काठमाण्डौं — नेपालमा पाँचौं पुस्ताको मोबाइल प्रविधि (5G) सम्बन्धी बहस र चासो पछिल्लो समय उल्लेखनीय रूपमा बढिरहेको छ। यद्यपि 5G लाई प्राय “छिटो इन्टरनेट” को रूपमा मात्र बुझ्ने प्रवृत्ति देखिन्छ यसको वास्तविक दायरा त्यसभन्दा धेरै व्यापक छ। 5G केवल गति वृद्धिसम्म सीमित नभई डिजिटल सेवा, उद्योग, स्वास्थ्य, शिक्षा तथा सार्वजनिक सेवा प्रणालीमा दीर्घकालीन रूपान्तरण ल्याउने आधारभूत प्रविधिका रूपमा स्थापित हुँदै गएको छ।
यस सन्दर्भमा 5G को संरचना र कार्यान्वयन मोडेल बुझ्नु अत्यन्त आवश्यक छ। अन्तर्राष्ट्रिय अभ्यासअनुसार 5G मुख्यत दुई ढाँचामा सञ्चालनमा ल्याइन्छ Non-Standalone (NSA) र Standalone (SA)। NSA मोडेलमा विद्यमान 4G पूर्वाधारलाई आधार बनाएर 5G सेवा विस्तार गरिन्छ जसले प्रारम्भिक चरणमा छिटो र कम लागतमा सेवा सुरू गर्न सहयोग पुर्याउँदछ। विपरीत रूपमा SA मोडेल पूर्ण रूपमा स्वतन्त्र 5G नेटवर्कमा आधारित हुन्छ जसले उच्च कार्यसम्पादन, न्यून विलम्बता (low latency) र उन्नत सेवाहरूको सम्भावना खोल्दछ।
नेपालका लागि यी दुई मोडेलमध्ये कुन रणनीति अपनाउने भन्ने विषय केवल प्राविधिक निर्णय नभई नीतिगत प्राथमिकतासँग जोडिएको मुद्दा हो। उपलब्ध पूर्वाधार, लगानी क्षमता, बजारको माग तथा दीर्घकालीन डिजिटल लक्ष्यलाई ध्यानमा राख्दै उपयुक्त मार्ग छनोट गर्नु आवश्यक देखिन्छ। यही कारणले 5G कार्यान्वयनलाई स्पष्ट नीति, चरणबद्ध योजना र बहु पक्षीय सहकार्यको आधारमा अघि बढाउनु आजको आवश्यकता बनेको छ।
5G के हो र NSA तथा SA बीचको फरक
पाँचौं पुस्ताको मोबाइल प्रविधि 5G लाई धेरैले केवल “छिटो इन्टरनेट” का रूपमा बुझ्ने गर्दछन् तर यसको वास्तविक शक्ति नेटवर्कको बनावट (architecture) र कार्यक्षमतामा आधारित हुन्छ। 5G को उद्देश्य केवल डाउनलोड स्पीड बढाउनु होइन सम्पूर्ण नेटवर्कलाई अझ छिटो, स्थिर र सक्षम बनाउनु हो।
5G ले तीन मुख्य सुधार ल्याउँदछ। पहिलो, उच्च डेटा स्पीड जसले ठूलो फाइल, भिडियो वा अनलाइन सेवा छिटो चलाउन सहयोग गर्दछ। दोस्रो, न्यून विलम्बता (low latency) जसले डेटा पठाउँदा हुने ढिलाइ अत्यन्त कम गर्दछ जसका कारण real time सेवा जस्तै अनलाइन गेम, टेलिमेडिसिन वा स्वचालित प्रणालीहरू प्रभावकारी हुन्छन्। तेस्रो, एकैपटक ठूलो संख्यामा उपकरणहरू नेटवर्कमा जोड्न सक्ने क्षमता जसले IoT (Internet of Things) जस्ता प्रविधिलाई सम्भव बनाउँदछ।
