Tekmandu

अन्तरिक्ष दौडमा अर्को फड्को, स्पेसएक्सले लुइजियानामा नयाँ प्रक्षेपण स्थल बनाउने

काठमाडौं — अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो स्टारशिप कार्यक्रम विस्तार गर्ने योजनाअन्तर्गत दक्षिणी लुइजियानामा करिब १ लाख ३० हजार एकड दलदली क्षेत्र अधिग्रहण गर्ने अन्तिम चरणको तयारी गरेको छ। यो सम्झौता सम्पन्न भए कम्पनीले अमेरिकामा नयाँ र ठूलो प्रक्षेपण केन्द्र विकास गर्ने बाटो खुल्ने अपेक्षा गरिएको छ।

स्पेसएक्स र लुइजियाना राज्य सरकारबीच मेक्सिकोको खाडीको उत्तरी तट क्षेत्रमा रहेको करिब १ लाख ३० हजार एकड जमिन हस्तान्तरणसम्बन्धी सम्झौता अन्तिम चरणमा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

महिनौँदेखि यसबारे चर्चा चलिरहे पनि द टाइम्स-पिकायुन | द न्यू अर्लिन्स एड्भोकेट का अनुसार लुइजियानाका गभर्नर जेफ ल्याण्ड्रीले यही महिनाभित्र औपचारिक रूपमा सम्झौताको घोषणा गर्ने अपेक्षा गरिएको छ।

सम्झौता कार्यान्वयन भए स्पेसएक्सले लाफायेट सहरको दक्षिणपश्चिमतर्फ रहेको करिब १८ माइल लामो दलदली तटीय क्षेत्र आफ्नो नियन्त्रणमा लिनेछ। पेकान आइल्यान्ड नामले चिनिने यो क्षेत्र एक्सनमोबिलविरुद्ध प्रदूषण र तटीय भूभाग क्षतिसम्बन्धी दर्जनौं मुद्दाको कानुनी सहमतिपछि उपलब्ध भएको हो।

हालसम्म न त लुइजियाना सरकारका अधिकारीहरूले यसबारे सार्वजनिक टिप्पणी गरेका छन्, न स्पेसएक्सले नै आधिकारिक प्रतिक्रिया दिएको छ। तर मे महिनामा सामाजिक सञ्जाल एक्समा फैलिएका यस्तै चर्चाप्रति प्रतिक्रिया दिँदै कम्पनीले भविष्यमा स्टारशिपबाट वार्षिक हजारौं उडान गर्ने लक्ष्य रहेको र त्यसका लागि अमेरिका तथा विदेशका विभिन्न स्थानमा नयाँ प्रक्षेपण स्थलको सम्भावना निरन्तर अध्ययन गरिरहेको जनाएको थियो।

एरोस्पेस कम्पनीलाई आकर्षित गर्न विशेष सुविधा

यो चर्चालाई थप बल पुगेको अर्को कारण लुइजियाना विधानसभाले यस वर्ष एरोस्पेस कम्पनीहरूलाई लक्षित विभिन्न प्रोत्साहन कार्यक्रम पारित गर्नु पनि हो। ती व्यवस्थामा दायित्वसम्बन्धी कानुनी सुरक्षा र सम्पत्ति करमा छुटजस्ता सुविधा समावेश छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार स्पेसएक्ससँग हुने सम्झौतामा उत्तरी गल्फ तटको संवेदनशील दलदली क्षेत्र संरक्षण तथा तटीय पुनर्स्थापनाका प्रावधान पनि रहनेछन्। यो क्षेत्र वन्यजन्तुका लागि महत्वपूर्ण आवास मात्र होइन, नियमित आउने समुद्री आँधीबाट तटीय भूभाग जोगाउने प्राकृतिक अवरोधका रूपमा पनि परिचित छ।

किन रोजियो लुइजियाना?

स्पेसएक्सले स्टारशिपमार्फत वार्षिक हजारौं रकेट प्रक्षेपण गर्ने दीर्घकालीन योजना बनाएको छ। कम्पनीको लक्ष्य विशाल अर्बिटल डाटा सेन्टर स्याटेलाइट नेटवर्क निर्माण गर्ने लगायतका परियोजना अघि बढाउनु भएकाले थप प्रक्षेपण केन्द्र आवश्यक पर्ने देखिएको छ। तर अमेरिकाको मेक्सिको खाडी र दक्षिणी एटलान्टिक तटीय क्षेत्रमा विकास नभएका उपयुक्त स्थान सीमित छन्।

निकट भविष्यमा स्पेसएक्ससँग दक्षिण टेक्सासस्थित स्टारबेस मा दुईवटा र फ्लोरिडाको केप क्यानाभेरल मा थप दुईवटा अर्बिटल प्रक्षेपण टावर हुनेछन्। तर ती दुवै स्थान अहिले धेरै हदसम्म भरिइसकेका छन् वा अन्य अन्तरिक्ष कम्पनीका गतिविधिका कारण व्यस्त छन्।

यस्तो अवस्थामा लुइजियानाको नयाँ सम्भावित स्थल कम्पनीका लागि धेरै हिसाबले आकर्षक मानिएको छ। यो क्षेत्र इन्ट्राकोस्टल वाटरवे नजिक रहेको, गहिरो पानीसम्म सहज पहुँच भएको तथा स्टारबेसको तुलनामा धेरै ठूलो खाली भूभाग उपलब्ध रहेको बताइएको छ।

