काठमाडौं — प्रविधि कम्पनी गुगलले विद्यार्थीहरूको सिकाइलाई थप प्रभावकारी र सहज बनाउन ‘सर्च’ (Search) र ‘जेमिनाइ’ (Gemini) मा नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुलहरू सार्वजनिक गरेको छ। बुधबार घोषणा गरिएका यी नयाँ सुविधाहरूमा अन्तरक्रियात्मक दृश्य (Interactive Visuals), थ्रीडी सिमुलेसन, छुट्टै स्टुडेन्ट हब र कस्टमाइज्ड अभ्यास क्विजलगायत समावेश छन्।
ओपनएआई (OpenAI) लगायत शिक्षा क्षेत्रमा काम गरिरहेका ‘नोट’ (Knowt) र ‘गथ’ (Gauth) जस्ता स्टार्टअपहरूले आफ्नै लर्निङ टुल ल्याइरहेका बेला गुगलले यो कदम चालेको हो। विद्यार्थीहरूले पढ्न र सिक्नका लागि जेमिनाइलाई नै मुख्य एआई सहायकका रूपमा प्रयोग गरुन् भन्ने गुगलको उद्देश्य देखिन्छ।
गुगल सर्चमा थपिएका नयाँ सुविधाहरू
अब विद्यार्थीहरूले जटिल विषयवस्तु बुझ्न गुगल सर्चमा आफ्नै अनुकूलताका टुल र सिमुलेसन तयार पार्न सक्नेछन्। उदाहरणका लागि, पीएच स्केल (pH Scale) खोज्दा यसको आधारभूत कुरा बुझाउन एआईले अन्तरक्रियात्मक चित्र देखाउनेछ। अझ गहिरिएर बुझ्नका लागि कागती जस्ता अमिला फलफूललाई पीएच स्केलमा राखेर हेर्न मिल्ने गरी एआई मोडले छुट्टै अनुभव प्रदान गर्नेछ।
- कस्टमाइज्ड क्विज: विज्ञान, गणित, मानविकी वा विदेशी भाषा जुनसुकै विषयमा पनि प्रयोगकर्ताले सर्चबाटै अभ्यास क्विज पाउन सक्छन्। जस्तै, “स्याट (SAT) परीक्षा तयारीका लागि सबैभन्दा धेरै सोधिने शब्दावलीको क्विज बनाइदेऊ” भनेर प्रम्प्ट दिँदा सर्चले तत्कालै अन्तरक्रियात्मक क्विज तयार पार्छ।
- गुगल लेन्सबाट समस्या समाधान: आगामी साताहरूमा गुगल लेन्समा नयाँ लर्निङ फिचर आउँदैछ। आफूले समाधान गर्न नसकेको प्रश्नको फोटो खिचेर अपलोड गरेपछि एआईले उक्त अवधारणा बुझाउने, सम्भावित गल्ती औंल्याउने र समाधानको बाटो देखाउनेछ।
- स्टडी डकुमेन्ट निर्माण: आफ्ना हस्तलिखित नोट, पीडीएफ वा लेक्चर स्लाइडहरू अपलोड गरेर विद्यार्थीले त्यसको मुख्य सारसहितको वान–पेजर (एक पृष्ठको नोट) बनाउन सर्चलाई निर्देशन दिन सक्छन्।
जेमिनाइमार्फत थ्रीडी सिमुलेसन र अनुसन्धान
गुगलले जेमिनाइमा ‘जेमिनाइ लाइभ’ (Gemini Live) मार्फत बहु–चरणीय अनुसन्धान रिपोर्ट (Multi-step research reports) तयार पार्न सकिने सुविधा ल्याएको छ।
विद्यार्थीले जेमिनाइलाई कुनै विषयमा अनुसन्धान गर्न लगाएर च्याट बन्द गर्न वा अन्य काम गर्न सक्छन्। ब्याकग्राउन्डमा काम सकेपछि जेमिनाइले नोटिफिकेसन दिन्छ, जसलाई विद्यार्थीले भ्वाइस कमान्डमार्फत छलफल गर्न वा थप प्रश्न सोध्न सक्छन्।
- थ्रीडी सिमुलेसन: कुनै पनि विषयलाई गहिराइमा बुझ्न अब जेमिनाइले थ्रीडी सिमुलेसन, टेबल र ग्रिडहरू तयार पार्नेछ। जस्तै, “डीएनएले कसरी काम गर्छ, थ्रीडीमा देखाऊ” भन्दा यसले डीएनएको थ्रीडी संरचना दिन्छ, जसलाई जुम गरेर वा घुमाएर अन्तरक्रियात्मक रूपमा हेर्न सकिन्छ।
- डेडिकेटेड स्टुडेन्ट हब: गुगलले जेमिनाइ एपभित्रै विद्यार्थीका लागि छुट्टै हब सुरु गरेको छ। यहाँ सिकाइसँग सम्बन्धित सबै टुलहरू एकै ठाउँमा पाइनेछन्। विद्यार्थीले यसैभित्र स्टडी नोटबुक बनाउन, फ्ल्यासकार्ड तयार पार्न र अभ्यास क्विजहरू खेल्न सक्नेछन्।