यसैले 5G लाई केवल गति बढाउने प्रविधि नभई भविष्यका डिजिटल सेवा र स्मार्ट प्रणालीहरू सञ्चालन गर्ने आधारभूत पूर्वाधारका रूपमा बुझ्नु पर्दछ।
5G कार्यान्वयनका लागि हाल दुई प्रमुख मोडेल प्रयोगमा छन् Non-Standalone (NSA) र Standalone (SA)।
NSA मोडेलमा 5G सेवा विद्यमान 4G पूर्वाधारकै आधारमा सञ्चालन हुन्छ। यसमा 4G LTE नै मुख्य “anchor” का रूपमा रहन्छ जसले नेटवर्कको control र mobility जस्ता महत्वपूर्ण कार्यहरू सम्हाल्दछ । 5G भने मुख्यत डेटा ट्रान्सफर र उच्च गतिको सेवा उपलब्ध गराउन प्रयोग हुन्छ। यस कारण NSA मोडेलमा सेवा सुरू गर्न सहज र कम लागत लाग्ने भए पनि यसले पूर्ण 5G क्षमताहरू प्रदान गर्न सक्दैन।
यसको विपरीत SA मोडेल पूर्ण रूपमा स्वतन्त्र 5G संरचनामा आधारित हुन्छ। यसमा 5G core network र 5G radio (NR) मात्र प्रयोग गरिन्छ र 4G मा कुनै निर्भरता रहँदैन। यस्तो संरचनाले अत्यन्त न्यून विलम्बता, network slicing जस्ता उन्नत प्रविधि र ठूलो स्तरको IoT (Internet of Things) सेवा सम्भव बनाउँछ। त्यसैले SA लाई 5G को पूर्ण र दीर्घकालीन रूप मानिन्छ।
किन NSA बाट सुरु गरिन्छ?
विश्वका अधिकांश देशहरूले 5G सेवा विस्तारको प्रारम्भिक चरणमा Non-Standalone (NSA) मोडेललाई प्राथमिकता दिएका छन्। यसको प्रमुख कारण विद्यमान 4G पूर्वाधारको उपयोग गर्न सकिनु हो। पहिले नै स्थापना भइसकेको LTE नेटवर्कलाई आधार बनाएर 5G सेवा थप्न सकिने भएकाले नयाँ संरचना निर्माणमा लाग्ने समय र लागत दुवै घट्दछ।
NSA मोडेलले दूरसञ्चार सेवा प्रदायकलाई तुलनात्मक रूपमा कम लगानीमै 5G सेवा सुरू गर्ने अवसर दिन्छ। यसले बजारमा छिटो प्रवेश गर्न, प्रयोगकर्ताको माग परीक्षण गर्न तथा प्रारम्भिक अनुभव संकलन गर्न सहज बनाउँछ। विशेषगरी विकासोन्मुख देशहरूका लागि यो मोडेल व्यावहारिक विकल्पका रूपमा देखिएको छ।
तर NSA लाई दीर्घकालीन समाधानका रूपमा हेर्न सकिँदैन। यसमा 4G मा निर्भरता रहने भएकाले 5G का पूर्ण क्षमताहरू जस्तै अत्यन्त न्यून विलम्बता (ultra-low latency), उन्नत नेटवर्क सेवा र ठूलो स्तरका नयाँ प्रयोगहरू सम्पूर्ण रूपमा प्राप्त हुँदैनन्। त्यसैले NSA लाई 5G कार्यान्वयनको संक्रमणकालीन चरण (transitional phase) का रूपमा लिइन्छ जहाँबाट क्रमश पूर्ण Standalone (SA) मोडेलतर्फ अघि बढ्ने अपेक्षा गरिन्छ।
SA किन आवश्यक छ?
