काठमाडौं — गुगलले आफ्नो एआई मोडलको विस्तारलाई तीव्र बनाउँदै जेमिनाई ३.६ फ्ल्याससहित तीन नयाँ एआई मोडल सार्वजनिक गरेको छ। कम्पनीले पहिलो पटक साइबर सेक्युरिटीलाई लक्षित गरी तयार पारेको जेमिनाई मोडल पनि घोषणा गरेको छ भने जेमिनाई ४ को प्रि-ट्रेनिङ सुरु भइसकेको जानकारी दिएको छ।
गुगलले गत मेमा आयोजित आई/ओ कार्यक्रममा जेमिनाई ३.५ फ्ल्यास सार्वजनिक गर्दै आफ्ना एआई मोडलमा महत्वपूर्ण सुधारको घोषणा गरेको थियो। तर केही महिनामै कम्पनीले जेमिनाई ३.५ फ्ल्यासलाई हटाउँदै त्यसको स्थानमा जेमिनाई ३.६ फ्ल्यास ल्याएको हो।
नयाँ मोडलसँगै गुगलले जेमिनाई ३.५ फ्ल्यास लाइट र साइबर सेक्युरिटीका लागि तयार पारिएको जेमिनाई ३.५ फ्ल्यास साइबर पनि सार्वजनिक गरेको छ। तर गत जुनमै सार्वजनिक हुने भनिएको जेमिनाई ३.५ प्रो भने अझै आएको छैन।
गुगलका अनुसार जेमिनाई ३.६ फ्ल्यास अघिल्लो मोडलभन्दा केही बढी क्षमतावान छ। विशेषगरी कोडिङमा यसको क्षमता सुधार गरिएको छ भने मल्टिमोडल फिचरलाई पनि प्रभावकारी बनाइएको कम्पनीको दाबी छ।
जेमिनाई ३.५ फ्ल्यास सार्वजनिक भएपछि प्रयोगकर्ताबाट प्राप्त प्रतिक्रियाका आधारमा ३.६ फ्ल्यासमा सुधार गरिएको गुगलले जनाएको छ। विशेषगरी कोड जेनेरेसनमा ३.५ फ्ल्यासले कम्पनीले दाबी गरेअनुसारको प्रदर्शन गर्न नसकेको देखिएको थियो।
कोडिङ क्षमता मापन गर्ने डीपएसडब्लूई परीक्षणमा जेमिनाई ३.६ फ्ल्यासले ४९ प्रतिशत स्कोर गरेको छ। अघिल्लो ३.५ फ्ल्यासको स्कोर ३७ प्रतिशत थियो।
नयाँ मोडलले जेमिनाई एपीआईमा कम्प्युटर युजलाई स्ट्यान्डर्ड फिचरका रूपमा पनि सपोर्ट गर्नेछ। कम्प्युटर युजसम्बन्धी ओएसवर्ल्ड परीक्षणमा ३.६ फ्ल्यासले ८३ प्रतिशत स्कोर गरेको छ जुन ३.५ फ्ल्यासको ७८.४ प्रतिशतभन्दा बढी हो।
गुगलले नयाँ मोडलमा कार्यक्षमतासँगै एफिसिएन्सीमा पनि जोड दिएको छ। बेन्चमार्कमा तुलनात्मक रूपमा सानो सुधार देखिए पनि जेमिनाई ३.६ फ्ल्यासले करिब १७ प्रतिशत कम टोकन प्रयोग गर्ने कम्पनीको भनाइ छ।
एजेन्टिक वर्कफ्लोमा पनि नयाँ मोडलले कम चरण र कम टोकन प्रयोग गरेर बढी सटीकताका साथ काम पूरा गर्न सक्ने दाबी गरिएको छ। यसले डेभलपरसँगै गुगलको एआई सञ्चालन लागतसमेत घटाउन सक्ने अपेक्षा गरिएको छ।
जेमिनाई ३.६ फ्ल्यासको एपीआई मूल्य पनि घटाइएको छ। यसको १० लाख इनपुट टोकनको मूल्य १.५० अमेरिकी डलर र १० लाख आउटपुट टोकनको मूल्य ७.५० डलर तोकिएको छ। जेमिनाई ३.५ फ्ल्यासमा क्रमशः १.५० डलर र ९ डलर थियो।
जेमिनाई ३.५ फ्ल्यास लाइट पनि सार्वजनिक
गुगलले जेमिनाई ३.५ सिरिजलाई भने तत्काल बन्द गरेको छैन। कम्पनीले जेमिनाई ३.५ फ्ल्यास लाइट पनि ल्याएको छ, जसलाई गुगलले आफ्नो अहिलेसम्मकै सबैभन्दा एफिसिएन्ट आधुनिक एआई मोडल भनेको छ।
यो मोडलले प्रतिसेकेन्ड ३५० टोकन प्रोसेस गर्न सक्छ। धेरै खर्च नगरी ठूलो स्तरमा एजेन्टिक सिस्टम सञ्चालन गर्न यो मोडल उपयोगी हुने गुगलको दाबी छ।
