काठमाडौं — निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले अन्तर्राष्ट्रिय आउटगोइङ (बहिर्गमन) कलमा नयाँ पल्स दर लागु गरेको छ। कम्पनीले भदौ २ गते मंगलबारदेखि लागू हुने गरी विश्वका १९८ गन्तव्य मुलुकका लागि ६० सेकेन्डको नयाँ पल्स दर कार्यान्वयनमा ल्याएको हो।
नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले दिएको स्वीकृतिका आधारमा यो नयाँ नियम लागू गरिएको कम्पनीले जनाएको छ। दूरसञ्चार ऐन, २०५३ को दफा ४२ अनुसार प्राधिकरणले गत साउन २२ गते (२०८३) एनसेललाई नयाँ पल्स दर कायम गर्न स्वीकृति प्रदान गरेको थियो।
प्राधिकरणको स्वीकृतिसँगै अब अष्ट्रेलिया, अमेरिका, क्यानडा, चीन, भारत, जापान, दक्षिण कोरिया लगायतका देशमा कल गर्दा नयाँ पल्स दर गणना हुनेछ। त्यसैगरी मलेसिया, कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, सिङ्गापुर लगायतका देशहरुका साथै बेलायत, फ्रान्स, जर्मनी, इटाली, डेनमार्क, फिनल्याण्ड जस्ता युरोपेली मुलुकहरुमा पनि यो नियम लागु भएको छ।
नयाँ पल्स दर लागू भएका १९८ वटै मुलुकहरुको पूर्ण सूचीका साथै कल र एसएमएसको शुल्कसम्बन्धी विस्तृत जानकारी एनसेलको आधिकारिक वेबसाइटको ‘इन्टरनेशनल कल एन्ड एसएमएस रेट’ खण्डमा गएर हेर्न सकिने कम्पनीले जनाएको छ।