5G को वास्तविक क्षमता र उपयोगिता पूर्ण रूपमा प्राप्त गर्न Standalone (SA) मोडेल अपरिहार्य मानिन्छ। NSA मोडेलले प्रारम्भिक सेवा विस्तारमा सहयोग गरे पनि 5G का उन्नत प्रयोग र दीर्घकालीन सम्भावनाहरू SA बिना सम्भव हुँदैनन्।
SA संरचनाले अत्यन्त न्यून विलम्बता (ultra-low latency) र उच्च विश्वसनीयता भएको नेटवर्क उपलब्ध गराउँछ जुन नयाँ पुस्ताका डिजिटल सेवाहरूका लागि आधारभूत आवश्यकता हो। यही कारणले औद्योगिक स्वचालन (Industry 4.0), रोबोटिक्स, स्मार्ट सिटी, टेलिमेडिसिन तथा स्वचालित यातायात प्रणाली जस्ता क्षेत्रमा 5G को प्रभावकारी प्रयोग SA मार्फत मात्रै सम्भव हुन्छ।
त्यस्तै ठूलो संख्यामा उपकरणहरू एकैपटक नेटवर्कमा जोडिने “Massive IoT” वातावरण निर्माण गर्न पनि SA आवश्यक हुन्छ। यस्ता सेवाहरूमा स्थिर, छिटो र न्यून ढिलाइ भएको कनेक्सन अनिवार्य हुन्छ जुन NSA मोडेलबाट पूर्ण रूपमा उपलब्ध हुन सक्दैन।
यसैले SA लाई 5G को अन्तिम र पूर्ण रूपका रूपमा हेरिन्छ जसले डिजिटल अर्थतन्त्र र प्रविधिमै आधारित सेवाहरूलाई नयाँ स्तरमा पुर्याउने क्षमता राख्दछ।
अन्तर्राष्ट्रिय अभ्यास र सिकाइ
विश्वका विभिन्न देशहरूले 5G कार्यान्वयनमा फरक फरक रणनीति अपनाए पनि समग्र प्रवृत्ति चरणबद्ध रूपान्तरणतर्फ उन्मुख देखिन्छ। अमेरिका र युरोपेली देशहरूले प्रारम्भमा Non-Standalone (NSA) मोडेलमार्फत सेवा सुरू गरी क्रमश Standalone (SA) तर्फ रूपान्तरण गरिरहेका छन्। यसले प्रारम्भिक लगानी घटाउने र छिटो सेवा विस्तार गर्ने अवसर दिएको छ।
यसको विपरीत चीनले ठूलो सरकारी लगानी र स्पष्ट नीतिगत निर्देशनका आधारमा छिटो Standalone (SA) नेटवर्क विस्तार गरेको उदाहरण प्रस्तुत गरेको छ। उता दक्षिण कोरियाले पनि सुरुवाती चरणमा NSA रोलआउट गरी त्यसपछि क्रमिक रूपमा SA विस्तार गर्ने रणनीति अपनाएको देखिन्छ।
यी अनुभवहरूले केही स्पष्ट सिकाइ प्रदान गर्दछन्। पहिलो, प्रारम्भिक चरणमा NSA मोडेल व्यावहारिक र प्रभावकारी हुन्छ। दोस्रो, दीर्घकालीन रूपमा पूर्ण 5G क्षमताका लागि SA नै अन्तिम लक्ष्य हुनुपर्दछ। र तेस्रो, सफल कार्यान्वयनका लागि सरकार र निजी क्षेत्रबीचको समन्वय, सहकार्य र स्पष्ट नीति निर्देशन अत्यन्त आवश्यक हुन्छ।
नेपालमा अहिलेको अवस्था
नेपालमा पाँचौं पुस्ताको मोबाइल सेवा (5G) विस्तारको तयारी भइरहेका बेला विद्यमान चौथो पुस्ताको मोबाइल नेटवर्क (4G) यसको प्रमुख आधारका रूपमा स्थापित देखिएको छ। हाल देशभर ४ हजारभन्दा बढी 4G साइटहरू सञ्चालनमा रहेका छन् जसले करिब ७५ प्रतिशत भूभागमा पहुँच पुर्याएको छ भने प्रयोगकर्ताको पहुँच पनि झन्डै ६० प्रतिशत आसपास रहेको अनुमान छ। यद्यपि सेवाको गुणस्तर, स्थिरता र समान पहुँचका पक्षमा अझै सुधार आवश्यक रहेको देखिन्छ।
