काठमाण्डौं — समुद्रको गहिराइमा अनेकौँ विचित्रका जीवजन्तु भेटिन्छन्। तर के तपाईंलाई थाहा छ? तपाईंले हेर्ने टिकटक भिडियोदेखि इमेल र भिडियो कलसम्म पनि यही समुद्रको पिँध हुँदै विश्वको अर्को कुनासम्म पुग्दछन्। सुन्दा पत्यार नलाग्न सक्छ तर विश्वभरको करिब ९९ प्रतिशत अन्तर्राष्ट्रिय अनलाइन ट्राफिक समुद्रमुनि बिछ्याइएका केबुलमार्फत नै यताउता हुन्छ।
हालै मात्र ‘TAT-8’ (ट्रान्स–एटलान्टिक टेलिफोन ८) नामक विश्वकै पहिलो ट्रान्स एटलान्टिक फाइबर अप्टिक केबुललाई ३८ वर्षपछि समुद्रबाट बाहिर निकालिएको छ। झन्डै २५ वर्षदेखि एटलान्टिक महासागरको पिँधमा त्यत्तिकै फालिएको यो केबुललाई बाहिर निकाल्नुको आफ्नै महत्त्व छ। समुद्रको अकल्पनीय गहिराइमा वर्षौंसम्म बसेर हाम्रा इमेल, भिडियो कल र मिम (meme) हरू विश्वभर पुर्याउने यी केबुलहरूले कसरी काम गर्छन् त? आउनुहोस् यसबारे जानौँ।
अहिले विश्वभर ५०० भन्दा बढी यस्ता अन्डरसी (समुद्रमुनिका) केबुलहरू सञ्चालनमा छन्। यी सबैलाई एउटै लाइनमा जोड्ने हो भने १० लाख माइलभन्दा लामो हुन्छ जसले पृथ्वीलाई नै कैयौँ पटक फन्को मार्न सक्दछ।
सुन्दा विशाल लागे पनि एउटा केबुलको मोटाइ सामान्य बगैँचामा पानी हाल्ने पाइपजत्तिकै मात्र हुन्छ। यसभित्र मानिसको कपालजत्तिकै मसिनो सिसाको फाइबर (ग्लास फाइबर) राखिएको हुन्छ। यही फाइबरमार्फत लेजर (Laser) ले एक सेकेन्डमै अर्बौं पटक डेटाका सिग्नलहरू पठाउँछ। लामो दूरी पार गर्दा सिग्नल कमजोर नहोस् भनेर बीचबीचमा सिग्नल बुस्टर (Signal booster) हरू राखिएका हुन्छन्। एउटै फाइबरबाट एकैपटक दर्जनौँ फरक फरक रङका लेजरहरू आ आफ्नै डेटा बोकेर कुदिरहेका हुन्छन्। उदाहरणका लागि एउटा लेजरले बोस्टनबाट मेलबर्नसम्म इमेल पुर्याइरहेको हुन्छ भने त्यही बेला अर्कोले न्युयोर्कबाट टोकियोसम्म भिडियो कल ट्रान्समिट गरिरहेको हुन सक्छ। क्षमताको कुरा गर्दा एउटै केबुलले प्रतिसेकेन्ड सयौँ टेराबिट्स डेटा ट्रान्सफर गर्न सक्दछ।
समुद्रमा इन्टरनेट बिछ्याउने महिनौँ लामो यात्रा
यी केबुलहरूलाई समुद्रको पिँधसम्म पुर्याउनु चानचुने कुरा होइन। सुरुमा इन्जिनियरहरूले पानीभित्रका अवरोधहरू पन्छाउँदै सबैभन्दा सुरक्षित र छोटो बाटो तय गर्दछन्। केबुल निर्माण भइसकेपछि यसलाई पानीजहाजमा भएका विशाल ट्याङ्कहरूमा गोलाकार रूपमा बेरेर राखिन्छ। यो काम सक्न मात्रै करिब एक महिना लाग्छ।
