Tekmandu

आँखाको थकान हटाउन मसाज गन प्रयोग गर्दा गम्भीर क्षति, युवाको रेटिना च्यातियो

काठमाण्डौं — स्कटल्यान्डका एक युवाले आँखाको थकान कम गर्ने अनौठो उपाय अपनाउँदा गम्भीर स्वास्थ्य समस्या भोग्नुपरेको घटना सार्वजनिक भएको छ। लामो समय स्क्रिन हेर्दा थाकेका आँखालाई आराम दिन उनले नियमित रूपमा मसाज गन  प्रयोग गरे  तर त्यसको परिणामस्वरूप दुवै आँखामा गम्भीर चोट लाग्यो।

२० वर्ष उमेर समूहका ती युवक एडिनबर्गस्थित एक आँखा उपचार केन्द्र पुगेपछि चिकित्सकहरूले घटनाबारे थाहा पाएका हुन्। उनले उपचारका क्रममा विगत छ दिनदेखि दाहिने आँखामा तैरिने धब्बा (फ्लोटर्स) देखिन थालेको र चम्किने बत्ती जस्ता संकेत देखिरहेको बताएका थिए।

बीएमजे केस रिपोर्टमा उल्लेख भएअनुसार ती युवाले दृष्टि समस्या सुरु हुनुअघि आँखामा वा टाउकोमा कुनै चोट नलागेको बताएका थिए। परिवारमा पनि कुनै वंशाणुगत आँखा रोगको इतिहास थिएन। सामान्य नजिकको दृष्टिदोष (नियर-साइटेडनेस) बाहेक उनलाई यसअघि आँखासम्बन्धी कुनै विशेष समस्या थिएन।

जब नेम ओ’कोनेल र अशरफ खान नामका आँखा विशेषज्ञहरूले विस्तृत परीक्षण गरे  उनीहरू स्वयं आश्चर्यमा परे। दाहिने आँखामा रेटिनाका धेरै ठाउँमा चिरा परेको, व्यापक रूपमा रेटिना चोटग्रस्त भएको तथा  रेटिनल डायलाइसिस  नामक अवस्था देखिएको थियो। यो अवस्था सामान्यतया गम्भीर आँखाको चोटपटकपछि मात्र देखिने गर्छ।

बायाँ आँखाको अवस्था पनि कम चिन्ताजनक थिएन। त्यहाँ व्यापक चोटका साथै रेटिनामा पूरा तहसम्म पुग्ने छ वटा चिरा भेटिएका थिए।

यस्तो क्षति कसरी भयो भन्ने प्रश्न उठेपछि चिकित्सकहरूले थप जानकारी मागे। सुरुमा स्पष्ट रूपमा केही नबताएका ती युवकले अन्ततः आफूले ‘पर्कसिभ मसाज गन ’ प्रयोग गरेर आँखाको थकान हटाउने प्रयास गरेको स्वीकार गरे। उनले गोलीको आकारको सानो टाउको भएको अट्याचमेन्ट प्रयोग गरेर तीन महिनासम्म हरेक हप्ता दुवै आँखामाथि र वरिपरि मसाज गन  चलाएको बताएका थिए।

चिकित्सकहरूका अनुसार मसाज गनबाट उत्पन्न हुने तीव्र कम्पन केही मांसपेशी र नरम ऊतकका लागि उपयोगी हुन सक्छ। यसले दुखाइ कम गर्न, रक्तसञ्चार सुधार गर्न र आरामको अनुभूति दिन सहयोग पुर्‍याउन सक्छ। तर आँखाजस्तो संवेदनशील अंगमा यसको प्रयोग अत्यन्त जोखिमपूर्ण हुन्छ।

उनीहरूको निष्कर्षमा मसाज गनकै कारण आँखामा देखिएको सम्पूर्ण क्षति भएको उल्लेख गरिएको छ। उपकरणको तीव्र दबाबले आँखाको गोलो भागलाई अचानक थिच्दा रेटिनामा चिरा पर्ने तथा अन्य संरचनागत क्षति हुने सम्भावना रहेको चिकित्सकहरूले बताएका छन्।

यो घटना वैज्ञानिक साहित्यमा पनि दुर्लभ मानिएको छ। चिकित्सकहरूका अनुसार यस प्रकारले आँखामा चोट लागेको घटना पहिलो पटक अभिलेख गरिएको हो।

समस्या पत्ता लागेपछि चिकित्सकहरूले लेजर उपचारमार्फत रेटिनाका चिरा र क्षति भएका भागहरू उपचार गरेका थिए। उपचारपछि गरिएको छ महिनाको अनुगमनमा युवाको अवस्था स्थिर रहेको पाइएको छ। गम्भीर दृष्टि गुम्ने जोखिम रहे पनि उनको दृष्टि जोगिएको चिकित्सकहरूले बताएका छन्।

चिकित्सकहरूको निष्कर्षमा समयमै उपचारका लागि अस्पताल पुगेकाले उनको दृष्टि बचाउन सम्भव भएको उल्लेख छ। लक्षण देखिएलगत्तै उपचार सुरु गरिएकाले सकारात्मक नतिजा प्राप्त भएको उनीहरूको भनाइ छ।

आँखाको थकान कम गर्न आराम, पर्याप्त निद्रा र आवश्यक परे विशेषज्ञको सल्लाह लिन सकिने भए पनि संवेदनशील अंगमा मसाज गनजस्ता शक्तिशाली उपकरण प्रयोग गर्नु गम्भीर जोखिमपूर्ण हुन सक्ने यो घटनाले देखाएको छ।

सम्बन्धित समाचार

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा ७ दिन थप, १८ टावर पुनः सञ्चालनमा

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा ७ दिन थप, १८ टावर पुनः सञ्चालनमा

काठमाडौं — एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रका नागरिकका लागि उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, ...
फेसबुक–इन्स्टाग्राममा अब दुई घण्टाको सीमा, मेटाले गर्‍यो १८ अर्ब डलरको सम्झौता

फेसबुक–इन्स्टाग्राममा अब दुई घण्टाको सीमा, मेटाले गर्‍यो १८ अर्ब डलरको सम्झौता

काठमाडौं —  फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाले अमेरिकाका अधिकांश राज्यहरूसँग करिब १८ अर्ब अमेरिकी डलर बराबरको ऐतिहासिक सम्...
एआई मोडलले आफैं रच्यो साइबर हमलाको तानाबाना, ओपनएआईको आधिकारिक प्रतिवेदन सार्वजनिक

एआई मोडलले आफैं रच्यो साइबर हमलाको तानाबाना, ओपनएआईको आधिकारिक प्रतिवेदन सार्वजनिक

काठमाडौं — आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको विकासमा विश्वमै अग्रणी मानिएको कम्पनी ओपनएआईले हालै भएको ‘हगिङ फेस’ (Hugging F...
भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतका लागि एनसेलद्वारा १ करोड सहयोग, ३ दिनसम्म सञ्चार सेवा निःशुल्क

भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतका लागि एनसेलद्वारा १ करोड सहयोग, ३ दिनसम्म सञ्चार सेवा निःशुल्क

काठमाडौं — रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनले १ करोड...