काठमाण्डौं — डिजिटल प्रविधि विश्वव्यापी रूपमा विस्तार भइरहेका बेला मोबाइल र मोबाइल इन्टरनेट प्रयोगमा महिला तथा पुरुषबीचको खाडल अझै कायम रहेको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ। विशेषगरी दक्षिण एशिया र उप-सहारा अफ्रिकामा महिलाहरू मोबाइल इन्टरनेट प्रयोग, स्मार्टफोन स्वामित्व र मोबाइल पहुँचका हिसाबले पुरुषभन्दा उल्लेख्य रूपमा पछाडि छन्।
जीएसएमए (GSMA) ले सार्वजनिक गरेको मोबाइल जेन्डर ग्याप रिपोर्ट २०२६ अनुसार निम्न तथा मध्यम आय भएका मुलुकहरू (LMICs) मा महिलाहरू पुरुषको तुलनामा मोबाइल इन्टरनेट प्रयोग गर्ने सम्भावना १२ प्रतिशत कम छ। यसले विश्वभर करिब २० करोड महिला मोबाइल इन्टरनेट पहुँचबाट वञ्चित रहेको संकेत गर्दछ।
रिपोर्टका अनुसार महिलाहरू पुरुषको तुलनामा स्मार्टफोन स्वामित्वमा १३ प्रतिशतले पछाडि छन्। यसका कारण करिब २१ करोड महिलासँग पुरुषसरह स्मार्टफोन पहुँच छैन। अझै पनि ८४ करोडभन्दा बढी महिलासँग आफ्नै स्मार्टफोन नभएको अध्ययनले देखाएको छ।
त्यसैगरी कुनै पनि प्रकारको मोबाइल फोन स्वामित्वमा महिलाहरू पुरुषभन्दा ७ प्रतिशतले कम छन्। यसले करिब १३ करोड ५० लाख महिलासँग अझै मोबाइल फोन नपुगेको अवस्था झल्काउँछ।
दक्षिण एशियामा सुधार, तर समस्या अझै गम्भीर
रिपोर्टले दक्षिण एशियामा केही सकारात्मक सुधार देखाएको छ। सन् २०२४ मा ३३ प्रतिशत रहेको मोबाइल इन्टरनेट प्रयोगको लैङ्गिक अन्तर सन् २०२५ मा घटेर २५ प्रतिशतमा झरेको छ। यद्यपि यस क्षेत्रका करिब ३३ करोड महिला अझै मोबाइल इन्टरनेट प्रयोगकर्ताको दायराबाहिर छन्।
यसैगरी उप-सहारा अफ्रिकामा पनि मोबाइल इन्टरनेट प्रयोगको लैङ्गिक अन्तर ३० प्रतिशतबाट २६ प्रतिशतमा झरेको छ। तर त्यहाँ पनि करिब २३ करोड महिला मोबाइल इन्टरनेटबाट वञ्चित छन्।
विश्लेषकहरूका अनुसार पछिल्ला वर्षहरूमा मोबाइल इन्टरनेट पहुँच विस्तार भए पनि आर्थिक संकट, महँगी, जलवायुजन्य विपद् तथा सामाजिक असमानताले महिलाको डिजिटल पहुँच विस्तारको गति सुस्त बनाएको छ।
ग्रामीण क्षेत्रमा समस्या झन् गहिरो
रिपोर्टको अर्को महत्वपूर्ण निष्कर्ष ग्रामीण र शहरी क्षेत्रबीचको ठूलो अन्तर हो। निम्न तथा मध्यम आय भएका मुलुकहरूमा ग्रामीण क्षेत्रमा मोबाइल इन्टरनेट प्रयोगको लैङ्गिक अन्तर शहरी क्षेत्रको तुलनामा तीन गुणासम्म बढी देखिएको छ।
