काठमाडौं — विश्वभर एआई, क्लाउड कम्प्युटिङ र डेटा केन्द्रित डिजिटल सेवाको विस्तारसँगै मोबाइल नेटवर्कमा नयाँ चुनौती थपिएको छ। बढ्दो डेटा ट्राफिक धान्न र भविष्यको ६जी प्रविधिको आधार तयार गर्न ‘अपर ६ गिगाहर्ज’ (यू६ गिगाहर्ज) स्पेक्ट्रम ब्यान्डलाई दूरसञ्चार क्षेत्रको नयाँ सम्भावनाका रूपमा हेरिन थालिएको छ।
६४२५ देखि ७१२५ मेगाहर्जसम्म फैलिएको यू६ गिगाहर्ज ब्यान्ड अहिले ५जी एड्भान्स्ड (५जी-ए) तथा प्रारम्भिक ६जी नेटवर्क डिजाइनको महत्वपूर्ण स्पेक्ट्रम तहका रूपमा स्थापित हुँदै गएको छ। परम्परागत मिड ब्यान्ड र मिलिमिटर वेभ फ्रिक्वेन्सीबीच रहेको यो ब्यान्डले फराकिलो ब्यान्डविथसँगै राम्रो कभरेज क्षमता प्रदान गर्ने भएकाले विशेषगरी घना सहरी क्षेत्रमा नेटवर्क क्षमता विस्तारका लागि उपयुक्त मानिएको छ।
विश्वव्यापी रूपमा एआई आधारित एप्लिकेसन, इमर्सिभ डिजिटल सेवा तथा अपलिङ्क केन्द्रित वर्कलोडको प्रयोग बढ्दै जाँदा अतिरिक्त मिड ब्यान्ड स्पेक्ट्रमको आवश्यकता पनि तीव्र रूपमा बढिरहेको छ। दूरसञ्चार उद्योगले यू६ गिगाहर्जलाई भविष्यको स्केलेबल मोबाइल ब्रोडब्यान्ड विस्तारका लागि प्रमुख आधार क्षेत्रका रूपमा हेर्न थालेको छ।
सन् २०२८ सम्म एआई बजार ६३१ अर्ब डलर नाघ्ने अनुमान
बजार अनुसन्धान संस्था आईडीसीका अनुसार विश्वव्यापी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बजार सन् २०२८ सम्म ६३१ अर्ब अमेरिकी डलरभन्दा माथि पुग्नेछ। यो अवधिमा वार्षिक औसत वृद्धि दर (सीएजीआर) २७ प्रतिशत रहने अनुमान गरिएको छ।
सफ्टवेयर तथा सूचना सेवा, बैंकिङ र रिटेल क्षेत्रले यो वृद्धिको नेतृत्व गर्ने अपेक्षा गरिएको छ। यी क्षेत्रको संयुक्त बजार आकार सन् २०२८ सम्म करिब २२२ अर्ब डलर पुग्ने प्रक्षेपण छ।
एआईको प्रयोग सफ्टवेयर प्लेटफर्म, वित्तीय सेवा र खुद्रा व्यापार क्षेत्रमा तीव्र रूपमा बढेसँगै नेटवर्कमार्फत उत्पादन र प्रशोधन हुने डेटाको मात्रा पनि उल्लेखनीय रूपमा बढिरहेको छ। इन्टेलिजेन्ट असिस्टेन्ट, अटोमेटेड डिसिजन इन्जिन र जेनेरेटिभ कन्टेन्ट प्लेटफर्मजस्ता प्रणालीहरू क्लाउड आधारित प्रोसेसिङमा निर्भर रहने भएकाले मानवबाट क्लाउड तथा एआई टु एआई सञ्चारको मात्रा लगातार विस्तार भइरहेको छ।
यूएईले सुरु गर्यो विश्वकै पहिलो व्यावसायिक यू६ गिगाहर्ज नेटवर्क
सन् २०२६ मा संयुक्त अरब इमिरेट्स (यूएई) यू६ गिगाहर्ज नेटवर्कलाई व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने विश्वकै पहिलो देश बनेको छ।
टेलिकम्युनिकेसन्स एन्ड डिजिटल गभर्मेन्ट रेगुलेटरी अथोरिटी (टीडीआरए) को नेतृत्वमा सञ्चालन गरिएको यस परियोजनामा हुवावे, डु, ई&, जीएसएमए, नोकिया, अनर, टोजेड र सामेना टेलिकम्युनिकेसन्स काउन्सिललगायतका साझेदार सहभागी छन्।
यूएईले बढ्दो एआई आधारित ट्राफिक र डेटा माग व्यवस्थापन गर्न यो कदम चालेको हो। यसले देशलाई स्पेक्ट्रम प्रयोगमा विश्व अग्रणी बनाउने मात्र होइन, ‘१० गिगाबिट इन्टेलिजेन्ट नेसन’ बन्ने लक्ष्यतर्फ पनि अघि बढाएको बताइएको छ।
उद्योगले ‘गोल्डेन स्पेक्ट्रम’ को नाम दिएको यू६ गिगाहर्ज ब्यान्डलाई थ्रीजीपीपीले ब्यान्ड एन१०४ का रूपमा परिभाषित गरेको छ। यसमा उपलब्ध ७०० मेगाहर्ज निरन्तर ब्यान्डविथले उच्च क्षमता र फराकिलो कभरेजबीच सन्तुलन कायम गर्छ।
उद्योगका अनुमानअनुसार ५जी एड्भान्स्ड नेटवर्कमा यू६ गिगाहर्ज प्रयोग गर्दा डाउनलिङ्क गति १० गिगाबिट प्रति सेकेन्डसम्म र अपलिङ्क गति करिब १ गिगाबिट प्रति सेकेन्डसम्म पुग्न सक्छ।
किन महत्वपूर्ण छ यू६ गिगाहर्ज ?
