काठमाडौं — गूगलको डिपमाइन्ड र गूगल रिसर्चले संयुक्त रूपमा विकास गरेको एआई मोडल ‘वेदरनेक्स्ट’ले आँधीबेहरीको पूर्वअनुमान गर्ने परम्परागत प्रणालीलाई पूर्ण रूपमा बदलिदिएको छ। उच्च प्रविधिसहितको यो मोडलले प्राकृतिक विपद्को सटीक भविष्यवाणी गरेपछि विश्वभरका मौसम वैज्ञानिकहरू अचम्ममा परेका छन्।
यो मोडलको असली परीक्षण अक्टोबर २०२५ मा भएको थियो, जब क्यारिबियन सागरमा एउटा शक्तिशाली समुद्री आँधी सिर्जना भयो। त्यसबेला संसारभरका पुराना मौसमी मोडलहरू आँधी कुन दिशातर्फ जान्छ भन्नेमा रनभुल्लमा थिए। केहीले यो कमजोर भएर हाइटीतिर जाने अनुमान गरेका थिए भने केहीले थप शक्तिशाली बन्दै जमैकातर्फ सोझिने आकलन गरिरहेका थिए।
तर वेदरनेक्स्टले सुरुमै आँधी झन् भयानक बन्दै जमैकातर्फ नै अघि बढ्ने स्पष्ट संकेत दियो। आँधी तटमा ठोकिनुभन्दा पाँच दिनअघि नै यो मोडलले ८० प्रतिशत विश्वासका साथ उक्त समुद्री आँधी ‘क्याटेगरी ५’ को रूपमा जमैका पुग्ने ठोकुवा गरेको थियो।
पछिल्लो समय ‘मेलिसा’ नाम दिइएको त्यो हरिकेनले जमैकामा ठूलो बाढी र पहिरो त ल्यायो, तर एआईले समयमै दिएको चेतावनीका कारण स्थानीय प्रशासनले पूर्वतयारी गर्न र सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न पायो। अमेरिकी राष्ट्रिय हरिकेन सेन्टरको इतिहासमा सुरुआती चरण (क्याटेगरी १) मा रहेको आँधी क्याटेगरी ५ सम्म पुग्छ भनेर यति धेरै दिनअघि नै सही अनुमान गरिएको यो पहिलो घटना थियो।
पूर्वसूचनामा २४ घण्टाको फड्को
विश्वविख्यात वैज्ञानिक पत्रिका ‘नेचर’मा बिहीबार प्रकाशित अनुसन्धान प्रतिवेदन अनुसार वेदरनेक्स्टले मौसमविद्हरूलाई साविकको भन्दा औसतमा एक दिनअगाडि नै सटीक सूचना दिन्छ। यसको सीधा अर्थ हुन्छ पहिलेका मोडलहरूले दुई दिनअघि गर्ने सही अनुमान यसले तीन दिनअघि नै गरिदिन्छ।
प्राकृतिक विपद् व्यवस्थापनमा यो अतिरिक्त २४ घण्टाको समय निकै निर्णायक मानिन्छ।
“विपद्को समयमा केही घण्टाको समयले पनि धेरैको ज्यान जोगाउन सक्छ,” अमेरिकी राष्ट्रिय हरिकेन सेन्टरका निर्देशक माइक ब्रेनान भन्छन्, “मानिसहरूलाई सुरक्षित स्थानमा सार्न, राहत सामग्री जुटाउन र उद्धार टोली तयार पार्न समय निकै महत्त्वपूर्ण हुन्छ। पूर्वानुमानको समय सीमालाई एक दिन अगाडि धकेल्न सक्नु आफैँमा ठूलो उपलब्धि हो।”
सामान्यतया पूर्वानुमानको समय सीमालाई एक दिन पछाडि लैजान वैज्ञानिकहरूलाई कम्तीमा एक दशकको निरन्तर अनुसन्धान र मिहिनेत लाग्ने गर्छ।
कम डाटाबाटै अचम्मको नतिजा
मेशिन लर्निङलाई भविष्यको सटीक अनुमान लगाउन ठूलो मात्रामा डाटा (ट्रेनिङ डाटा) चाहिन्छ। तर आँधीबेहरी जस्ता चरम वातावरणीय घटनाहरू दिनहूँ नहुने भएकाले यसको डाटा पाउन सधैँ कठिन हुन्छ।
