Tekmandu

गुगल सर्च बक्समा २५ वर्षयताकै ठूलो परिवर्तन, अब खोज्ने तरिका पूरै बदलिने

काठमाण्डौं — विगत २५ वर्षदेखि हाम्रो कम्प्युटर र मोबाइल स्क्रिनमा देखिने गुगलको चिरपरिचित सेतो सर्च बक्स अब पहिले जस्तो रहेन। गुगलले आफ्नो चर्चित सर्च बक्सको डिजाइन पूर्ण रुपमा परिवर्तन गर्दै यसलाई ‘किवर्ड’ मात्र राख्ने ठाउँबाट एआई (AI) सँग प्रत्यक्ष कुराकानी गर्न मिल्ने स्मार्ट प्लेटफर्ममा परिणत गरेको छ।

गुगलको वार्षिक ‘आई/ओ’ (I/O) डेभलपर कन्फरेन्समा कम्पनीले यो ऐतिहासिक घोषणा गरेको हो। नयाँ अपडेटसँगै अब गुगल सर्च बक्समा केही शब्द टाइप गर्नुको सट्टा टेक्स्ट, फोटो, पीडीएफ (PDF), भिडियो र क्रोम ट्याब (Chrome tabs) समेत राखेर सर्च गर्न सकिनेछ। यसका साथै कम्पनीले आफ्नो ‘एआई ओभरभ्युज’ (AI Overviews) र ‘एआई मोड’ (AI Mode) फिचरलाई एउटै सर्च फ्लोमा गाभेको छ। जसले गर्दा प्रयोगकर्तालाई परम्परागत सर्च नतिजा हेर्ने कि एआईतर्फ जाने भनेर रोजिरहनु पर्ने झन्झट हुनेछैन।

प्रेस ब्रिफिङमा गुगल सर्चकी भाइस प्रेसिडेन्ट (VP) तथा प्रमुख लिज रिडले भनिन्, “२५ वर्षअघि सुरु भएयता हाम्रो आइकोनिक सर्च बक्समा गरिएको यो नै सबैभन्दा ठूलो अपग्रेड हो।”

यसपटक गुगलले नयाँ जेमिनी (Gemini) मोडल, स्पार्क (Spark) नामक पर्सनल एआई एजेन्ट, इन्टेलिजेन्ट सपिङ कार्ट र नयाँ डेभलपर प्लेटफर्म पनि सार्वजनिक गरेको छ। तर यी सबैको केन्द्रमा सर्च बक्सकै नयाँ अवतारलाई महत्त्वपूर्ण मानिएको छ।

सर्च बक्सले आफैं सिकाउनेछ कसरी प्रश्न सोध्ने

पहिलेको सर्च बक्सले प्रयोगकर्तालाई दुई वा तीनवटा शब्द मात्र राख्न (Brevity) प्रेरित गर्दथियो। तर अब यो बक्स आफैं फराकिलो भएर प्रयोगकर्ताका लामा र जटिल प्रश्नहरू अटाउने भएको छ।

अहिले गुगलले अटो कम्प्लिट (Autocomplete) भन्दा एक कदम अघि बढेर एआईमा आधारित क्विरी सजेसन (Query suggestion) ल्याएको छ। यसले प्रयोगकर्तालाई जटिल र विस्तृत प्रश्नहरू कसरी तयार पार्ने भनेर गाईड गर्नेछ।  एआई मोड  उपलब्ध भएका सबै देश र भाषाहरूमा यो नयाँ सर्च बक्स तत्कालै लागू हुँदैछ।

