काठमाडौं — नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरूलाई दूरसञ्चार सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले एनसेल र नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो) बीच रणनीतिक साझेदारी भएको छ।
बिहीबार नेपाल पर्यटन बोर्डमा आयोजित एक कार्यक्रमका बिच एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ता र नाटोका अध्यक्ष विश्वेश श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
यस सहकार्यपछि नेपालका विभिन्न पर्यटकीय स्थलको भ्रमणमा निस्कने अन्तर्राष्ट्रिय पर्यटकहरूले यात्राभर आफ्ना परिवार तथा साथीभाइसँग बिना कुनै झन्झट सम्पर्कमा रहन पाउनेछन्। सम्झौता अनुसार एनसेलले पर्यटकहरूलाई भरपर्दो र तीव्र गतिको मोबाइल कनेक्टिभिटी (सिम तथा डेटा सेवा) उपलब्ध गराउनेछ भने नाटोले आफ्नो देशभर फैलिएको ट्राभल अपरेटरहरूको सञ्जालमार्फत पर्यटकहरूलाई एनसेलका यी सेवाहरूबारे जानकारी र सहजीकरण गर्नेछ।
कार्यक्रममा बोल्दै एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले एनसेलको फराकिलो नेटवर्क र नाटोको पर्यटकीय पहुँचले नेपाल आउने पर्यटकको यात्रा अनुभवलाई अझ उत्कृष्ट बनाउने बताए। “यो साझेदारीले पर्यटकको अनुभव सुधार्नुका साथै ‘नेपाल कलिङ’ अभियानलाई प्रवर्द्धन गर्दै नेपाललाई विश्वमै एक प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुर्याउनेछ,” उनले भने।
त्यस्तै नाटोका अध्यक्ष विश्वेश श्रेष्ठले पर्यटनको मर्म नै मानिस, संस्कृति र अनुभवहरूलाई आपसमा जोड्नु रहेको उल्लेख गर्दै भने, “नेपाल आउने हरेक यात्रुलाई आफ्नो यात्रा अवधिभर सबैसँग जोडिरहन मद्दत गर्ने एनसेलजस्तो संस्थासँग सहकार्य गर्न पाउँदा हामी उत्साहित छौँ।”
गजुरीबाट आधुनिक ‘वाश’ पूर्वाधारको सुरुवात
केवल दूरसञ्चार सेवामा मात्र सीमित नरही एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत एनसेल फाउन्डेसनमार्फत सामाजिक कार्यमा पनि नाटोलाई सघाउने भएको छ।
यसअन्तर्गत प्रमुख राजमार्गहरूमा यात्रा गर्ने पर्यटक तथा स्थानीयको सुविधाका लागि आधुनिक ‘वाश’ (सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता) पूर्वाधार निर्माण गरिनेछ। यसको सुरुवात धादिङको गजुरीबाट पाइलट प्रोजेक्टका रूपमा गरिने र यसले दिगो तथा जिम्मेवार पर्यटन विकासमा टेवा पुर्याउने विश्वास दुवै संस्थाको छ।