प्राविधिक रूपमा हेर्दा 5G को प्रभावकारी कार्यान्वयनका लागि 4G पूर्वाधार बलियो हुनु अनिवार्य मानिन्छ। 5G सिग्नल उच्च फ्रिक्वेन्सीमा आधारित हुने भएकाले यसको दायरा छोटो र भवनभित्र प्रवेश क्षमता तुलनात्मक रूपमा कमजोर हुन्छ। यस्तो अवस्थामा 4G नेटवर्कले coverage gap पूरा गर्दै प्रयोगकर्तालाई निरन्तर कनेक्सनमा राख्ने भूमिका खेल्दछ।
यही कारणले विश्वका धेरै देशहरूले प्रारम्भिक चरणमा अपनाएको Non-Standalone (NSA) मोडेल नेपालका लागि पनि उपयुक्त विकल्पका रूपमा देखिएको छ। यस मोडेलमा 5G नेटवर्क 4G core सँग जोडिन्छ जहाँ control र mobility जस्ता कार्यहरू 4G ले सम्हाल्छ भने 5G ले डेटा स्पीड बढाउने काम गर्दछ। यसले विद्यमान पूर्वाधारकै उपयोग गर्दै कम लगानीमा छिटो सेवा सुरू गर्न सकिने अवस्था सिर्जना गर्दछ।
साथै 5G सिग्नल कमजोर भएको वा उपलब्ध नभएको अवस्थामा उपकरणहरू स्वत 4G मा फर्किने (fallback) प्रणालीले सेवा निरन्तरता कायम राख्दछ। यसले call drop, नेटवर्क अवरोध र प्रयोगकर्ताको अनुभवमा आउने समस्या कम गर्न मद्दत गर्दछ।
आर्थिक दृष्टिले पनि 4G पूर्वाधारको उपयोगले 5G rollout को लागत र जटिलता घटाउँछ। नयाँ संरचना पूर्ण रूपमा निर्माण गर्नुको सट्टा विद्यमान नेटवर्कलाई सुधार र विस्तार गर्दै अघि बढ्न सकिने भएकाले यो दूरसञ्चार सेवा प्रदायकका लागि व्यवहारिक विकल्प हो। विशेषगरी हाल सेवा प्रदायकहरूको आम्दानीमा दबाब रहेको अवस्थामा यस्तो रणनीति अझ उपयुक्त देखिन्छ।
यसैबीच NSA कार्यान्वयनले बजारको वास्तविक माग परीक्षण गर्ने, प्रयोगकर्ताको प्रतिक्रिया बुझ्ने तथा भविष्यका लगानी र विस्तार योजनालाई स्पष्ट बनाउने अवसर पनि प्रदान गर्दछ। तर विज्ञहरूका अनुसार 4G को गुणस्तर र स्थिरता सुधार नगरी 5G मा हतार गर्नु दीर्घकालीन रूपमा प्रभावकारी नहुन सक्छ।
यसैले नेपालको सन्दर्भमा 5G को सफल कार्यान्वयनका लागि 4G पूर्वाधार सुदृढीकरणलाई प्राथमिकतामा राख्दै चरणबद्ध रूपमा NSA बाट सुरु गरेर अगाडि बढ्नु आवश्यक देखिन्छ।
सरकारका लागि मार्गनिर्देशन
नेपालमा ५जी (5G) प्रविधिलाई केवल ‘दूरसञ्चार सेवाको स्तरोन्नति’ का रूपमा मात्र नभई ‘समग्र डिजिटल अर्थतन्त्रको आधारस्तम्भ’ का रूपमा लिनु अत्यावश्यक छ। स्पष्ट नीति, दीर्घकालीन दृष्टिकोण र समन्वित कार्यान्वयन बिना यसको पूर्ण लाभ हासिल गर्न सकिँदैन।
५जीको सफल कार्यान्वयनका लागि सरकारले निम्न बुँदाहरूमा ध्यान दिनु जरुरी छ:
स्पष्ट ५जी (5G) रोडम्यापको निर्माण:
