काठमाण्डौ — आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रयोगले विश्वभर इन्टरनेटको मागलाई मात्र होइन, समुद्रमुनि बिछ्याइएका केवल सञ्जालको स्वरूपलाई नै बदल्न थालेको छ। हालै हवाईमा सम्पन्न ‘पीटीसी’ सम्मेलनमा सहभागी गुगल, मेटा र अन्य ठूला पूर्वाधार कम्पनीहरूले एआईका कारण सबसी केवल उद्योगमा ठूलो उथलपुथल आएको बताएका छन्।
एआईका लागि आवश्यक पर्ने विशाल डेटा प्रवाह (ब्यान्डविथ) लाई थेग्न अहिलेका पुराना केवल सञ्जालहरू अपर्याप्त हुन थालेपछि प्रविधि जायन्टहरू आफैँ समुद्रमुनि नयाँ ‘डाटा मार्ग’ बनाउन अर्बौँ डलर खन्याइरहेका छन्।
एआईले फेरिदियो प्राथमिकता
छलफलका क्रममा गुगलका ग्लोबल सबमारिन नेटवर्क निर्देशक नाइजेल बेलिफले डेटा सेन्टरहरू अब चिसो र बिजुलीको सुविधा भएका नर्डिक देशहरू (स्क्यान्डेभिया) तर्फ सर्दै गएको बताए। “डाटा सेन्टरलाई तातो देशबाट चिसो देशमा सार्नुभन्दा समुद्रमुनि केवल बिछ्याएर ती देशसम्म पुग्नु सस्तो र सजिलो छ,” उनले भने।
अहिले एआईका कारण प्रशान्त र आन्ध्र महासागरमा नयाँ रुटहरूको माग ह्वात्तै बढेको छ। पहिले टेलिकम कम्पनीहरूले मात्र केवल बिछ्याउने गरेकोमा अहिले गुगल र मेटा जस्ता कम्पनीहरू यस क्षेत्रको नयाँ ‘मालिक’ का रूपमा उदाएका छन्।
पुराना कम्पनी र नयाँ चुनौती
‘सदन क्रस केवल नेटवर्क’ (SCCN) का अध्यक्ष लाउरी मिलरका अनुसार २६ वर्ष पुराना केवल प्रणालीहरू अब काम नलाग्ने (End-of-life) अवस्थामा पुगेका छन्। पहिले टेलिकम कम्पनीहरूलाई सेवा दिने ‘थोक बिक्रेता’ (Wholesalers) हरू अहिले गुगल र मेटा जस्ता ‘हाइपरस्केलर’ को भर पर्नुपर्ने स्थिति आएको छ।
“पहिले एटिएन्टी (AT&T) जस्ता कम्पनीहरू बजारका राजा थिए, तर अहिले हाम्रा मुख्य ग्राहक ‘हाइपरस्केलर’ हरू हुन्,” मिलरले भने। यद्यपि, गुगल र मेटाले आफ्ना नयाँ केवलहरूमा अन्य व्यापारिक कम्पनीहरूलाई पनि ठाउँ दिने आश्वासन दिएका छन्।
प्रक्रियामा ढिलाइ र ‘डेडलाइन’ को पिरलो
मेटाका नेटवर्क इन्भेस्टमेन्ट निर्देशक निको रोहरिचले सबसी केवल परियोजनाहरू सम्पन्न हुन पहिलेभन्दा धेरै समय लाग्न थालेको गुनासो गरे। “पहिले १८ महिनामा सकिने कामलाई अहिले ४८ महिना (४ वर्ष) सम्म लाग्ने गरेको छ,” उनले भने।
लामो समय लाग्ने भएपछि मेटाले ५० हजार किलोमिटर लामो ‘प्रोजेक्ट वाटरवर्थ’ जस्ता विशाल आयोजनाहरूमा लगानी बढाएको छ, जसले पाँच महादेशलाई जोड्नेछ।
सुरक्षा र ‘क्रिटिकल इन्फ्रास्ट्रक्चर’ को बहस
सबसी केवलहरूलाई अहिले विश्वभर ‘अति महत्त्वपूर्ण पूर्वाधार’ (Critical Infrastructure) को रूपमा परिभाषित गर्न थालिएको छ। रुस र युक्रेन युद्धपछि समुद्रमुनिका केवलहरूको सुरक्षालाई लिएर युरोपेली युनियन र नाटो देशहरू चिन्तित छन्।
छलफलमा सहभागी विज्ञहरूले सरकारहरूले केवलको सुरक्षाका लागि जलसेना परिचालन गर्ने कुरा गरे पनि निजी क्षेत्रका अपरेटरहरूले यसमा सरकारी लगानी र स्पष्ट नीतिको माग गरेका छन्।
