काठमाडौं — युट्युब म्युजिकले आफ्नो प्लेटफर्ममा उपलब्ध गीतहरू आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी बनाइएको हो वा होइन भनेर स्पष्ट पार्न नयाँ लेबल (ट्याग) प्रविधि भित्र्याएको छ। एआई प्रविधिको प्रयोग बढेसँगै डिजिटल प्लेटफर्महरूमा कम गुणस्तरका एआई निर्मित गीत/सङ्गीतको बाढी आइरहेका बेला युट्युबले प्रयोगकर्तालाई वास्तविक र मेसिन निर्मित सङ्गीत पहिचान गर्न सहज बनाउने उद्देश्यले यो फिचर ल्याएको हो।
नयाँ अपडेटअनुसार अब एआईको प्रयोग गरी तयार पारिएका गीतको शीर्षक (ट्याक नेम) मुनि प्रस्ट देखिने गरी ‘AI’ लेखिएको क्याप्सुल आकारको लेबल राखिनेछ। यो लेबल पूर्ण रूपमा एआईले नै सिर्जना गरेका गीतहरूका साथै भोकल वा सङ्गीतको मुख्य भाग बनाउन एआई मोडल प्रयोग गरिएका सामग्रीहरूमा पनि देखिनेछ। युट्युबका अनुसार गीत वा सङ्गीत निर्माणमा एआईले महत्त्वपूर्ण भूमिका खेलेका हरेक ट्र्याकमा यो ट्याग अनिवार्य रूपमा देखा पर्नेछ।
यो फिचर प्रयोगकर्तामैत्री बनाइएको छ। प्रयोगकर्ताले उक्त ‘AI’ लेबलमा क्लिक गर्दा एउटा नयाँ मेनु खुल्नेछ, जहाँ उक्त गीतमा एआईको प्रयोग कसरी र कुन हदसम्म गरिएको छ भन्ने विस्तृत जानकारी उपलब्ध हुनेछ। यस जानकारीका आधारमा प्रयोगकर्ताले उक्त गीत निरन्तर सुन्ने वा नसुन्ने भन्ने निर्णय आफैं लिन सक्नेछन्। युट्युबको मुख्य भिडियो प्लेटफर्ममा एआई सामग्रीलाई जसरी छुट्टै जनाइन्छ, युट्युब म्युजिकमा पनि सोही अनुरूप सफा र सहज ढाँचा अपनाइएको छ।
कम्पनीका अनुसार युट्युबको मुख्य एपमा रहेका म्युजिक भिडियो र अन्य सम्बन्धित सामग्रीहरूमा पनि चाँडै नै यस्तै खालको एआई लेबल लागू गरिनेछ।
पछिल्लो समय डिजिटल सङ्गीतको दुनियाँमा गुणस्तरहीन एआई सामग्री नियन्त्रण गर्ने प्रयास गर्ने युट्युब म्युजिक मात्र एक्लो प्लेटफर्म भने होइन। अर्को लोकप्रिय सङ्गीत स्ट्रिमिङ प्लेटफर्म ‘स्पोटिफाइ’ (Spotify) ले नक्कली वा एआई निर्मित कलाकारहरूलाई लेबल गर्न थालिसकेको छ भने ‘डिजार्ड’ (Deezer) ले एआई-निर्मित गीतहरूलाई स्वतः फिल्टर गर्ने प्रणाली लागू गरिसकेको छ। युट्युबको यो कदमले वास्तविक सङ्गीतकार र श्रोता दुवैको अधिकार संरक्षणमा सहयोग पुग्ने विश्वास लिइएको छ।