अब एआई ओभरभ्युज एआई मोड एकैठाउँमा

गुगलले ‘एआई ओभरभ्युज’ (सर्च नतिजाको माथि आउने एआई सारांश) र ‘एआई मोड’ (कुराकानीको शैलीमा सर्च गर्न मिल्ने फिचर) लाई एउटै अनुभवमा ल्याउँदैछ। मंगलबारबाट विश्वभरका मोबाइल र डेस्कटपमा यो फिचर सुरु भएको छ । अब प्रयोगकर्ताले प्रश्न सोध्दा परम्परागत नतिजासँगै एआई ओभरभ्यु देख्नेछन् र त्यहीँबाट सीधै  एआई मोड  मा गएर थप प्रश्नहरू सोध्न सक्नेछन्। यसका लागि छुट्टै पेज वा इन्टरफेसमा गइरहनु पर्दैन।

लिज रिडका अनुसार धेरैजसो प्रयोगकर्ताहरू एआई मोड खोज्दै छुट्टै जान चाहँदैनन्। “उनीहरु आफूलाई बानी परेको सर्च बक्समै जान चाहन्छन् र त्यहीँबाट उत्कृष्ट अनुभव पाउन चाहन्छन्,” उनले भनिन्।

सर्च गर्ने तरिका बदलिँदै, प्रयोगकर्ताको संख्यामा रेकर्ड

गुगलले विनाकारण आफ्नो मुख्य प्रडक्टको डिजाइन परिवर्तन गरेको भने पक्कै होइन। आई/ओ २०२५ मा अमेरिकामा लन्च भएको  एआई मोडले पहिलो वर्षमै एक अर्ब मन्थ्ली युजर (Monthly users) पार गरेको छ भने यसमा आउने प्रश्न (क्विरी) हरेक त्रैमासिकमा दोब्बर भइरहेका छन्। त्यस्तै  एआई ओभरभ्युजका मासिक प्रयोगकर्ता साढे दुई अर्बभन्दा बढी पुगेका छन्। समग्रमा गुगलको सर्च भोल्युमले गत त्रैमासिकमा हालसम्मकै उच्च बिन्दु छोएको छ।

गुगलका सीईओ (CEO) सुन्दर पिचाईले यी तथ्याङ्क प्रस्तुत गर्दै मानिसहरुले एआई फिचर पाउँदा झन् धेरै सर्च गरिरहेको बताए। उनले भने  “सर्च अब व्यक्तिगत प्रश्नहरूमा मात्र सीमित छैन। यो एउटा निरन्तर कुराकानी जस्तो भएको छ जसले प्रयोगकर्तालाई गहिरो जानकारी दिनुका साथै इन्टरनेटको विशाल संसारसँग जोड्छ।”

जेमिनी ३.फ्ल्यास, नयाँ सर्चको मुख्य इन्जिन

यो सम्पूर्ण नयाँ सर्च अनुभव गुगलको सबैभन्दा नयाँ एआई मोडल ‘जेमिनी ३.५ फ्ल्यास’ (Gemini 3.5 Flash) मा चल्नेछ। गुगलको दाबी छ कि यो मोडल अघिल्लो ‘जेमिनी ३.१ प्रो’ (Gemini 3.1 Pro) भन्दा झण्डै सबै बेन्चमार्कमा अगाडि छ र यसले चार गुणा छिटो आउटपुट टोकन (Output tokens) दिन सक्छ। आर्टिफिसियल एनालाइसिस इन्डेक्स (Artificial Analysis index) मा यसको प्रदर्शन निकै छिटो र सटिक देखिएको सीईओ पिचाईले जानकारी दिए। दैनिक अर्बौं प्रश्नको उत्तर दिनुपर्ने सर्च इन्जिनका लागि यो गति निकै महत्त्वपूर्ण हुन्छ।

