काठमाडौं — गुगलले एन्ड्रोइड (Android) प्रयोगकर्ताहरूलाई ठगी (Scam) र privacy उल्लङ्घनबाट जोगाउन कृत्रिम बौद्धिकता (AI) मा आधारित नयाँ सुरक्षा फिचरहरू सार्वजनिक गरेको छ। अब एन्ड्रोइड फोनहरूले गुगलको अत्याधुनिक एआई मोडल जेमिनाई (Gemini) को प्रयोग गरी शङ्कास्पद तथा ठगी नियतका म्यासेजहरूबारे प्रयोगकर्तालाई पूर्वसूचना (Warning) दिनेछन्।
गुगल म्यासेज (Google Messages) एपभित्र रहने ‘स्क्याम डिटेक्सन’ (Scam Detection) नामक नयाँ सेटिङ अन गरेपछि जेमिनाई एआईले पठाउने व्यक्तिको वास्तविक नियत पहिचान गर्नेछ। उदाहरणका लागि यदि कसैले गलत नम्बरमा म्यासेज पठाएर कुराकानी अघि बढाउन खोजेमा वा प्रयोगकर्ताको नाम र व्यक्तिगत विवरण माग्न थालेमा एआईले त्यसलाई ‘शङ्कास्पद’ मान्दै तुरुन्तै सचेत गराउनेछ।
निजी गोपनीयता र डेटा सुरक्षा
सुरक्षा र गोपनीयताका दृष्टिले गुगलले म्यासेजहरूको विश्लेषण ‘प्राइभेट एआई कम्प्युट’ (Private AI Compute) मार्फत गर्ने जनाएको छ। यस प्रविधिले म्यासेजहरूलाई पूर्ण रूपमा इन्क्रिप्ट (Encrypt) गरी एक सुरक्षित स्थानमा प्रोसेस गर्दछ जहाँ गुगल स्वयंको पनि पहुँच रहने छैन।
यसैगरी मेसेजमा आउने कुनै पनि लिङ्क सुरक्षित छ कि छैन भनेर जाँच्न ‘जेमिनाई नानो’ (Gemini Nano) ले डिभाइसभित्रै विश्लेषणात्मक अध्ययन गर्नेछ। यो फिचर गुगल पिक्सल १० प्लस, सामसङ ग्यालेक्सी एस२६ सिरिज, ग्यालेक्सी जेड फ्लिप र ग्यालेक्सी फोल्ड ८ लगायतका नयाँ र सीमित स्मार्टफोनहरूमा उपलब्ध हुनेछ। फोनमा सेभ नभएका नम्बरहरूबाट आउने लिङ्कहरूमा क्लिक गर्नुअघि प्रयोगकर्तालाई थप जानकारी र सोच्ने समय दिने गरी चेतावनीको ढाँचामा पनि परिमार्जन गरिएको छ।
विभिन्न ब्रान्डका स्मार्टफोनमा विस्तार
यसअघि पिक्सल डिभाइसमा मात्र परीक्षणका रूपमा सञ्चालन गरिएको यो प्रविधि अब अन्य ब्रान्डका फोनहरूमा पनि विस्तार गरिँदैछ। म्यासेज खोल्नुअघि नै नोटिफिकेसनमै स्क्यामको चेतावनी पाइने भएकाले प्रयोगकर्ता ठगिनबाट जोगिनेछन्। गुगलका अनुसार साओमी (Xiaomi), ओप्पो (OPPO), भिभो (vivo), वानप्लस (OnePlus), रियलमी (realme), मोटोरोला र अनर जस्ता अग्रणी स्मार्टफोन निर्माताहरूसँग मिलेर यो फिचर यसै वर्षको अन्त्यसम्ममा अन्य डिभाइसमा पनि उपलब्ध गराइनेछ।
स्क्रिन सेयरिङ र कल फर्वाडिङमा थप कडा सुरक्षा
एन्ड्रोइड १५ (Android 15) वा सोभन्दा नयाँ भर्सनका स्मार्टफोनमा यो महिनाको अन्त्यदेखि ‘अटोमेटिक स्क्रिन-सेयरिङ प्राइभेसी’ लागू हुनेछ। स्क्रिन सेयर गरिरहेको समयमा गुगल क्रोम वा एन्ड्रोइड वेबभ्यू खुला भएमा पासवर्ड, बैंकिङ विवरण र क्रेडिट कार्डका गोप्य कोडहरू स्वतः लुक्नेछन्।
यस्तै डिसेम्बरको सुरुदेखि पिक्सल र अन्य केही छनोट गरिएका स्मार्टफोनहरूमा ‘कल फर्वाडिङ प्रोटेक्सन’ उपलब्ध हुनेछ। यसले कुनै पनि एपलाई प्रयोगकर्ताको अनुमतिविना ब्याकग्राउन्डमा कल फर्वाड गर्न दिने छैन। यदि कुनै ठग वा स्क्यामरले प्रयोगकर्तालाई कोड हाल्न लगाएर कल फर्वाड गराउने प्रयास गरेमा एन्ड्रोइडले तुरुन्तै चेतावनी दिनेछ।
फर्जी बैंकिङ कल रोक्न ब्राजिलमा सफल प्रयोग
बैंकका कर्मचारी बनेर गरिने ठगी (Bank Impersonation) रोक्न गुगलले ब्राजिलका बैंकहरूसँग सहकार्य गरी विशेष परीक्षण गरेको थियो। एन्ड्रोइडले आउने कलहरूको आधिकारिकता जाँच गर्छ र फर्जी पाइएमा कल स्वतः काटेर प्रयोगकर्तालाई सचेत गराउँछ।
गत जुन महिनामा यो फिचर सुरु भएयता ३० लाखभन्दा बढी नक्कली कलहरू ब्लक भइसकेको गुगलले जनाएको छ। यो प्रविधि अन्य देशहरूमा कहिले लागू हुन्छ भन्ने यकिन नभए पनि आगामी दिनमा थप अन्तर्राष्ट्रिय बैंकहरूसँग सहकार्य गर्दै जाने गुगलको योजना छ।