प्रारम्भिक ५जी नेटवर्क मुख्यत डाउनलिङ्क केन्द्रित थियो जहाँ प्रयोगकर्ताले डेटा डाउनलोड गर्ने आवश्यकता बढी हुन्थ्यो। तर ५जी एड्भान्स्डको अवधारणाले अपलिङ्क र डाउनलिङ्क दुवै दिशाको सन्तुलित कार्यसम्पादनलाई प्राथमिकता दिएको छ।
यसको मुख्य कारण एआई नेेटिभ नेटवर्क संरचना हो। थ्रीजीपीपी रिलिज १८ अन्तर्गत एआई र मेसिन लर्निङलाई कोर नेटवर्क, आरएएन तथा एयर इन्टरफेसमा समावेश गर्ने मापदण्ड विकास गरिएको छ। यसमा मोडेल ट्रान्सफर, डिस्ट्रिब्युटेड इन्फरेन्स र फेडेरेटेड लर्निङजस्ता प्रविधि समावेश छन्।
यसअघि एआई तथा मेसिन लर्निङ सम्बन्धी परियोजनाहरू मुख्यत नेटवर्क अटोमेसन र डेटा सङ्कलनमा केन्द्रित थिए। तर अब एआई आधारित एप्लिकेसनले वास्तविक समयमै ठूलो मात्रामा डेटा अपलोड गर्नुपर्ने भएकाले अपलिङ्क क्षमताको महत्व बढ्दै गएको छ।
३.५ गिगाहर्जलाई प्रतिस्थापन होइन, पूरक
यू६ गिगाहर्जलाई हाल सञ्चालनमा रहेका ५जी स्पेक्ट्रमको विकल्पका रूपमा नभई पूरक तहका रूपमा विकास गरिएको बताइन्छ।
विश्वका ६० भन्दा बढी देशले ३.३ देखि ४.२ गिगाहर्ज दायराको ३.५ गिगाहर्ज ब्यान्डलाई ५जी सेवाका लागि बाँडफाँट गरिसकेका छन्। यो ब्यान्ड अझै पनि ५जी क्षमताको मुख्य आधार मानिन्छ।
तर डेटा माग निरन्तर बढिरहेकाले केवल ३.५ गिगाहर्जमै निर्भर रहँदा भविष्यमा क्षमता विस्तारमा सीमितता आउन सक्ने उद्योगको विश्लेषण छ। यही कारण यू६ गिगाहर्जजस्ता अतिरिक्त स्पेक्ट्रम तह आवश्यक मानिएको हो।
एआईले बढाउँदैछ अपलिङ्कको महत्व
हुवावेका अनुसार मल्टिमोडल एआई, रियल टाइम निर्णय प्रणाली र क्लाउड आधारित इन्फरेन्सका कारण एआई एप्लिकेसनहरूले परम्परागत सेवाको तुलनामा ३ देखि ५ गुणासम्म बढी अपलिङ्क ट्राफिक सिर्जना गरिरहेका छन्।
कम्पनीले विकसित गरेको यू६ गिगाहर्ज समाधानले ४०० मेगाहर्जसम्मको ब्यान्डविथ, उन्नत ईएलएए-आधारित एएयू आर्किटेक्चर तथा म्याक्रो, माइक्रो र इनडोर स्मल सेल प्रणालीबीचको समन्वयमार्फत उच्च क्षमताको नेटवर्क निर्माण सम्भव भएको जनाएको छ।
उद्योगको विश्लेषणले एआई ग्लासेज, सधैं सक्रिय रहने इन्टेलिजेन्ट एजेन्ट तथा क्लाउड आधारित एआई सेवाका कारण अपलिङ्क ट्राफिक तीव्र गतिमा बढ्ने देखाएको छ। यस्ता एप्लिकेसनले सक्रिय अवस्थामा प्रति सत्र करिब १.४ मेगाबिट प्रति सेकेन्ड र लामो समय सञ्चालन हुँदा करिब ०.१४ मेगाबिट प्रति सेकेन्डको निरन्तर अपलिङ्क ट्राफिक उत्पन्न गर्न सक्छन्।
५जी एड्भान्स्ड र ६जीबीचको पुल
विशेषज्ञहरूका अनुसार यू६ गिगाहर्ज केवल अतिरिक्त क्षमता थप्ने स्पेक्ट्रम मात्र होइन ५जी एड्भान्स्डबाट ६जीतर्फको संक्रमणलाई सहज बनाउने महत्वपूर्ण माध्यम पनि हो।
भविष्यमा एआई सक्षम आईओटी डिभाइस, स्वचालित सवारीसाधन, एक्सआर प्लेटफर्म तथा क्लाउड इन्टेलिजेन्समा आधारित सेवाहरूको प्रयोग बढ्दै जाँदा अपलिङ्क ट्राफिक अझ तीव्र हुने अपेक्षा गरिएको छ। डिभाइसहरूले निरन्तर डेटा पठाउने, क्लाउडले त्यसलाई प्रशोधन गर्ने र पुन सुधारिएको सूचना फिर्ता पठाउने चक्रले नेटवर्क संरचनालाई नयाँ ढंगले परिभाषित गर्नेछ।
यसले भविष्यको मोबाइल नेटवर्क डिजाइन स्थिर क्षमताभन्दा बढी अनुकूली इन्टेलिजेन्समा आधारित हुनुपर्ने संकेत गरेको छ। यही परिप्रेक्ष्यमा यू६ गिगाहर्जलाई आगामी एआई-नेेटिभ कनेक्टिभिटी युगको आधारभूत पूर्वाधारका रूपमा हेरिन थालेको छ।