पहिलो चरणमै स्पष्ट मार्गचित्र (Roadmap) तयार गर्नुपर्दछ। जसमा हालको संरचना अर्थात् ‘Non-Standalone (NSA)’ बाट पूर्ण ५जी अर्थात् ‘Standalone (SA)’ तर्फ जाने रूपान्तरण योजना र यथार्थपरक समयसीमा तोकिनुपर्दछ। यसले लगानी, पूर्वाधार विकास र सेवा विस्तारलाई सही दिशा निर्देशन गर्दछ।
सन्तुलित र लगानीमैत्री स्पेक्ट्रम (फ्रिक्वेन्सी) नीति:
दूरसञ्चार सेवा प्रदायकहरूलाई वहन गर्न सक्ने सस्तो दरमा वा शुरुवाती चरणका केही बर्ष निशुल्क र त्यसपछी प्रतिशतको हिसावमा स्पेक्ट्रम उपलब्ध गराउनुपर्दछ। साथै दीर्घकालीन लाइसेन्सिङको विषयमा स्पष्टता दिनुपर्दछ। स्पेक्ट्रमको उच्च लागतले सेवा विस्तारमा अवरोध ल्याउने हुँदा लगानीको वातावरण सहज बनाउन सन्तुलित नीतिको आवश्यकता पर्दछ।
पूर्वाधार साझेदारी (Infrastructure Sharing) मा प्रोत्साहन:
कम्पनीहरूले छुट्टाछुट्टै पूर्वाधार बनाउनुभन्दा टावर साझेदारी र फाइबर नेटवर्कको साझा प्रयोगलाई उच्च प्राथमिकतामा राख्नुपर्दछ। यसले दूरसञ्चार कम्पनीहरूको लागत उल्लेख्य रूपमा घटाउनुका साथै सेवा विस्तारलाई पनि द्रुत बनाउँछ। यसका लागि सरकारले नीतिगत सहजीकरण गरिदिनुपर्दछ।
प्रयोगमा आधारित (Use-Case Driven) कार्यान्वयन:
५जीको वास्तविक उपयोगिता र फाइदाको परीक्षण गर्न ‘पाइलट परियोजना’हरू सञ्चालन गर्नुपर्दछ। विशेषगरी स्मार्ट सिटी, ई-हेल्थ (डिजिटल स्वास्थ्य) र ई-एजुकेसन (डिजिटल शिक्षा) जस्ता क्षेत्रमा यसको प्रयोगलाई परीक्षण र विस्तार गर्दै लैजानुपर्दछ।
नियामक लचकता (Regulatory Flexibility) र स्यान्डबक्स:
नयाँ प्रविधि र नवप्रवर्तनलाई परीक्षण गर्न नियामक निकाय लचिलो हुनुपर्दछ। यसका लागि ‘स्यान्डबक्स (Sandbox)’ जस्ता व्यवस्थाहरू सुनिश्चित गर्नुपर्दछ जसले नीतिगत जोखिम कम गर्दै नयाँ र सिर्जनशील समाधानहरू खोज्न र लागू गर्न मद्दत गर्दछ।
माथि उल्लेखित रणनीतिक र व्यावहारिक उपायहरू अपनाएर अघि बढेमा ५जी केवल ‘प्रविधिको विस्तार’ मा मात्र सीमित नरही सिङ्गो नेपालको डिजिटल रूपान्तरणको बलियो आधार बन्न सक्नेछ।
दूरसञ्चार सेवा प्रदायकका लागि मार्गनिर्देशन
नेपालमा 5G सेवा विस्तारका क्रममा दूरसञ्चार सेवा प्रदायकहरूले अल्पकालीन र दीर्घकालीन रणनीतिबीच सन्तुलन कायम गर्दै अघि बढ्नु आवश्यक देखिन्छ। प्रारम्भिक चरणमा बजार, पूर्वाधार र लगानीको अवस्था विचार गर्दै चरणबद्ध कार्यान्वयन नै उपयुक्त हुन्छ।
सबैभन्दा पहिले Non-Standalone (NSA) मोडेलमार्फत सेवा सुरू गर्नु व्यवहारिक विकल्पका रूपमा देखिन्छ। यसले विद्यमान 4G LTE नेटवर्कको अधिकतम उपयोग गर्न सहयोग पुर्याउँदछ र विशेषगरी सहरी क्षेत्रमा छिटो 5G सेवा विस्तार गर्न सहज बनाउँदछ। यसरी प्रारम्भिक लगानी नियन्त्रण गर्दै बजारको माग र प्रयोगकर्ताको व्यवहार बुझ्न सकिन्छ।