सन् २०२५ मा समग्र LMICs मा शहरी क्षेत्रमा मोबाइल इन्टरनेट प्रयोगको लैङ्गिक अन्तर ६ प्रतिशत मात्रै रहेको बेला ग्रामीण क्षेत्रमा यो २२ प्रतिशत पुगेको छ। स्मार्टफोन स्वामित्वमा शहरी क्षेत्रमा ७ प्रतिशत र ग्रामीण क्षेत्रमा २२ प्रतिशत अन्तर देखिएको छ। मोबाइल स्वामित्वमा समेत शहरी क्षेत्रमा ३ प्रतिशत र ग्रामीण क्षेत्रमा ११ प्रतिशत अन्तर रहेको अध्ययनले जनाएको छ।
विशेषगरी दक्षिण एशियाका ग्रामीण महिलाहरू डिजिटल पहुँचको दृष्टिले अझ बढी जोखिममा छन्। ग्रामीण दक्षिण एशियामा स्मार्टफोन स्वामित्वको लैङ्गिक अन्तर ३८ प्रतिशत पुगेको छ जुन शहरी क्षेत्रमा २७ प्रतिशत मात्रै छ।
भूपरिवेष्ठित र अति कम विकसित मुलुकमा ठूलो चुनौती
यस वर्ष पहिलो पटक रिपोर्टले अति कम विकसित मुलुक (LDC), भूपरिवेष्ठित विकासशील मुलुक (LLDC) तथा साना द्वीपीय विकासशील राष्ट्र (SIDS) मा डिजिटल लैङ्गिक अन्तरको अलग अध्ययन गरेको छ।
अध्ययनअनुसार मोबाइल इन्टरनेट प्रयोगको लैङ्गिक अन्तर अति कम विकसित मुलुकहरूमा ३३ प्रतिशत र भूपरिवेष्ठित विकासशील मुलुकहरूमा २३ प्रतिशत छ। तुलनात्मक रूपमा साना द्वीपीय राष्ट्रहरूमा यो अन्तर ११ प्रतिशत मात्र रहेको छ।
नेपाल जस्तो भूपरिवेष्ठित विकासशील मुलुकका लागि यो तथ्य विशेष महत्त्वपूर्ण मानिन्छ। कमजोर पूर्वाधार, दुर्गम भूगोल, स्थानीय भाषामा डिजिटल सामग्रीको अभाव तथा आर्थिक सीमितताले महिलाहरूलाई डिजिटल सेवाबाट टाढा राख्ने प्रमुख कारण रहेको रिपोर्टले उल्लेख गरेको छ।
डिजिटल समावेशीकरणको केन्द्रमा महिला
रिपोर्टले डिजिटल रूपान्तरणलाई सफल बनाउन महिलाको पहुँच वृद्धि अपरिहार्य रहेको निष्कर्ष निकालेको छ। मोबाइल फोन, स्मार्टफोन र मोबाइल इन्टरनेटमा महिलाको पहुँच बढाउन सके शिक्षा, स्वास्थ्य, वित्तीय सेवा, उद्यमशीलता र रोजगारीका अवसरमा समेत सुधार आउने अध्ययनको निष्कर्ष छ।
विशेषगरी ग्रामीण महिला, कम आय भएका परिवारका महिला तथा डिजिटल पहुँचमा पछाडि परेका समुदायलाई लक्षित नीति, सस्तो स्मार्टफोन, डिजिटल सीप विकास तथा स्थानीय भाषामा सामग्री विस्तारमार्फत मात्र डिजिटल लैङ्गिक अन्तर घटाउन सकिने रिपोर्टले सुझाव दिएको छ।
डिजिटल अर्थतन्त्रको युगमा महिलालाई प्रविधिबाट जोड्न नसकिए विकासको लाभ समान रूपमा वितरण हुन नसक्ने भएकाले सरकार, दूरसञ्चार कम्पनी, विकास साझेदार र प्रविधि क्षेत्रका संस्थाहरूले संयुक्त रूपमा पहल गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
