काठमाडौं — च्याटजीपीटी प्रयोगकर्ताका लागि ओपनएआईले ठूलो राहतको घोषणा गरेको छ। अब नि:शुल्क प्रयोगकर्ताहरूले पनि कुनै सीमाविना जति पनि टेक्स्ट च्याट गर्न पाउने भएका छन्। हालै साप्ताहिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब नाघेको अवसरमा कम्पनीले यो नयाँ अपडेट सार्वजनिक गरेको हो।
अहिले नि:शुल्क र ‘गो’ (Go) प्रयोगकर्ताका लागि उपलब्ध जिपिटी-५.५ (GPT-5.5) मोडललाई हटाइएको छ। अब त्यसको ठाउँमा नयाँ जिपिटी-५.६ लुना (GPT-5.6 Luna) डिफाल्ट मोडलका रूपमा आउनेछ। यससँगै सर्वसाधारण प्रयोगकर्ताले पनि जटिल प्रश्नहरूको उत्तर खोज्न थप सोच्न सक्ने ‘थिङ्क’ (Think) बटनको सुविधा पाउनेछन्। यद्यपि, फाइल अपलोड, फोटो, भ्वाइस र इमेजिङ (Image Generation) जस्ता फिचरमा भने पहिलेझैँ तोकिएको सीमा कायमै रहने ओपनएआईले स्पष्ट पारेको छ।
प्रेस वा प्रिमियम सब्सक्राइबरका लागि पनि कम्पनीले खास फिचरहरू ल्याएको छ। च्याटजीपीटी प्लस र प्रो (Plus and Pro) प्रयोगकर्ताहरूले अब अपग्रेड गरिएको जिपिटी-५.६ सोल (GPT-5.6 Sol) मोडल प्रयोग गर्न पाउनेछन्।
द्रुत गतिमा गरिने कामहरू—जस्तै वेब रिसर्च, सल्लाह लिने, योजना बनाउने, लेखन र निर्णय लिने जस्ता कार्यमा यो मोडल पहिलेभन्दा अझै चुस्त र भरपर्दो देखिएको छ। यसले प्रयोगकर्तालाई छोटा र ठोस उत्तर दिनेछ। (कोडिक्स र वर्कका लागि प्रयोग हुने जिपिटी-५.६ सोल मोडल भने यथावत् नै रहनेछ।)
यसबाहेक, प्लस र प्रो प्रयोगकर्तालाई उत्तरको गहिराइ मिलाउन ‘थिङ्किङ स्लाइडर’ (Thinking Slider) दिइएको छ। प्रश्न कति जटिल छ र कति चरणमा उत्तर खोज्नुपर्ने हो, सोही अनुसार प्रयोगकर्ता आफैँले मोडलको सोच्ने क्षमता बढाउन वा घटाउन सक्नेछन्।
नयाँ मोडल अघिल्ला संस्करणभन्दा निकै सुरक्षित र तथ्यपरक भएको कम्पनीको दाबी छ। ओपनएआईको आन्तरिक परीक्षण अनुसार पुराना मोडल (GPT-5.5-Instant) को तुलनामा नयाँ जिपिटी-५.६ लुनामा ६२ प्रतिशत र जिपिटी-५.६ सोलमा ६८ प्रतिशत कम गल्ती भेटिएका छन्।
प्लस र प्रो प्रयोगकर्ताका लागि जिपिटी-५.६ सोलको नयाँ भर्सन उपलब्ध भइसकेको छ। नि:शुल्क र ‘गो’ प्रयोगकर्ताका लागि भने यो हप्ताभित्रै बाँकी परिवर्तनहरू लागू हुनेछन्। अर्को हप्तादेखि सबै प्रयोगकर्ताले असीमित टेक्स्ट च्याट र जटिल प्रश्नका लागि ‘थिङ्क’ बटन चलाउन पाउनेछन्।
