काठमाण्डौं — प्रविधिको दुनियाँमा जब कुनै नयाँ कुरा आउँछ सुरुमा ठूलो उत्साह देखिन्छ। लगानीकर्ता झुमिन्छन् कम्पनीहरू रातारात खडा हुन्छन् र बजारमा त्यसको मूल्य (Valuation) अस्वाभाविक रूपमा बढ्छ। त्यसको केही समयपछि ‘यो त फोका (Bubble) मात्र हो, कुनै पनि बेला फुट्न सक्छ’ भन्दै चेतावनी आउन थाल्छन्। अहिले एआई (AI) को सन्दर्भमा पनि धेरैले यसलाई सन् २००० को ‘डटकम क्र्यास’ वा हालैको ‘क्रिप्टो’ काण्डसँग तुलना गरिरहेका छन्।
तर के एआई पनि एउटा अस्थायी फोका मात्रै हो त? गहिरिएर हेर्ने हो भने एआईलाई पुराना ऐतिहासिक उदाहरणहरूसँग तुलना गर्नु नै एउटा ठूलो भ्रम (Category Error) हुन सक्छ।
किन असफल हुँदैछन् पुराना तर्क?
मानव मस्तिष्कले सधैँ पुराना घटनाका आधारमा भविष्यको अनुमान लगाउन खोज्छ। बिजुली, कम्प्युटर, इन्टरनेट वा मोबाइल यी सबैले संसार बदले। तर यी सबैमा एउटा समानता थियो यिनले मानिसको काम गर्ने क्षमता बढाए तर मानिसको ‘सोच्ने शक्ति’ (Cognition) लाई विस्थापित गरेनन्।
विद्युतले मेसिन चलायो तर के बनाउने भन्ने निर्णय मानिसकै थियो। इन्टरनेटले सूचना ओसारपसार गर्यो तर कुन सूचना महत्त्वपूर्ण छ भन्ने निर्णय मानिसले नै लियो। एआई यी सबैभन्दा फरक छ। किनकि यसले मानिसको शारीरिक होइन ‘बौद्धिक कार्य’ गरिरहेको छ।
दक्षताको नयाँ परिभाषा र परिवर्तन
अहिले कर्पोरेट क्षेत्रमा एउटा ठूलो मौन क्रान्ति भइरहेको छ। केही महिना अघिसम्म कम्पनीका प्रमुखहरू (CFOs) ‘एआई भनेको के हो?’ भनेर सोध्थे तर अहिले उनीहरू ‘एआईले मेरो टोलीको कुन काम छिटो गरिदिन्छ?’ भनेर सोध्न थालेका छन्।
उदाहरणका लागि एउटा सफ्टवेयर इन्जिनियर जसले जटिल ‘कोडिङ’ गर्न वर्षौँको अनुभव खर्चिएको हुन्छ अब उसको छेउमा एआई एक यस्तो साथी बनेर उभिएको छ जसमा त्यो सबै अनुभव जन्मजात छ। यसले विशेषज्ञताको परिभाषा नै बदलिदिएको छ। एउटा सामान्य इन्जिनियरले पनि अब एआईको सहयोगमा वर्षौँको अनुभव भएको विज्ञ सरह काम गर्न थालेको छ।
के यो साँच्चै ‘फोका’ हो त?
बजारमा हल्ला (Hype) बढी हुनु र प्रविधि काम नलाग्ने हुनु दुई फरक कुरा हुन्। डटकमको समयमा धेरै कम्पनी डुबे तर इन्टरनेट हराएन। बरु त्यसले संसारै बदल्यो। एआईमा पनि धेरै स्टार्टअपहरू असफल हुन सक्छन् तर एआई प्रविधि हराउने छैन।
यसको एउटा मुख्य कारण यो हो कि एआई प्रयोग गर्दागर्दै आफैँ सिक्दै जान्छ। एउटा हथौडाले जतिसुकै घर बनाए पनि त्यो आफैँमा राम्रो हथौडा बन्दैन तर एआईलाई जति धेरै प्रयोग गर्यो यो त्यति नै शक्तिशाली र ‘स्मार्ट’ हुँदै जान्छ। यस्तो ‘कम्पाउन्डिङ’ सुधार यसअघिका कुनै पनि प्रविधिमा थिएन।
मानिसको भूमिका कहाँ रहन्छ?
जब ‘स्मार्ट मानिस’ को अभाव हुनु अब समस्या रहेन तब ‘कुन कामलाई प्राथमिकता दिने?’ भन्ने कुरा मुख्य चुनौती बनेको छ। एआईले तथ्याङ्क विश्लेषण गर्न सक्छ तर कुन तथ्याङ्कले व्यापारमा दीर्घकालीन असर पार्छ भन्ने ‘निर्णय क्षमता’ (Judgment) अझै पनि मानिसकै हातमा छ।
अहिलेका लागि एआई ती कामहरूमा हाबी भइरहेको छ जुन दोहोरिने प्रकृतिका छन् र जसले रणनीतिक काममा अवरोध पुर्याइरहेका थिए।
इतिहासले फरक कथा लेख्नेछ
अल्पकालमा एआईले मानिसका अपेक्षाहरू पूरा गर्न नसक्ला र धेरै कम्पनीहरू बन्द पनि होलान्। तर दीर्घकालमा यसले ज्ञानमा आधारित (Knowledge-based) हरेक उद्योगलाई पूर्ण रूपमा बदल्ने निश्चित छ।
आजको १० वर्षपछि फर्केर हेर्दा हामीले आजको चिन्तालाई त्यसरी नै हेर्नेछौँ जसरी हिजो इन्टरनेटलाई ‘काम लाग्दैन’ भन्नेहरूलाई हेरिन्छ। त्यसैले अहिलेको बहस एआई ‘फोका ‘ हो कि होइन भन्नेमा होइन बरु यसले ल्याउने परिवर्तनसँग हामी कति छिटो अनुकूल हुन सक्छौँ भन्नेमा केन्द्रित हुनुपर्छ। अन्ततः जित तिनकै हुनेछ जो अहिले बजारको मूल्यमा होइन वास्तविक ‘भ्यालु’ निर्माणमा व्यस्त छन्।
