काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष सार्वजनिक गरेको छ। आयोगका अनुसार टिकटकमा बालबालिकाका अकाउन्ट पूर्वनिर्धारित रूपमा सार्वजनिक (Public) हुने व्यवस्था भएकाले उनीहरूको गोपनीयता पर्याप्त रूपमा सुरक्षित हुन सकेको छैन।
आयोगले यसै साता टिकटकलाई आफ्नो प्रारम्भिक निष्कर्ष पठाउँदै बालबालिकासम्बन्धी कम्पनीको नीति Digital Services Act (DSA) ले तोकेको सुरक्षा मापदण्डअनुसार नभएको जनाएको हो।
आयोगका अनुसार टिकटकमा बालबालिकाले आफ्नो अकाउन्ट सार्वजनिक राख्न सक्ने व्यवस्था छ। यसले गर्दा प्लेटफर्मका जोसुकैले उनीहरूले पोस्ट गरेको सामग्री हेर्न सक्छन्। साथै टिकटकको हालको एल्गोरिदमले १६ देखि १७ वर्ष उमेर समूहका प्रयोगकर्ताको सामग्री For You फिडमार्फत अन्य प्रयोगकर्तालाई सिफारिस गर्ने व्यवस्था पनि राखेको छ।
यसले बालबालिकालाई अवाञ्छित सम्पर्क, साइबर बुलिङ तथा उनीहरूलाई लक्षित गर्न सक्ने व्यक्तिको जोखिममा पार्न सक्ने आयोगको भनाइ छ।
Digital Services Act अन्तर्गत बालबालिकाले प्रयोग गर्न सक्ने प्लेटफर्महरूले उच्च स्तरको गोपनीयता, सुरक्षा र संरक्षाको सुनिश्चितता गर्नुपर्ने व्यवस्था रहेको आयोगले स्मरण गराएको छ। तर टिकटकको हालको सेटिङले बालबालिकाका अकाउन्ट र सामग्रीलाई आवश्यकभन्दा धेरै सार्वजनिक बनाएको आयोगको निष्कर्ष छ।
टिकटकले आयोगको प्रारम्भिक निष्कर्षमा आफ्नो प्रतिक्रिया दिन पाउनेछ। तर यदि कम्पनीले Digital Services Act को पालना नगरेको ठहर भएमा उसलाई वार्षिक कुल आम्दानीको अधिकतम ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने आयोगले जनाएको छ।
समस्या समाधानका लागि आयोगले बालबालिकाका अकाउन्टको पूर्वनिर्धारित दृश्यता (Default Visibility) साथीहरू (Friends) मा मात्रै सीमित गर्न टिकटकलाई सिफारिस गरेको छ। साथै For You फिडमा बालबालिकाका अकाउन्टबाट प्रकाशित सामग्री सिफारिस गर्ने व्यवस्था पनि रोक्न सुझाव दिएको छ।
टिकटकमाथि युरोपेली आयोगले नियम उल्लंघन गरेको आरोप लगाएको यो पहिलो पटक भने होइन। यसअघि पनि कम्पनीले Infinite Scroll, Autoplay र Push Notifications जस्ता प्रयोगकर्तालाई लामो समयसम्म प्लेटफर्ममा राख्ने “Addictive Design” फिचर प्रयोग गरेको भन्दै आयोगले प्रश्न उठाएको थियो।
युरोपेली संघबाहिर पनि टिकटकमाथि नियामक निकायहरूको निगरानी बढिरहेको छ। बेलायतको नियामक संस्था Ofcom ले समेत टिकटकले बालबालिकासम्म हानिकारक सामग्री पुग्न नदिन पर्याप्त प्रभावकारी कदम चाल्न नसकेको निष्कर्ष सार्वजनिक गरिसकेको छ।