डिपमाइन्डका अनुसन्धान वैज्ञानिक फेरान अलेटका अनुसार साइकलोनको डाटा थोरै भए पनि सामान्य मौसमको पर्याप्त डाटा उपलब्ध थियो। त्यसैले टोलीले यो मोडललाई सामान्य मौसमी फेरबदल र चक्रवात दुवैलाई एकसाथ बुझ्न सक्ने गरी तालिम दिएको थियो।
हरिकेनको भविष्यवाणी गर्नु प्रविधिको दुनियाँमा निकै जटिल मानिन्छ। आँधी कुन दिशातर्फ अघि बढ्दैछ भनेर थाहा पाउन विश्वव्यापी स्तरको वातावरणीय डाटा आवश्यक पर्छ भने आँधी कत्तिको तीव्र र घातक बन्दैछ भन्ने बुझ्न स्थानीय वायुमण्डल र समुद्रको सूक्ष्म डाटा चाहिन्छ।
अनुसन्धानमा संलग्न वैज्ञानिक केट मस्कग्राभका अनुसार यसअघिका एआई मोडलहरूले आँधीको बाटो सही अनुमान गरे पनि त्यसको तीव्रता मापन गर्न सक्दैनथे। तर वेदरनेक्स्टले यी दुवै काम एकसाथ गरेर देखायो।
अझ अचम्मको कुरा के छ भने परम्परागत मोडलहरूलाई उच्च गुणस्तरको (हाई रिसोल्युसन) डाटा चाहिन्छ। तर वेदरनेक्स्टले निकै तल्लो स्तरको (लो रिसोल्युसन) डाटा प्रयोग गरेरै यो चमत्कार देखाएको छ। यो कसरी सम्भव भयो भन्नेमा स्वयम् यसका निर्माताहरू पनि अहिलेसम्म प्रष्ट छैनन्।
“यो आखिर एउटा ‘ब्ल्याक बक्स’ नै हो,” अलेट भन्छन्, “तर यसले वायुमण्डलमा हामीले अझै नबुझेका धेरै कुराहरू भइरहेका छन् भन्ने स्पष्ट संकेत दिएको छ।”
हजारौँ सम्भावनाको सूक्ष्म विश्लेषण
यो एआई मोडलले एउटा मात्र अनुमान प्रस्तुत गर्दैन, बरु विकसित भइरहेको आँधीका हजारौँ सम्भावित परिदृश्यहरू एकैसाथ तयार पार्छ। यसले मौसमी प्रणालीमा हुने साना तिना परिवर्तनले पछि ल्याउन सक्ने ठूला असरहरूलाई समेत पहिल्याउन सजिलो बनाउँछ।
गत वर्ष यो मोडलले प्रतिआँधी ५० वटा सम्भावित परिदृश्य तयार गर्थ्यो भने अहिले यसले १,००० वटासम्म परिदृश्य सिर्जना गर्न सक्छ। विद्यमान कम्प्युटिङ क्षमताबाट पुराना मोडलमार्फत यति धेरै विश्लेषण गर्नु असम्भव जस्तै थियो।
यद्यपि विज्ञहरू प्रविधिलाई मात्रै सबैथोक मान्न तयार छैनन्। हरिकेन सेन्टरका निर्देशक माइक ब्रेनान एआईलाई एउटा आधुनिक औजार त मान्छन्, तर मानिसको विवेक र विशेषज्ञता अझै पनि उत्तिकै अपरिहार्य रहेको बताउँछन्। “समुद्री आँधी भनेको नक्सामा देखिने बाटो वा तीव्रता मात्र होइन,” उनी भन्छन्, “त्यसले जमिनमा कस्तो असर पार्छ भनेर बुझाउने काम विज्ञहरूकै हो, र मानिसको ज्यान त्यही व्यवस्थापनले जोगाउँछ।”
यसैबीच गूगल डिपमाइन्डले यो वेदरनेक्स्ट मोडललाई ‘ओपन सोर्स’ गर्ने घोषणा गरेको छ। अब संसारभरका अनुसन्धानकर्ताहरूले यसको निःशुल्क प्रयोग गर्न र यसलाई थप परिस्कृत बनाउन पाउनेछन्।
