काठमाण्डौं — आजको युगमा युद्धको परिभाषा पूर्ण रूपमा बदलिएको छ। अब रणभूमिमा ट्याङ्क र मिसाइलको गर्जन मात्र सुनिँदैन बरु एउटा यस्तो अदृश्य लडाइँ पनि लडिँदैछ जुन तपाईंको घरभित्र रहेको कम्प्युटर र मोबाइलसम्म पुग्न सक्छ। यसलाई नै ‘साइबर वारफेयर’ भनिन्छ।
एउटा कोठामा बसेको ह्याकरले कम्प्युटरको एउटा ‘क्लिक’ बाट कुनै पनि देशमा मिसाइल खसाले जत्तिकै विनाश निम्त्याउन सक्छ। हालै इरान र इजरायलबीच चलिरहेको द्वन्द्वमा पनि दुवै देशले एकअर्कामाथि व्यापक साइबर आक्रमण गरिरहेका छन् जसले यसलाई आधुनिक सैन्य रणनीतिको अभिन्न अंग बनाएको छ।
के हो साइबर युद्ध?
सामान्य अर्थमा कुनै पनि देशको डिजिटल प्रणाली र इन्टरनेट सञ्जालमाथि आक्रमण गरी अवरोध पुर्याउनु नै साइबर युद्ध हो। यसमा तालिमप्राप्त ह्याकरहरूले दुश्मन देशका संवेदनशील पूर्वाधारहरूलाई निशाना बनाउँछन्।
ह्याकरको निशानामा के पर्छन्?
- सरकारी नेटवर्क र डेटाबेस
- बैंकिङ प्रणाली र एटीएम सेवा
- विद्युत गृह (पावर ग्रिड) र खानेपानी आपूर्ति
- एयर ट्राफिक कन्ट्रोल र सञ्चार प्रणाली
- सैन्य सञ्चार सञ्जाल
किन गरिन्छ यस्तो आक्रमण?
युद्धको मुख्य उद्देश्य दुश्मनलाई शारीरिक र मानसिक दुवै रूपमा कमजोर बनाउनु हो। साइबर आक्रमणले भौतिक आक्रमणभन्दा बढी मनोवैज्ञानिक त्रास फैलाउँछ।
जब कुनै देशको विद्युत आपूर्ति ठप्प हुन्छ वा आपत्कालीन सेवाहरूले काम गर्न छाड्छन् तब आम जनतामा हाहाकार मच्चिन्छ। सैन्य सञ्चार प्रणाली ध्वस्त हुँदा सेनाले आफ्नै रक्षा गर्न समेत पाउँदैन। यसरी बिना कुनै भौतिक हतियार नै एउटा देशको अर्थतन्त्र र सुरक्षालाई पूर्ण रूपमा प्यारालाइज्ड (पक्षघात) गराउन सकिन्छ।
कसरी हुन्छ आक्रमण?
साइबर युद्धमा विभिन्न प्रविधिहरूको प्रयोग गरिन्छ:
- मालवेयर र भाइरस: कम्प्युटर सिस्टमभित्र छिरेर डेटा चोर्ने वा डिलिट गर्ने।
- डीडीओएस (DDoS) अट्याक: इन्टरनेट ट्राफिकलाई यति धेरै बढाइदिने कि सम्बन्धित वेबसाइट वा नेटवर्क नै क्र्यास होस्।
- ह्याकिङ: महत्त्वपूर्ण डिजिटल सुरक्षा कवच (फायरवाल) तोडेर भित्रको नियन्त्रण आफ्नो हातमा लिने।
बचाउ र सतर्कता
अहिले विश्वका सबैजसो देशहरूले आफ्नो साइबर सुरक्षा (Cyber Security) लाई मजबुत बनाउन छुट्टै साइबर डिफेन्स टोलीहरू खटाएका छन्। नेपाल जस्तो बढ्दो डिजिटाइजेसन भइरहेको देशका लागि पनि यो विषय निकै गम्भीर छ।
सरकारी स्तरमा मजबुत सुरक्षा प्रणाली हुनुपर्ने त छँदैछ व्यक्तिगत रूपमा पनि हामीले बलियो पासवर्ड राख्ने, शंकास्पद लिङ्कहरू नखोल्ने र आफ्ना सफ्टवेयरहरू समय समयमा अपडेट गर्ने बानी बसाल्नुपर्छ।
साइबर वार आजको त्यस्तो युद्ध हो जहाँ गोली र बारुदको प्रयोग त हुँदैन तर यसले पुर्याउने क्षति कुनै परमाणु हमलाभन्दा कम छैन।
