपमा रियुजेबल रकेट विकास गर्ने लक्ष्य राखेको बताएका थिए। उनको परिकल्पनामा विभिन्न देशबाट दैनिक रूपमा रकेट प्रक्षेपण गर्ने योजना समेत छ।
त्यो लक्ष्य हासिल गर्न स्काइरुटलाई अझै ठूलो लगानी आवश्यक पर्नेछ। तर शनिबारको सफल प्रक्षेपणले कम्पनीलाई भारतका अन्य स्पेस स्टार्टअपभन्दा अगाडि पुर्याएको छ। अमेरिका र चीनबाहेकका देशका स्पेस स्टार्टअपको तुलनामा समेत स्काइरुटले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।
कम्पनीले अहिलेसम्म करिब १६ करोड अमेरिकी डलर पुँजी जुटाएको छ भने यसको मूल्यांकन १.१ अर्ब अमेरिकी डलर पुगेको छ। स्काइरुटमा अहिले १ हजारभन्दा बढी कर्मचारी कार्यरत छन्। अधिकांश कर्मचारी हैदराबादस्थित कम्पनीको मुख्यालयमा काम गर्छन्। कम्पनीका कर्मचारीको औसत उमेर २८ वर्ष छ।
भारतको अन्तरिक्ष उद्योग विस्तार गर्ने लक्ष्य
स्काइरुटको यो उपलब्धि यस्तो समयमा आएको छ जतिबेला प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारत सरकारले देशको अन्तरिक्ष उद्योगलाई तीव्र रूपमा विस्तार गर्ने लक्ष्य लिएको छ।
भारतसँग लामो समयदेखि बलियो अन्तरिक्ष कार्यक्रम छ। सरकारले विकास गरेका पोलार स्याटेलाइट लन्च भेहिकल र ठूलो एलभीएम-३ जस्ता रकेटले अमेरिका र युरोपका व्यावसायिक ग्राहकसमेत आकर्षित गर्दै आएका छन्।
सन् २०२३ मा भारत चन्द्रमामा सफलतापूर्वक अन्तरिक्षयान अवतरण गराउने विश्वको चौथो देश बनेको थियो। भारतले अन्तरिक्षयात्रीलाई लो अर्थ अर्बिटमा पुर्याउने ह्युमन रेटेड क्रु क्याप्सुलमा पनि काम गरिरहेको छ यद्यपि उक्त परियोजनामा पटक पटक ढिलाइ हुँदै आएको छ।
प्रधानमन्त्री मोदीले भारतीय अन्तरिक्ष उद्योगलाई हाल वार्षिक करिब पाँचवटा रकेट प्रक्षेपण हुँदै आएकोमा दशकको अन्त्यसम्म वार्षिक ५० वटासम्म पुर्याउन आग्रह गरेका छन्।
शनिबारको सफल प्रक्षेपणपछि मोदीले चन्दनालाई फोन गरेर स्काइरुट टिमलाई बधाई दिएका थिए।
“यो भारतको अन्तरिक्ष यात्राको निर्णायक क्षण हो,” मोदीले वक्तव्यमा भनेका छन्, “निजी क्षेत्रको बढ्दो सहभागिताले नयाँ सम्भावनाका ढोका खोलिरहेको छ र इनोभेसनलाई तीव्र बनाइरहेको छ। यो उपलब्धिले असंख्य युवालाई अझ ठूलो सपना देख्न र निर्भीक भएर इनोभेसन गर्न प्रेरित गर्नेछ।”
भारतीय अन्तरिक्ष एजेन्सीका पूर्वइन्जिनियर चन्दनाले सन् २०१८ मा इसरोका अर्का वैज्ञानिक नागा भरत डाकासँग मिलेर स्काइरुट स्थापना गरेका थिए।
उनीहरूले सुरुमा सोलिड फ्युल्ड लन्चर विकासमा केन्द्रित हुने निर्णय गरेका थिए। कमभन्दा कम समयमा विकास गर्न सकिने र प्रत्येक प्रक्षेपणको लागत पनि न्यून राख्न सकिने गरी रकेट डिजाइन गरिएको चन्दनाले बताएका छन्।
“हामी केही वर्षभित्रै अर्बिटल लन्च भेहिकलसम्म पुग्न चाहन्थ्यौं,” उनले भनेका थिए।
पहिलो उडानअघि चन्दनाले यसलाई ‘टेस्ट लन्च’ भन्दै निजी कम्पनीका पहिलो प्रक्षेपण तथ्याङ्कका हिसाबले प्राय असफल हुने गरेको बताएका थिए। सबै प्रणाली नयाँ हुँदा पहिलो प्रयासमै सफल हुनु निकै कठिन हुने भए पनि प्रक्षेपण सफल बनाउन सम्भव सबै तयारी गरिएको उनको भनाइ थियो।
अन्तत विक्रम-१ को पहिलो उडान अपेक्षाभन्दा पनि सफल रह्यो। चन्दनाका अनुसार विक्रम-१ को दोस्रो प्रक्षेपण यसै वर्षको अन्त्यअघि हुन सक्छ।
“यो शतप्रतिशत भारतमा डिजाइन गरिएको, शतप्रतिशत भारतमै बनेको र शतप्रतिशत भारतीयले निर्माण गरेको रकेट हो, भारतका लागि र विश्वका लागि,” सफल प्रक्षेपणपछि चन्दनाले भने, “यो भारतका लागि ऐतिहासिक क्षण हो। विश्वव्यापी अन्तरिक्ष क्षेत्रका लागि पनि गर्वको क्षण हो, किनकि विश्वलाई अन्तरिक्षमा अझ बढी पहुँच आवश्यक छ।”