यससँगै दीर्घकालीन लक्ष्यका रूपमा Standalone (SA) तर्फ क्रमिक रूपान्तरणको तयारी अनिवार्य हुन्छ। यसका लागि core network को आधुनिकीकरण, cloud-native architecture अपनाउने तथा नेटवर्कलाई लचिलो र स्केलेबल बनाउने कार्य प्राथमिकतामा राख्नुपर्दछ। यसले भविष्यका उन्नत सेवाहरूका लागि आधार तयार गर्दछ।
सेवा प्रदायकहरूले प्रयोगमा आधारित (use-case driven) समाधान विकासमा पनि ध्यान दिनुपर्ने हुन्छ। उद्योग, व्यवसाय तथा विभिन्न क्षेत्रसँग सहकार्य गर्दै enterprise समाधानहरू विकास गर्नुले नयाँ आम्दानीका स्रोत खोल्न सक्दछ र 5G को वास्तविक उपयोगिता स्थापित गर्न मद्दत पुर्याउँदछ।
अन्ततः लागत व्यवस्थापन (cost optimization) पनि उत्तिकै महत्वपूर्ण पक्ष हो। पूर्वाधार साझेदारी (infrastructure sharing) र विभिन्न आपूर्तिकर्तासँग सहकार्य (vendor diversification) मार्फत खर्च घटाउँदै सेवा विस्तारलाई दिगो बनाउनु आवश्यक हुन्छ।
यस प्रकारको रणनीतिले 5G कार्यान्वयनलाई केवल प्रविधि विस्तारमा सीमित नराखी दीर्घकालीन व्यावसायिक र प्राविधिक सफलतामा रूपान्तरण गर्न सहयोग पुर्याउनेछ।
नेपालका लागि उपयुक्त बाटो
नेपालमा ५जी प्रविधिको सफल कार्यान्वयनका लागि एकैपटक पूर्ण रूपमा (Full-scale) लागू गर्नुभन्दा देशको वर्तमान पूर्वाधार, लगानी क्षमता र बजारको अवस्थालाई मध्यनजर गर्दै चरणबद्ध (Phased) रणनीति अपनाउनु सबैभन्दा व्यावहारिक र प्रभावकारी हुन्छ।
यसका लागि निम्न अनुसारको तीन चरणको मार्गचित्र उपयुक्त देखिन्छ:
पहिलो चरण (अल्पकालीन):
NSA मोडेलबाट सुरुवात : प्रारम्भिक चरणमा हाल विद्यमान 4G पूर्वाधारमै आधारित रहेर ‘Non-Standalone (NSA)’ मोडेलमार्फत ५जी सेवा सुरु गर्नु सबैभन्दा उत्तम विकल्प हो। यसले गर्दा नयाँ पूर्वाधारमा धेरै खर्च नगरी छोटो समयमै ५जी सेवा विस्तार गर्न र प्रारम्भिक लागतलाई नियन्त्रणमा राख्न मद्दत पुग्दछ।
दोस्रो चरण (मध्यकालीन) :
नेटवर्क सुधार र अनुकूलन (Hybrid Network Optimization) : सुरुवाती विस्तारपछि 4G र 5G नेटवर्कबीचको समन्वयलाई मजबुत बनाउन ध्यान केन्द्रित गर्नुपर्दछ। यस चरणमा नेटवर्कको क्षमता, स्थिरता र कार्यसम्पादन (Performance) अभिवृद्धि गरिन्छ। यसले उपभोक्तालाई उत्कृष्ट इन्टरनेट अनुभव प्रदान गर्नुका साथै पूर्ण ५जी तर्फको यात्राको लागि बलियो आधार तयार गर्दछ।
तेस्रो चरण (दीर्घकालीन):