बेन्चमार्कका आधारमा नयाँ फ्ल्यास लाइटको क्षमता करिब एक वर्षअघिका फ्रन्टियर एआई मोडलको हाराहारीमा रहेको बताइएको छ। तर यसको लागत भने तुलनात्मक रूपमा कम छ।
जेमिनाई ३.५ फ्ल्यास लाइटको मूल्य १० लाख इनपुट टोकनका लागि ०.३० डलर र १० लाख आउटपुट टोकनका लागि २.५० डलर तोकिएको छ। अघिल्लो ३.१ फ्ल्यास लाइटमा यो मूल्य क्रमशः ०.२५ डलर र १.५० डलर थियो।
जेमिनाई ३.६ फ्ल्यास एपीआईमा रोलआउट हुन सुरु गर्नेछ र जेमिनाई एपमा ३.५ फ्ल्यासलाई प्रतिस्थापन गर्नेछ। जेमिनाई ३.५ फ्ल्यास लाइट पनि डेभलपर र जेमिनाई एपका प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ।
गुगल सर्चमा पनि ३.५ फ्ल्यास लाइटको व्यापक प्रयोग हुने कम्पनीले जनाएको छ। यसको उच्च स्पिडका कारण एआई ओभरभ्युजमा यो मोडल उपयोगी हुने अपेक्षा गरिएको छ।
साइबर सेक्युरिटीका लागि छुट्टै जेमिनाई
गुगलले जेमिनाई ३.५ फ्ल्यास साइबर पनि सीमित रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ। साइबर सेक्युरिटीका लागि विशेष रूपमा ट्युन गरिएको यो गुगलको पहिलो लार्ज ल्याङ्ग्वेज मोडल (एलएलएम) हो।
कम्पनीका अनुसार साइबर सेक्युरिटीसम्बन्धी समस्या पहिचान र समाधान गर्ने क्षमतामा यो मोडल ठूलो र महँगो क्लाउड मिथोसको लगभग हाराहारीमा छ। तर यसले फ्ल्यास मोडलको जस्तै एफिसिएन्सी प्रदान गर्ने दाबी गरिएको छ।
साइबर सेक्युरिटीमा केन्द्रित यस्ता मोडलको ‘डुअल-युज’ प्रकृतिबारे पनि गुगल सचेत देखिएको छ। साइबर कमजोरी पहिचान र समाधान गर्न सक्ने प्रविधि खराब नियतका साथ कमजोरी खोज्न पनि प्रयोग हुन सक्ने जोखिम रहन्छ।
यही कारण जेमिनाई ३.५ फ्ल्यास साइबरलाई तत्काल सार्वजनिक रूपमा उपलब्ध नगराइने भएको छ। यो मोडल चाँडै गुगल डीपमाइन्डको कोडमेन्डर एजेन्टमार्फत सीमित पाइलटका रूपमा उपलब्ध हुनेछ। कोडमेन्डरमा विश्वासिला साझेदार र सरकारहरूको मात्रै पहुँच रहनेछ।
जेमिनाई ३.५ प्रो अझै परीक्षणमै
गुगलले आई/ओ कार्यक्रममा जेमिनाई ३.५ प्रो गत जुनमा सार्वजनिक गर्ने बताएको थियो। तर निर्धारित समयमा मोडल सार्वजनिक भएन।
कम्पनीका अनुसार नयाँ फ्ल्यागसिप मोडल अहिले नाम नखुलाइएका साझेदारसँग परीक्षण भइरहेको छ। जीपीटी ५.६ र क्लाउड फेबल/सोनेट ५ सँग प्रतिस्पर्धा गर्ने भनिएको यो मोडल तयार हुनेबित्तिकै सार्वजनिक गरिने गुगलले जनाएको छ।
यसअघिका रिपोर्टहरूमा कोडिङ क्षमतामा प्रतिस्पर्धी मोडलसँग बराबरी गर्न नसकेपछि गुगलले जेमिनाई ३.५ प्रो सार्वजनिक गर्ने योजना पछाडि सारेको दाबी गरिएको थियो।
जेमिनाई ४ को प्रि ट्रेनिङ सुरु
जेमिनाई ३.५ प्रो सार्वजनिक नहुँदै गुगलले अर्को पुस्ताको जेमिनाई ४ मा पनि काम सुरु गरिसकेको छ। कम्पनीका अनुसार जेमिनाई ४ को प्रि ट्रेनिङ सुरु भइसकेको छ।
यो प्रक्रिया गुगलका यसअघिका एआई प्रयासभन्दा बढी महत्वाकांक्षी रहेको बताइएको छ। तर जेमिनाई ४ कहिले सार्वजनिक हुन्छ भन्ने समयसीमा कम्पनीले दिएको छैन।
जेमिनाई ४ आउनुअघि ३.x सिरिजका थप मोडल सार्वजनिक हुने वा नहुने भन्ने पनि अहिलेसम्म स्पष्ट छैन।