सर्चमै बन्नेछन् कस्टम मिनी एप्स इन्टरएक्टिभ भिजुअल

नयाँ अपडेटसँगै गुगल सर्चले अब टेक्स्ट मात्र नभई ‘जेनेरेटिभ यूआई’ (Generative UI) मार्फत रियल टाइममा कस्टम विजेट र अन्तर्क्रियात्मक भिजुअल (Interactive visuals) बनाउन सक्नेछ। उदाहरणका लागि  ‘ब्ल्याक होलले स्पेस टाइमलाई कसरी असर गर्छ?’ भनेर सोध्दा गुगलले त्यसलाई बुझाउने थ्रीडी वा इन्टरएक्टिभ भिजुअल आफैं तयार पारेर देखाउनेछ। गुगल डिपमाइन्ड (Google DeepMind) सँगको सहकार्यमा बनेको यो रियल टाइम कोड जेनेरेसन सिस्टम यो गर्मीयाम (Summer) देखि नि शुल्क आउँदैछ।

त्यति मात्र होइन  ‘एन्टिग्र्याभिटी’ (Antigravity) प्लेटफर्मको प्रयोग गरी प्रयोगकर्ताले बिना कुनै कोडिङ कस्टम मिनी एप्सहरु (जस्तै: बिहेको योजना बनाउने वा फिटनेस ट्र्याक गर्ने) बनाउन सक्नेछन्। यो फिचर आगामी महिनाहरूमा अमेरिकामा ‘गुगल एआई प्रो’ (Google AI Pro) र ‘अल्ट्रा’ (Ultra) प्रयोगकर्ताका लागि सार्वजनिक हुनेछ।

इन्टरनेट मनिटर गर्न ‘इन्फर्मेसन एजेन्ट’

गुगलले अब ‘इन्फर्मेसन एजेन्ट’ (Information agents) पनि ल्याउँदैछ। यी एआई एजेन्टले दिनरात (२४/७) इन्टरनेट मनिटर गर्नेछन्। प्रयोगकर्ताले कुनै निश्चित सेयर बजारको अवस्था वा नयाँ जुत्ताको रिलिज जस्ता विषय ट्र्याक गर्न यसलाई सेट गर्न सक्छन्। सर्त पूरा हुनासाथ यी एजेन्टले रियल टाइम डेटासहित नोटिफिकेसन पठाउनेछन्।

यो कदम गुगलको ठूलो रणनीतिको हिस्सा हो जहाँ उसले प्रश्नको उत्तर मात्र दिने नभई प्रयोगकर्ताको तर्फबाट आफैं काम गरिदिने एआई सिस्टममा लगानी गरिरहेको छ। गुगल क्लाउड (Google Cloud) मा चल्ने ‘जेमिनी स्पार्क’ (Gemini Spark), युनिभर्सल कार्ट (Universal Cart) र एजेन्ट पेमेन्ट्स प्रोटोकल (Agent Payments Protocol) यसैका उदाहरण हुन्।

एसइओ, पब्लिसर विज्ञापनदातालाई नयाँ चुनौती

यो परिवर्तनले अनलाइन इकोसिस्टममा रहेका पब्लिसर, विज्ञापनदाता र एसइओ (SEO) प्रोफेसनलहरुलाई भने नयाँ वास्तविकताको सामना गर्न बाध्य बनाएको छ।

मानिसहरुले किवर्डको सट्टा पूरा वाक्यमा प्रश्न सोध्न थालेपछि किवर्डमा आधारित एसइओ रणनीतिहरुको महत्त्व घट्नेछ। गुगलले सर्च पेजमै एआईमार्फत सिधै उत्तर दिन थालेपछि न्युज पोर्टल तथा वेबसाइटहरुमा जाने ट्राफिक घट्ने जोखिम पब्लिसरहरुले देखेका छन्। यद्यपि  गुगलले भने एआई फिचरले पब्लिसरलाई अझ धेरै ट्राफिक पठाउने दाबी गर्दै आएको छ।

त्यसैगरी  विज्ञापनदाताहरूका लागि पनि कुराकानी शैलीको सर्चमा विज्ञापन कहाँ र कसरी देखाउने भन्ने प्रश्न जन्मिएको छ। यसबारे गुगलले ब्रिफिङमा विस्तृत जानकारी नदिए पनि विज्ञापनको मोडलमा ठूलो परिवर्तन आउने निश्चित छ।

