काठमाडौं — नेपाली व्यवसाय तथा स्टार्टअपहरूले अब अनलाइनमा आफ्नो उपस्थिति जनाउन वा वेबसाइट चलाउन विदेशमा डलरमा भुक्तानी गरेर डोमेन र वेब होस्टिङ खरिद गर्नुपर्ने बाध्यता हट्ने भएको छ। एनसेलले आफ्ना संस्थागत ग्राहकहरूका लागि डोमेन दर्ता र वेब होस्टिङ सेवासहितको ‘एनसेल बिजनेस क्लाउडसुइट’ (Ncell Business CloudSuite) सुरु गरेपछि यो सुविधा मिलेको हो।
विशेष गरी साना तथा मझौला उद्योग, स्टार्टअप, शैक्षिक संस्था र विभिन्न संघ-संस्थाहरूलाई लक्षित गर्दै एनसेलले यो स्थानीय प्लेटफर्म सञ्चालनमा ल्याएको छ। यस प्लेटफर्ममार्फत ग्राहकहरूले डोमेन दर्ता, वेबसाइट होस्टिङ, डोमेन ट्रान्सफर, डीएनएस (DNS) व्यवस्थापन, सबडोमेन व्यवस्थापन तथा डोमेन नवीकरण जस्ता सेवाहरू एउटै ठाउँबाट पाउन सक्नेछन्।
नेपालमा तीव्र रूपमा भइरहेको डिजिटल रूपान्तरणलाई सघाउन देशभित्रै भरपर्दो वेब पूर्वाधारको आवश्यकता महसुस गरी यो सेवा ल्याइएको एनसेलले जनाएको छ।
नेपाली रूपैयाँमै भुक्तानी, डेटा पनि नेपालमै सुरक्षित
यो सेवाको मुख्य विशेषता भनेको नेपाली मुद्रामै सजिलै भुक्तानी गर्न सकिनु हो। यसअघि विदेशी कम्पनीहरूबाट डोमेन वा होस्टिङ किन्दा डलर कार्ड वा अन्तर्राष्ट्रिय भुक्तानी माध्यमको प्रयोग गर्नुपर्ने बाध्यता थियो। एनसेलको यो नयाँ सेवासँगै अब नेपाली रुपैयाँमै भुक्तानी गरी सेवा लिन सकिनेछ।
यसका साथै क्लाउडसुइटमार्फत सञ्चालन हुने वेबसाइटहरूको डेटा नेपालभित्रै होस्ट हुनेछ। यसले गर्दा ग्राहकहरूको डेटा र डिजिटल सम्पत्ति देशभित्रै सुरक्षित रहनुका साथै स्थानीय नियामक निकायहरूको मापदण्ड र आवश्यकता पूरा गर्न पनि व्यवसायहरूलाई सहज हुनेछ।
दुई फरक प्याकेज: बेसिक र प्रो
एनसेलले व्यवसायको आकार र आवश्यकताअनुसार दुई वटा आकर्षक प्याकेजहरू बजारमा ल्याएको छ:
१. बेसिक प्याकेज (Basic Package):
- शुल्क: मासिक रु. १,०००
- विशेषता: नयाँ तथा साना व्यवसायका लागि उपयुक्त। यसमा ३ जीबी सेयर्ड स्टोरेज, व्यावसायिक इमेल खाता, एसएसएल (SSL) सर्टिफिकेसन, स्वचालित ब्याकअप र आवश्यक सुरक्षा सुविधाहरू समेटिएका छन्।
२. प्रो प्याकेज (Pro Package):
- शुल्क: मासिक रु. २,०००
- विशेषता: तीव्र रूपमा विस्तार भइरहेका डिजिटल व्यवसायका लागि तयार पारिएको। यसमा बढी स्टोरेज र डेटा ट्रान्सफर सुविधाका साथै २० वटासम्म व्यावसायिक इमेल खाता, १० वटा डेटाबेस, ५ वटासम्म सबडोमेन, एसएसएल सर्टिफिकेसन र स्वचालित ब्याकअप सेवा पाइनेछ।
‘डिजिटल यात्राको बलियो आधार’
सेवा शुभारम्भबारे बोल्दै एनसेलका चिफ इन्टरप्राइज बिजनेस अफिसर डिओन एसेन्सिओले एनसेल बिजनेस क्लाउडसुइटले नेपाली व्यवसायहरूलाई बलियो र व्यावसायिक डिजिटल उपस्थिति बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
“डोमेन नाम र भरपर्दो वेब होस्टिङ हरेक डिजिटल यात्राको मुख्य आधार हुन्,” एसेन्सिओले भने, “स्थानीय पूर्वाधार, नेपाली मुद्रामै भुक्तानी र देशभित्रै डेटा होस्टिङको सुविधा दिएर हामीले व्यवसायहरूलाई थप आत्मविश्वासका साथ डिजिटल बन्न सहज बनाएका छौँ। पहिलो चरणमा हामीले डोमेन र होस्टिङमा ध्यान केन्द्रित गरेका छौँ, किनकि यो नै डिजिटल प्रवेशको पहिलो पाइला हो।”