त्यसैगरी  दक्षिण टेक्सासस्थित स्पेसएक्सको विशाल स्टारफ्याक्ट्री सम्म बार्जमार्फत उपकरण र सामग्री ढुवानी गर्न पनि यो स्थान अपेक्षाकृत सहज हुनेछ।

पोलार कक्षाका लागि पनि उपयुक्त

लुइजियानाको दक्षिणतर्फ फर्किएको भौगोलिक अवस्थिति पोलार अर्बिट मा स्याटेलाइट पठाउन पनि उपयोगी हुन सक्ने विश्लेषण गरिएको छ। भूमध्यरेखीय कक्षामा पश्चिमदेखि पूर्वतर्फ यात्रा हुने भए पनि पोलार अर्बिट उत्तर-दक्षिण दिशामा हुने भएकाले धेरै स्याटेलाइट त्यही कक्षामा सञ्चालन हुने अपेक्षा गरिएको छ।

लुइजियानाबाट प्रक्षेपण गर्दा स्टारशिपले करिब एक हजार माइल दूरीसम्म मेक्सिकोमाथि छोटो मार्ग पार गरेर पोलार अर्बिटमा पुग्न सक्ने सम्भावना रहेको बताइएको छ।

प्राकृतिक ग्यास पूर्वाधार अर्को ठूलो फाइदा

यो स्थानको अर्को प्रमुख विशेषता प्राकृतिक ग्यास पूर्वाधारसँगको निकटता हो। तीव्र गतिमा लगातार प्रक्षेपण गर्न स्पेसएक्सलाई ठूलो परिमाणमा मिथेन आवश्यक पर्नेछ।

पेकान आइल्यान्ड अमेरिकाको सबैभन्दा धेरै जोडिएको प्राकृतिक ग्यास वितरण केन्द्रमध्ये एक हेन्री हब बाट केही दर्जन माइल मात्र दक्षिणमा पर्छ। यसले टेक्सासको बोका चिका वा फ्लोरिडाको तुलनामा इन्धन आपूर्ति अझ सहज बनाउन सक्ने अनुमान गरिएको छ।

वातावरणीय चुनौती पनि कम छैन

यद्यपि  यस्तो प्रक्षेपण केन्द्र निर्माणले वातावरणीय र स्थानीय समुदायसँग सम्बन्धित गम्भीर चुनौती पनि ल्याउन सक्ने विज्ञहरूको भनाइ छ। दक्षिण टेक्सासको स्टारबेस निर्माणपछि त्यहाँ पनि वातावरणीय प्रभाव र स्थानीय बासिन्दाको विरोध देखिएको थियो।

तर आर्थिक दृष्टिले भने स्टारबेस परियोजना टेक्सासका लागि लाभदायी सावित भएको छ। स्पेसएक्सले ब्राउन्सभिल क्षेत्रमा प्रत्यक्ष रूपमा करिब ५ हजार जनालाई रोजगारी दिएको छ भने केही अध्ययनले प्रत्यक्ष र अप्रत्यक्ष गरी २४ हजारसम्म रोजगारी सिर्जना भएको देखाएका छन्। रकेट प्रक्षेपणका क्रममा पर्यटन गतिविधिसमेत उल्लेखनीय रूपमा बढेको छ।

यस्तै आर्थिक गतिविधि लुइजियानामा पनि भित्रिने सम्भावनाले राज्य सरकार स्पेसएक्सलाई आकर्षित गर्न इच्छुक देखिएको विश्लेषण गरिएको छ।

सम्बन्धित समाचार

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा ७ दिन थप, १८ टावर पुनः सञ्चालनमा

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा ७ दिन थप, १८ टावर पुनः सञ्चालनमा

काठमाडौं — एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रका नागरिकका लागि उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, ...
फेसबुक–इन्स्टाग्राममा अब दुई घण्टाको सीमा, मेटाले गर्‍यो १८ अर्ब डलरको सम्झौता

फेसबुक–इन्स्टाग्राममा अब दुई घण्टाको सीमा, मेटाले गर्‍यो १८ अर्ब डलरको सम्झौता

काठमाडौं —  फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाले अमेरिकाका अधिकांश राज्यहरूसँग करिब १८ अर्ब अमेरिकी डलर बराबरको ऐतिहासिक सम्...
एआई मोडलले आफैं रच्यो साइबर हमलाको तानाबाना, ओपनएआईको आधिकारिक प्रतिवेदन सार्वजनिक

एआई मोडलले आफैं रच्यो साइबर हमलाको तानाबाना, ओपनएआईको आधिकारिक प्रतिवेदन सार्वजनिक

काठमाडौं — आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको विकासमा विश्वमै अग्रणी मानिएको कम्पनी ओपनएआईले हालै भएको ‘हगिङ फेस’ (Hugging F...
भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतका लागि एनसेलद्वारा १ करोड सहयोग, ३ दिनसम्म सञ्चार सेवा निःशुल्क

भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतका लागि एनसेलद्वारा १ करोड सहयोग, ३ दिनसम्म सञ्चार सेवा निःशुल्क

काठमाडौं — रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनले १ करोड...