Tekmandu

काठमाडौं उपत्यकामा ८० भन्दा बढी साइटबाट ५जी सेवा विस्तार गर्न सकिने

काठमाडौं — नेपालमा पाँचौं पुस्ताको मोबाइल प्रविधि ‘५जी’ सेवा विस्तार गर्दा पहिलो चरणमा काठमाडौं उपत्यकालाई प्राथमिकतामा राखेर ८० भन्दा बढी साइट निर्माण गर्न सकिने देखिएको छ।

५जी रोलआउटसम्बन्धी एक रिपोर्टमा देखिएको तथ्यांक अनुसार एकैपटक देशभर सेवा विस्तार गर्नुभन्दा ५जी सपोर्ट गर्ने मोबाइल डिभाइसको प्रयोग तथा सम्भावित प्रयोगकर्ता बढी भएका क्षेत्रलाई प्राथमिकतामा राखेर चरणबद्ध रूपमा सेवा विस्तार गर्न सकिने देखिन्छ।

रिपोर्टअनुसार काठमाडौं उपत्यकामा ५जी सपोर्ट गर्ने मोबाइल डिभाइस तथा सम्भावित प्रयोगकर्ताको संख्या बढी केन्द्रित रहेको देखिएकाले यहाँ ८० भन्दा बढी साइट निर्माण गरेर सेवा विस्तार गर्न सकिने देखिन्छ। यसरी पहिलो चरणमा बढी सम्भावित प्रयोगकर्ता भएका क्षेत्रबाट सेवा सुरु गर्दा ५जीको प्रयोग र बजारको अवस्था बुझ्दै क्रमश अन्य क्षेत्रमा विस्तार गर्न सकिने रिपोर्टको तथ्यांकले देखाउँछ।

रिपोर्टमा जिल्लागत रूपमा ५जी सपोर्ट गर्ने मोबाइल टर्मिनलको वितरणसमेत उल्लेख गरिएको छ। उक्त तथ्यांकअनुसार नेपालका ९ जिल्लामा ५जी टर्मिनलको अनुपात १५ प्रतिशतभन्दा बढी रहेको देखिन्छ। त्यस्तै  १६ जिल्लामा यस्तो अनुपात १० देखि १५ प्रतिशतसम्म रहेको छ।

रिपोर्टअनुसार सबैभन्दा धेरै ४६ जिल्लामा ५जी टर्मिनलको अनुपात ५ देखि १० प्रतिशतसम्म रहेको छ। बाँकी ११ जिल्लामा भने यस्तो टर्मिनलको अनुपात ५ प्रतिशतभन्दा कम देखिएको छ।

जिल्लागत तथ्यांक हेर्दा मनाङ र ललितपुरमा ५जी टर्मिनलको अनुपात सबैभन्दा बढी देखिएको छ। यी दुवै जिल्लामा ५जी टर्मिनलको अनुपात २१ प्रतिशत रहेको रिपोर्टमा उल्लेख छ।

त्यस्तै  हुम्लामा २० प्रतिशत र मुस्ताङमा १८ प्रतिशत ५जी टर्मिनल रहेको देखिन्छ। काठमाडौं, सोलुखुम्बु र भक्तपुरमा यस्तो अनुपात समान १७ प्रतिशत छ भने दार्चुलामा १६ प्रतिशत र कास्कीमा १५ प्रतिशत रहेको छ।

यसैगरी म्याग्दी, पर्वत, चितवन, रुपन्देही र रसुवामा ५जी टर्मिनलको अनुपात १२/१२ प्रतिशत रहेको तथ्यांकले देखाउँछ। पाल्पा, धनुषा, मकवानपुर, बाँके, पर्सा, अर्घाखाँची, नवलपरासी पूर्व, तनहुँ, गुल्मी, झापा र महोत्तरीमा यस्तो अनुपात ११/११ प्रतिशत रहेको छ।

रिपोर्टमा देखिएको जिल्लागत वितरणलाई हेर्दा ५जी सपोर्ट गर्ने मोबाइल डिभाइसको प्रयोग काठमाडौं उपत्यकामा मात्रै सीमित नरहेको देखिन्छ। मनाङ, हुम्ला, मुस्ताङ र सोलुखुम्बुजस्ता हिमाली जिल्लामा समेत ५जी टर्मिनलको अनुपात तुलनात्मक रूपमा उच्च देखिएको छ।

यद्यपि  काठमाडौं उपत्यकामा जनसंख्याको उच्च घनत्व, मोबाइल तथा डेटा प्रयोगकर्ताको ठूलो संख्या र ५जी टर्मिनलको उपलब्धतालाई हेर्दा सुरुवाती चरणमा काठमाडौं, ललितपुर र भक्तपुरलाई समेटेर ५जी नेटवर्क विस्तार गर्न सकिने देखिन्छ।

रिपोर्टको तथ्यांकअनुसार ललितपुरमा ५जी टर्मिनलको अनुपात २१ प्रतिशत तथा काठमाडौं र भक्तपुरमा १७/१७ प्रतिशत रहेको छ। यस आधारमा काठमाडौं उपत्यका ५जी सेवाको प्रारम्भिक व्यावसायिक विस्तारका लागि सम्भावित प्रमुख क्षेत्रका रूपमा देखिएको छ।

समग्र तथ्यांकले ५जी सेवा विस्तार गर्दा देशभर एकैपटक ठूलो नेटवर्क निर्माण गर्नुभन्दा ५जी सपोर्ट गर्ने डिभाइसको उपलब्धता र सम्भावित प्रयोगकर्ता बढी भएका क्षेत्र पहिचान गरी चरणबद्ध रूपमा नेटवर्क विस्तार गर्न सकिने आधार देखाउँछ। पहिलो चरणको प्रयोग र मागका आधारमा क्रमश अन्य सहर तथा जिल्लामा ५जी सेवा विस्तार गर्न सकिने देखिन्छ।

सम्बन्धित समाचार

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

काठमाडौं — अपरिचित नम्बरबाट ‘सरी, गलत नम्बर परेछ’ भन्दै आउने म्यासेज सामान्य गल्ती नहुन सक्छ। यस्ता म्यासेजमार्फत सुरु हुने कुराका...
एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...