काठमाडौं — रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनले १ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
बुधबार आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति गरेपछि प्रभावितको तत्काल उद्धार र राहतका लागि एनसेलले सरकारको आह्वानमा ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।
आर्थिक सहयोगका साथै एनसेलले विपद्को यस कठिन घडीमा प्रभावित क्षेत्रका नागरिकलाई सञ्चार सम्पर्कमा सहजता होस् भनेर निःशुल्क प्याकेजसमेत उपलब्ध गराएको छ । कम्पनीका अनुसार बाढी प्रभावित क्षेत्रमा रहेका एनसेलका ग्राहकलाई लक्षित गर्दै ३ दिनका लागि भ्वाइस, डेटा र १०० वटा एसएमएस निःशुल्क उपलब्ध गराइएको छ ।
यस पहलले बाढी प्रभावित नागरिकलाई आफ्ना परिवार, आफन्त तथा उद्धार र राहतमा संलग्न टोलीहरूसँग सहज रूपमा सम्पर्कमा रहन र सूचना आदानप्रदान गर्न मद्दत पुग्ने कम्पनीको विश्वास छ ।
एनसेलले यस दुःखद् घटनामा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । साथै, बेपत्ता भएकाहरूको खोजी, उद्धार र राहत व्यवस्थापन शीघ्र रूपमा होस् भन्ने कामना समेत गरेको छ ।
एनसेलकी कर्पोरेट कम्युनिकेसन, मार्केटिङ तथा सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले विपद्को समयमा प्रभावित जनताको साथमा उभिनु सबैको साझा जिम्मेवारी भएको बताइन् ।
“उद्धार, राहत र पुनःस्थापनाका प्रयासमा सरकार तथा सम्बन्धित निकायलाई सहयोग पुर्याउने उद्देश्यले १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेका हौं,” खड्काले भनिन्, “यस विषम परिस्थितिमा हामी प्रभावित परिवार तथा समुदायसँगै रहेको जानकारी गराउन चाहन्छौं ।”
एनसेलले विगतदेखि नै देशमा आइपर्ने विभिन्न प्राकृतिक विपद्का समयमा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत उद्धार, राहत तथा पुनःस्थापनामा महत्त्वपूर्ण सहयोग गर्दै आएको छ । कम्पनीले आगामी दिनमा पनि प्रभावित समुदायको आवश्यकता र अवस्थालाई ध्यानमा राख्दै सम्भव सहयोग र सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएको छ ।