पूर्ण ५जी (Standalone – SA) मा रूपान्तरण : अन्तिम र मुख्य लक्ष्य भनेको पूर्ण रूपमा ‘Standalone (SA)’ ५जी नेटवर्कको विस्तार हुनुपर्दछ। यसले मात्र ५जीका वास्तविक सुविधाहरू जस्तै: अत्यन्त न्यून विलम्बता (Ultra-low Latency) र अत्याधुनिक डिजिटल सेवाहरूलाई पूर्ण रूपमा सञ्चालन गर्ने क्षमता राख्दछ।
चरणबद्ध रणनीतिका मुख्य फाइदाहरू:
नेपाल जस्तो विकासोन्मुख अर्थतन्त्र भएको देशमा ५जी (5G) जस्तो अत्याधुनिक प्रविधि एकैपटक पूर्ण रूपमा लागू गर्दा ठूलो आर्थिक भार पर्न सक्दछ । त्यसैले ‘चरणबद्ध र सन्तुलित रणनीति’ (Phased Strategy) अपनाउनु नै सबैभन्दा बुद्धिमानीपूर्ण कदम हुन्छ।
लागत नियन्त्रण (Cost Control): सुरुवातमै ठूलो पुँजी लगानी गर्नुको साटो आवश्यकता र प्रतिफलको आधारमा बिस्तारै लगानी बढाउँदै लैजान सकिन्छ। यसले समग्र पूर्वाधार निर्माण र सञ्चालन खर्चलाई सन्तुलनमा राख्न सघाउँदछ।
जोखिम न्यूनीकरण (Risk Mitigation): नयाँ प्रविधि भित्र्याउँदा आउन सक्ने प्राविधिक समस्या र बजारको अनिश्चितता (व्यावसायिक जोखिम) लाई चरणबद्ध परीक्षणमार्फत समयमै पहिचान गरी कम गर्न सकिन्छ।
भविष्यको पूर्वतयारी (Future Readiness): विस्तारै पूर्ण ५जी (SA) तर्फ जाँदा बजार, उपभोक्ता र उद्योगहरूलाई नयाँ प्रविधि बुझ्न र आत्मसात् गर्न समय मिल्दछ। यसले भविष्यमा आउने अत्याधुनिक डिजिटल सेवाहरू सञ्चालनका लागि बलियो र परिपक्व आधार खडा गर्दछ।
संक्षेपमा भन्नुपर्दा यो रणनीतिले नेपालको दूरसञ्चार क्षेत्रलाई आर्थिक जोखिमबाट बचाउँदै सुरक्षित र दिगो रूपमा ५जी युगमा प्रवेश गर्न सुनिश्चित गर्दछ।
निचोड
पाँचौँ पुस्ताको मोबाइल प्रविधि अर्थात् ५जी (5G) लाई केवल ‘इन्टरनेटको गति बढाउने माध्यम’ मात्र ठान्नु साँघुरो बुझाइ हो। यथार्थमा यो प्रविधि समग्र डिजिटल अर्थतन्त्रलाई विस्तार गर्ने, सेवा प्रणालीलाई आधुनिकीकरण गर्ने र राष्ट्रिय विकासलाई नयाँ उचाइमा पुर्याउने एक शक्तिशाली ‘प्लेटफर्म’ हो।
सुरुवाती चरणमा ‘Non-Standalone (NSA)’ मोडेल अपनाउँदा हालकै पूर्वाधारको अधिकतम उपयोग भई ५जी सेवाको सुरुवात सहज, सस्तो र द्रुत हुन्छ। तर ५जीका वास्तविक र अत्याधुनिक क्षमताहरूको पूर्ण उपयोग गर्न दीर्घकालीन रूपमा पूर्ण ५जी अर्थात् ‘Standalone (SA)’ मोडेलतर्फको रूपान्तरण अनिवार्य छ। अर्थात् NSA एउटा भरपर्दो खुड्किलो हो भने SA अन्तिम गन्तव्य हो।
तसर्थ नेपालले स्पष्ट नीतिगत दिशानिर्देश, चरणबद्ध कार्यान्वयनको रणनीति र सरकार तथा निजी क्षेत्रबीच बलियो सहकार्य सुनिश्चित गर्नुपर्दछ। यसो हुन सकेमा ५जी केवल एउटा ‘टेलिकम अपग्रेड’ मा मात्र सीमित रहने छैन यसले देशको डिजिटल रूपान्तरणलाई तीव्र बनाउँदै आर्थिक विकास, नवप्रवर्तन (Innovation) र नागरिक सेवा प्रवाहमा युगान्तकारी परिवर्तन ल्याउने सुनिश्चित छ।