१९० अर्ब डलरको लगानी भविष्य

अहिले गुगलका प्लेटफर्महरुले मासिक ३.२ क्वाड्रिलियन (Quadrillion) टोकन प्रोसेस गरिरहेका छन्  जुन एक वर्षअघिको तुलनामा सात गुणा बढी हो। यो विशाल एआई रुपान्तरणलाई सम्हाल्न गुगलले सन् २०२६ मा करिब १८० देखि १९० अर्ब डलर पुँजीगत खर्च गर्ने अनुमान गरेको छ। यो रकम ४ वर्षअघिको खर्च (३१ अर्ब डलर) भन्दा झण्डै ६ गुणा बढी हो।

विगत २५ वर्षसम्म गुगलको त्यही सेतो बक्सले विश्वलाई साना-साना  किवर्डमा सोच्न सिकायो। तर अब त्यसभित्रको ब्लिंकिङ कर्सरले मानिसहरुलाई पूरा वाक्यमा आफ्ना कुरा राख्न, फोटो र भिडियो अपलोड गर्न सिकाइरहेको छ। गुगलले मानिसको यो बानी बदलिनेछ भन्नेमा झण्डै १९० अर्ब डलरको ठूलो बाजी मारेको छ।

सम्बन्धित समाचार

एप्पल प्रयोगकर्ताको प्राइभेसीमाथि गम्भीर प्रश्न, ‘हाइड माई इमेल’ फिचरले नै चुहाइरहेको छ सक्कली इमेल

एप्पल प्रयोगकर्ताको प्राइभेसीमाथि गम्भीर प्रश्न, ‘हाइड माई इमेल’ फिचरले नै चुहाइरहेको छ सक्कली इमेल

काठमाडौं — एप्पलले आफ्ना प्रयोगकर्ताको अनलाइन पहिचान गोप्य राख्न ल्याएको 'हाइड माई इमेल' (Hide My Email) फिचरमा एउटा गम्भीर कमजोरी...
ह्वाट्सएपमा आउँदैछ ‘युजरनेम’ फिचर, तर सुरु नहुँदै किन बढ्यो नक्कली अकाउन्ट र ठगीको डर?

ह्वाट्सएपमा आउँदैछ ‘युजरनेम’ फिचर, तर सुरु नहुँदै किन बढ्यो नक्कली अकाउन्ट र ठगीको डर?

काठमाडौं — लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले यसै वर्षको अन्त्यतिर ल्याउन लागेको नयाँ 'युजरनेम' (username) फिचरले अहिले नै सुरक्षा चि...
‘इन्टरनेटका पिता’ भिन्टन सर्फको अवकाश घोषणा, दुई दशकपछि गुगललाई बिदाइ

‘इन्टरनेटका पिता’ भिन्टन सर्फको अवकाश घोषणा, दुई दशकपछि गुगललाई बिदाइ

काठमाडौं — इन्टरनेटको आधार बनेको टीसीपी/आईपी (TCP/IP) प्रोटोकल विकासमा निर्णायक भूमिका खेलेका तथा 'इन्टरनेटका पिता' का रूपमा परिचि...
नेपाली टेलिकममा ‘सब्स्क्रिप्सन’ मोडेलको भ्रम, बन्डलिङले ग्राहक बढायो, उद्योग किन बलियो भएन?

नेपाली टेलिकममा ‘सब्स्क्रिप्सन’ मोडेलको भ्रम, बन्डलिङले ग्राहक बढायो, उद्योग किन बलियो भएन?

काठमाडौं — नेपाल टेलिकम (NTC) ले ‘सजिलो अनलिमिटेड’ र ‘नमस्ते रिकरिङ’ जस्ता प्याकेज बजारमा ल्याएको छ। निजी क्षेत्रको एनसेल (Ncell) ...