काठमाडौं — यदि तपाईं इन्टरनेट र डिजिटल माध्यममा धेरै काम गर्नुहुन्छ भने पक्कै पनि तपाईंको गुगल ड्राइभ (Google Drive) मा अनावश्यक कागजात, तस्वीर र फाइलहरूको चाङ लागेको होला। समयक्रममा ड्राइभमा कुन फाइल कहाँ छ भनेर खोज्न वा मिलाएर राख्न निकै झन्झटिलो हुँदै जान्छ।
प्रयोगकर्ताको यही समस्यालाई सम्बोधन गर्दै गुगलले आफ्नो लोकप्रिय जेमिनाई (Gemini) आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिमा आधारित नयाँ फिचर ल्याएको छ, जसले ड्राइभका अस्तव्यस्त फाइलहरूलाई स्वतः मिलाइदिनेछ।
गत वर्षदेखि परीक्षणमा रहेको ‘अर्गनाइज माइ फाइल्स’ (Organize My Files) नामक यो फिचर गुगलले वर्कस्पेस (Workspace) प्रयोगकर्ताहरूका लागि उपलब्ध गराएको हो। यस फिचरको मुख्य काम प्रयोगकर्ताको साविकको फाइल राख्ने शैली र संरचनालाई बुझेर छरिएर रहेका फाइलहरूलाई सही फोल्डरमा सार्नका लागि सुझाव (Suggestions) दिनु हो।
प्रयोगकर्ताले एआईले दिएका सुझावहरू हेरेर स्वीकृत (Approve) गरे पुग्छ, बाँकी काम जेमिनाईले नै गर्नेछ।
कसरी प्रयोग गर्ने यो फिचर?
गुगल ड्राइभमा जेमिनाईको सहयोग लिनका लागि केही प्राविधिक सर्तहरू पूरा हुनुपर्छ।
आवश्यकता र सर्तहरू:
१. सशुल्क खाता (Paid Subscription): यो फिचर निःशुल्क गुगल खातामा उपलब्ध छैन। यसका लागि प्रयोगकर्तासँग ‘Google AI Pro’ वा ‘AI Ultra’ सब्स्क्रिप्सन हुनुपर्छ। साथै बिजनेस, इन्टरप्राइज र एजुकेसन खाताहरूमा पनि यो सुविधा दिइएको छ।
२. निजी फाइलमा मात्र लागू हुने: सहकर्मीहरूसँग सेयर गरिएका फोल्डर वा फाइलहरूमा यसले काम गर्दैन। प्रयोगकर्ताका व्यक्तिगत वा निजी फोल्डरमा मात्र यसले सुझाव दिन्छ।
३. ‘स्मार्ट फिचर्स’ अन हुनुपर्ने: गुगल वर्कस्पेसको ‘Smart Features’ अन हुनुपर्छ। (यदि अन छैन भने जिमेलको Settings > See all settings > General > Manage Workspace smart feature settings मा गएर यसलाई अन गर्न सकिन्छ।)
कसरी काम गर्छ जेमिनाईले?
सर्तहरू पूरा भएपछि प्रयोगकर्ताले सजिलै जेमिनाईको प्रयोग गर्न सक्छन्:
- वेब ब्राउजरमा Google Drive खोल्ने र My Drive मा जाने।
- स्क्रिनको माथिल्लो भागमा देखिने ‘Suggest file moves’ विकल्पमा क्लिक गर्ने।
- त्यसपछि जेमिनाईले कुन फाइल कुन फोल्डरमा सार्ने भनेर एउटा सूची देखाउँछ।
- प्रयोगकर्ताले आफूलाई उपयुक्त लागेका सुझावमा टिक (Checkbox) लगाएर ओके (Approve) गर्न सक्छन्।
फाइल सार्दा आवश्यक परेमा जेमिनाईले नयाँ फोल्डर बनाउने सुझाव पनि दिन्छ। साथै फाइल नसार्दै कुन फाइल कहाँ जाँदैछ भनेर ‘माउस होभर’ गरी पूर्वावलोकन (Preview) पनि गर्न सकिन्छ।
केही सीमाहरू पनि छन्
जेमिनाईको यो नयाँ टुल निकै उपयोगी भए पनि यसका केही सीमाहरू छन्:
- फाइलको नाम फेर्दैन: जेमिनाईले फाइलको नाम (Rename) आफैं परिवर्तन गर्दैन।
- फाइलभित्रका सामग्री नपढ्ने: जेमिनाईले कागजात (Document) भित्र के लेखिएको छ भनेर पढेर विश्लेषण गर्दैन। यसले केवल फाइलको नाम र तपाईंको पुरानो फोल्डरको संरचनालाई हेरेर अनुमान लगाउँछ।
त्यसैले यदि तपाईंको ड्राइभमा नाम नराखिएका (Untitled) फाइलहरू धेरै छन् भने जेमिनाईले तिनलाई व्यवस्थित गर्न सक्ने छैन। यसका लागि सुरुमा फाइलहरूको सही नाम राख्न आवश्यक हुन्छ। एकपटक सही नामकरण गरिसकेपछि भने भविष्यमा छरिएका फाइलहरू मिलाउन जेमिनाई निकै सहयोगी सिद्ध हुनेछ।