जहाजले बन्दरगाह छाडेपछि यो प्रतिघण्टा जम्मा ६ माइलको सुस्त गतिमा अघि बढ्छ। यो भनेको मानिस विस्तारै दौडिएको (जगिङ गरेको) जत्तिकै गति हो। महिनौँसम्म समुद्रमा बिताउने कामदारहरूले ट्याङ्कबाट बिस्तारै केबुल तान्दै जहाजको पछाडिको भागबाट पानीमा खसाल्दै जान्छन्। खराब मौसमको सामना गर्नुपर्दा उनीहरूले केबुल काटेर त्यसको टुप्पोलाई बोया (buoy) मा बाँधेर जहाज सुरक्षित स्थानतिर लैजानुपर्ने हुन्छ। मौसममा सुधार आएपछि फेरि त्यही केबुललाई तानेर जोड्दै (splice) समुद्रमाथिको सुस्त यात्रा अघि बढ्छ।
महासागर पार गरेर अर्को महादेश पुगेपछि यो केबुल एउटा डेटा सेन्टर (Data center) मा जोडिन्छ। अनि त्यहाँबाट मोबाइल सेल टावर वा लोकल वाई फाई (Wi-Fi) नेटवर्क हुँदै डेटा हावाको माध्यमबाट हाम्रो डिभाइससम्म आइपुग्छ। अचेल स्टारलिंक (Starlink) जस्ता स्याटेलाइट इन्टरनेटको चर्चा धेरै भए पनि कुल इन्टरनेट ट्राफिकमा यसको हिस्सा निकै सानो मात्र छ।
केबुल चुँडिदा के हुन्छ ?
यति धेरै मजबुत बनाइएको भए पनि संयुक्त राष्ट्रसंघ (UN) का अनुसार हरेक वर्ष करिब १५० देखि २०० वटासम्म केबुल इन्सिडेन्ट (केबुल चुँडिने वा बिग्रिने घटना) हुने गरेका छन्। एउटा केबुल बिग्रिँदा इन्टरनेट सेवा नै ठप्प नहोस् भनेर धेरैजसो ठाउँमा वैकल्पिक लाइनको व्यवस्था गरिएको हुन्छ। तर केही दुर्गम क्षेत्रहरूमा भने एउटै मात्र केबुलको भर पर्नुपर्ने हुँदा महिनौँसम्म इन्टरनेट विहीन बन्नुपर्ने अवस्था आउँछ। सन् २०२२ मा ज्वालामुखी विस्फोटका कारण बाँकी विश्वसँग जोड्ने एक मात्र केबुलमा क्षति पुग्दा दक्षिण प्रशान्त महासागरको टापु राष्ट्र टोंगा एक महिनाभन्दा बढी समय इन्टरनेट र टेलिफोन सम्पर्कबाट विच्छेद भएको थियो।
यस्ता प्राकृतिक प्रकोपबाहेक करिब ८० प्रतिशत घटनाहरू भने मानवीय गतिविधिकै कारण हुने गर्दछन्। पानीजहाजको एङ्कर (anchor) ले तानेर वा माछा मार्ने ट्रलरहरूका कारण केबुलमा क्षति पुग्ने गर्दछ। पछिल्ला वर्षहरूमा जानाजान केबुल काटिदिने (sabotage) घटनाहरू पनि देखिएका छन्।
अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (ITU) का उपमहासचिव टोमस लामानाउस्कसले युएन न्युज (UN News) सँग कुरा गर्दै भनेका छन्, “केबुल चुँडिदा भौतिक रूपमा मर्मत गर्नुभन्दा पनि त्यसका लागि आवश्यक पर्ने अनुमति र लाइसेन्सहरू लिनु बढी जटिल हुन्छ विशेषगरी जब धेरै देशका कानुन र क्षेत्राधिकारहरू जोडिन्छन्।”
हरेक केबुलको औसत आयु करिब २५ वर्ष हुन्छ। सुरुमा उल्लेख गरिएको TAT-8 केबुल पनि सन् २००२ मै बिग्रिएको थियो। मर्मत गर्न अत्यधिक खर्चिलो हुने भएपछि त्यसलाई झन्डै २५ वर्षसम्म एटलान्टिक महासागरको पिँधमै त्यत्तिकै छाडिएको थियो। वातावरणका हिसाबले यसलाई रिसाइकल गर्नुको आफ्नै फाइदा छँदैछ, सँगसँगै नयाँ केबुल ओछ्याउन ठाउँ खाली गर्न र त्यसमा प्रयोग भएको महँगो तामा (copper) निकाल्न पनि यसलाई बाहिर निकालिएको हो।
