काठमाडौं — बडादसैँ, तिहार तथा छठ जस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल र बहुराष्ट्रिय इलेक्ट्रोनिक्स ब्रान्ड सामसङ नेपालबीच विशेष सहकार्य भएको छ। यस सहकार्यअन्तर्गत एनसेलका ग्राहकले सामसङका घरायसी विद्युतीय उपकरण खरिद गर्दा कुल ३१ प्रतिशतसम्म छुट पाउने भएका छन्।
चाडपर्वको अवसरमा सामसङले आफ्ना उत्पादनहरूमा दिँदै आएको छुटमा एनसेलका ग्राहकका लागि थप १२ प्रतिशतसम्मको अतिरिक्त छुट थप गरिएको हो। यो अफर असोज २२ देखि आगामी कात्तिक ३० गतेसम्म लागू हुने कम्पनीले जनाएको छ।
अफरअनुसार एनसेलका ग्राहकले टेलिभिजन, फ्रिज र वासिङ मेसिन जस्ता विद्युतीय उपकरण खरिद गर्दा थप ५, ८ वा १२ प्रतिशतसम्म extra (अतिरिक्त) छुट प्राप्त गर्न सक्नेछन्। ग्राहकले पाउने अतिरिक्त छुटको दर उनीहरूले प्रयोग गरिरहेको एनसेलको प्याक वा रेन्टल प्याकमा आधारित हुनेछ।
एक कार्यक्रमका बीच एनसेलका प्रोडक्ट डाइरेक्टर ललित शारदा र सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङको उपस्थितिमा यस सहकार्यलाई औपचारिकता दिइएको हो।
सहकार्यबारे बोल्दै एनसेलका प्रोडक्ट डाइरेक्टर ललित शारदाले भने, “एनसेलमा हामी केवल कनेक्टिभिटीमा मात्र सीमित नरही ग्राहकलाई थप सुविधा र लाभ दिन चाहन्छौँ। चाडपर्वको खुसीयालीमा सामसङसँगको यो सहकार्यले हाम्रा ग्राहकलाई गुणस्तरीय विद्युतीय सामान किन्दा ठूलो बचत गराउनेछ।”
कसरी लिने छुट?
यो सुविधा लिनका लागि एनसेलका ग्राहकले सर्वप्रथम आफ्नो एनसेल एप (Ncell App) मा जानुपर्नेछ। एपभित्र रहेको ‘पार्टनर्ड सर्भिसेज’ (Partnered Services) सेक्सनमा गएर आफू छुटका लागि योग्य भए/नभएको जाँच्न सकिनेछ।
त्यसपछि ग्राहकले नेपालभर रहेका सामसङका जुनसुकै आधिकारिक शोरुम तथा बिक्री केन्द्रमा गई सामान खरिद गर्दा उक्त अतिरिक्त छुटको लाभ लिन सक्नेछन्।
