काठमाडौं — विज्ञान कथाका फिल्महरूमा जस्तै प्रविधिले मानव जीवनलाई नयाँ मोडमा पुर्याएको अर्को एउटा तथ्य बाहिर आएको छ। वैज्ञानिकहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडलको प्रयोग गरेर पूर्ण रूपमा नयाँ जीवित भाइरसहरू तयार पारेका छन्।
प्रतिष्ठित जर्नल ‘साइन्स’ मा प्रकाशित र द न्युयोर्क टाइम्सले पहिलोपटक छापेको अध्ययन अनुसार वैज्ञानिकहरूले एआईको मद्दतमा ब्याक्टेरियालाई संक्रमित गर्न र त्यसभित्रै आफ्नो वंशवृद्धि गर्नसक्ने भाइरसहरू बनाएका हुन्।
यो खोज जीन थेरापी र बायोटेक्नोलोजीको क्षेत्रमा नयाँ क्रान्ति ल्याउन सक्ने खालको छ। तर गलत हातमा पर्दा यसले निम्त्याउन सक्ने जोखिमलाई लिएर वैज्ञानिक जगतमै ठूलो चिन्ता सुरु भएको छ।
कसरी बन्यो एआई भाइरस?
क्यालिफोर्नियास्थित पालो अल्तोको ‘आर्क इन्स्टिच्युट’ र ‘स्ट्यानफोर्ड युनिभर्सिटी’का शोधकर्ताहरूले ‘इभो १’ (Evo 1) र ‘इभो २’ (Evo 2) नामका जिनेाम ल्याङ्ग्वेज मोडल प्रयोग गरेर यी भाइरस सिर्जना गरेका हुन्।
हामीले प्रयोग गर्ने च्याटजीपीटी वा क्लोड जस्ता लार्ज ल्याङ्ग्वेज मोडल (LLM) ले इन्टरनेटका टेक्स्ट र किताबबाट भाषा सिक्छन्। तर इभो मोडलले भने खर्बौँ ‘न्यूक्लियोटाइड्स’ (डिएनए बनाउने आधारभूत तत्व) को अध्ययन गरेर आनुवंशिक कोड (जेनेटिक कोड) को भाषा वा व्याकरण सिकेको थियो।
परीक्षणका क्रममा टोलीले मुख्यगरी ‘ई-कोलाई’ (E. coli) ब्याक्टेरियालाई मात्र संक्रमित गर्ने ‘Phi X-174’ प्रजातिका १५ हजार भाइरसको डेटा दिएर मोडललाई थप तालिम दिएको थियो। वैज्ञानिकहरूले मानिस, अन्य जनावर, बिरुवा वा ढुसी (fungi) लाई असर गर्नसक्ने कुनै पनि तत्वलाई यस अध्ययनबाट पूर्ण रूपमा बाहिर राखेका थिए।
तथ्याङ्क अनुसार इभो मोडलले करिब ७ लाख सम्भावित नयाँ भाइरसको डिजाइन तयार पारेको थियो। तीमध्ये वैज्ञानिकहरूले सबैभन्दा बढी सम्भावना भएका २८५ वटा डिजाइन छाने, तिनको डिएनए प्रयोगशालामा बनाएर ब्याक्टेरियाभित्र प्रवेश गराए। नतिजा स्वरूप १६ वटा डिजाइनले पूर्ण रूपमा काम गर्ने जीवित भाइरस बनाए। तीमध्ये केही भाइरस त प्राकृतिक भाइरसभन्दा पनि तीव्र गतिमा फैलिन सक्ने क्षमताका थिए।
वरदान कि विनाशको संकेत?
परमाणु ऊर्जा जस्तै एआईको यो क्षमता पनि दुईधारी तरवार बनेको छ। सही ठाउँमा प्रयोग हुँदा यसले जीन थेरापीमा सुधार ल्याउने, जेनोमलाई अझ राम्ररी बुझ्न सघाउने र हानिकारक ब्याक्टेरियालाई नष्ट गर्ने नयाँ प्रविधि विकास गर्न मद्दत पुर्याउँछ। कडा नियम र नैतिक दायराभित्र रहेर काम गर्दा यो प्रविधि मानव जातिका लागि ठूलो वरदान हुनसक्छ।
चिन्ताको विषय भनेको विद्यमान फितलो नियमन हो। यसअघि सामान्य च्याटबटहरूले समेत जैविक हतियार बनाउने योजनामा अप्रत्यक्ष सहयोग गर्नसक्ने देखिइसकेको छ। अब जेनोम नै डिजाइन गर्नसक्ने मोडल आफैँमा खतरनाक मोड हो। यसको उन्नत संस्करणको दुरुपयोग गरेर कसैले मानिसमा तीव्र रूपमा फैलिने वा ज्यानै लिने घातक भाइरस बनाउन सक्ने खतरा जीवन्त छ।
विज्ञान वा प्रविधि आफैँमा खराब हुँदैन। तर एआईले जैविक खतराहरूको वर्णन गर्ने ठाउँबाट सिधै तिनको डिजाइन गर्ने क्षमता बनाएपछि अब असल मान्छेले मात्र यसको प्रयोग गर्छन् भनेर बस्ने छुट कसैलाई छैन। प्रविधिको विकासको यो तीव्र रफ्तारलाई रोक्न वा नियन्त्रण गर्न हाम्रा नीति-नियम र सुरक्षा मापदण्डहरू समयमै तयार होलान् त? प्रश्न अहम् बनेको छ।
