काठमाण्डौं — जेम्स वेब स्पेस टेलिस्कोपले हाम्रो ग्यालेक्सीको निर्माण प्रक्रियासँग जोडिएको एउटा महत्त्वपूर्ण रहस्य बाहिर ल्याएको छ। खगोलविद्हरूले वेब टेलिस्कोपको मद्दतमा पहिलोपटक ‘बल्ज फसिल फ्र्याग्मेन्ट’ फेला पारेका छन् जसले मिल्की वे ग्यालेक्सी कसरी बन्यो भन्नेबारे नयाँ तथ्यहरू उजागर गरेको छ।
खगोलविद्हरूको पछिल्लो अध्ययन ग्यालेक्सीको केन्द्रमा रहेको ‘टर्जान ५’ नामक क्षेत्रमा केन्द्रित थियो। ग्यालेक्सीको यो भागलाई ‘द बल्ज’ पनि भनिन्छ। यहाँ अत्यधिक मात्रामा ताराहरू र धुलोको चाप हुने भएकाले यसअघि अध्ययन गर्न निकै कठिन हुँदै आएको थियो। तर अहिले वेब टेलिस्कोप र यसअघि हबल स्पेस टेलिस्कोपले संकलन गरेका विवरणहरूको विश्लेषण गरेपछि वैज्ञानिकहरू अचम्ममा परेका छन्।
यसअघि टर्जान ५ लाई एउटा सामान्य ‘ग्लोबुलर स्टार क्लस्टर’ मात्र मानिएको थियो। यस्ता क्लस्टरमा सामान्यतया एकै समयमा बनेका पुराना ताराहरूको एउटा समूह मात्र हुन्छ। तर नयाँ अध्ययनले टर्जान ५ मा कम्तीमा चारवटा फरक फरक चरणमा ताराहरू निर्माण भएको देखाएको छ।
अनुसन्धानकर्ताहरूको सर्वेक्षणअनुसार यसमा १२.५ अर्ब र ४.७ अर्ब वर्षपहिले बनेका पुराना ताराहरूको दुईवटा समूह छ। त्यसैगरी ३.८ अर्ब र २.५ अर्ब वर्षपहिले बनेका थप दुई नयाँ ताराहरूको समूह पनि त्यहाँ भेटिएको छ। यसले टर्जान ५ सामान्य क्लस्टर मात्र नभएको पुष्टि गर्दछ ।
यो खोजमा संलग्न युनिभर्सिटी अफ बोलोग्नाका प्राध्यापक तथा वेब अब्जर्भेसनका प्रमुख अनुसन्धानकर्ता फ्रान्सेस्को आर. फेरारोका अनुसार यो ताराहरूको समूह निकै अनौठो छ।
“कुनै कारणले गर्दा ताराहरूको यो विशिष्ट झुण्ड ‘बल्ज’ भन्दा छुट्टै बन्यो र बल्ज निर्माण हुँदा पनि यो नष्ट भएन,” फेरारोले भनेका छन्, “यसले बल्ज निर्माण गर्न मद्दत गर्ने सुरुवाती झुण्डहरूकै झल्को दिने भएकाले टर्जान ५ लाई हामीले अहिले ‘बल्ज फसिल फ्र्याग्मेन्ट’ भनेका हौं।”
यसको निर्माण प्रक्रियाबारे थप प्रस्ट पार्दै अध्ययनकी सह लेखिका तथा सोही विश्वविद्यालयकी सह प्राध्यापक बारबरा लान्जोनीले सुरुवाती ब्रह्माण्डमा ग्यालेक्सीहरूसँग ग्यासका विशाल डिस्कहरू हुने गरेको बताइन्।
“हाम्रो अध्ययन र सिमुलेसनको आधारमा के देखिन्छ भने ती डिस्कहरू पछि टुक्रिएर छुट्टाछुट्टै झुण्डहरू बने र तिनैबाट ताराहरू निर्माण भए। पछि यी झुण्डहरू ग्यालेक्सीको केन्द्रतिर सरे र आपसमा गाभिएर ‘बल्ज’ बनेको हाम्रो निष्कर्ष छ,” उनले भनिन्।
