काठमाडौं — बालबालिकालाई सुत्ने बेला सुनाउने कथा अब एआईले नै तयार पारिदिने भएको छ। मेटाले अभिभावकलाई लक्षित गर्दै बालबालिकाका लागि व्यक्तिगत कथा सिर्जना गर्न सक्ने ‘स्टोरीकिट’ नामक एआई स्टोरीटेलिङ एपको परीक्षण गरिरहेको छ।
स्टोरीकिटले आफूले चाहेको पात्र, परिवेश, शिक्षा र संगीत समेटेर एआई-जेनेरेटेड बालकथा तयार गर्न सक्छ। एप स्टोरमा राखिएको विवरणमा अभिभावकलाई लक्षित गर्दै भनिएको छ, ‘तपाईंले एक शब्द पनि लेख्नुपर्दैन।’
स्टोरीकिटलाई पहिलो पटक नाइनटुफाइभम्याकले एप स्टोरमा फेला पारेको थियो। त्यसपछि मेटाले स्टोरीकिटको परीक्षण भइरहेको पुष्टि गरेको छ। कम्पनीका अनुसार अभिभावकले यो एपलाई कसरी लिन्छन् भन्ने बुझ्न हाल केही चुनिएका देशमा यसको पाइलट परीक्षण भइरहेको छ।
मेटाका प्रवक्ताले स्टोरीकिटलाई बालबालिकाका लागि व्यक्तिगत र कल्पनाशील स्टोरीबुक तयार पार्न प्रयोग गर्न सकिने क्रिएटिभ स्टोरीटेलिङ एपका रूपमा व्याख्या गरेका छन्। यसमा एआई सेफ्टी फिल्टर प्रयोग गरिएको छ भने कुनै पनि सोसल फिचर राखिएको छैन। एप १८ वर्षभन्दा माथिका प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ।
एपमा कथा बनाउन सुरुमा एउटा पात्र छनोट गर्नुपर्छ। एप स्टोरमा दिइएको विवरणअनुसार प्रयोगकर्ताले बालबालिकाको मनपर्ने खेलौना वा व्यक्तिको फोटो खिचेर त्यसलाई कथाको पात्रका रूपमा जीवन्त बनाउन सक्छन्।
त्यसपछि कथाको संसार वा परिवेश कस्तो हुने भन्ने विवरण दिन सकिन्छ। कथाबाट बालबालिकालाई के सिकाउने भन्ने विषय पनि प्रयोगकर्ताले छनोट गर्न सक्छन्। यसमार्फत दया, साहस वा समानुभूतिजस्ता मूल्यलाई उपदेश दिएजस्तो महसुस नहुने गरी कथामा समेट्न सकिने मेटाको दाबी छ।
स्टोरीकिटले अभिभावकलाई सहज विकल्प दिए पनि बालबालिकाका लागि कथा सिर्जना गर्ने मानवीय कल्पनाशीलता नै एआईलाई सुम्पिनु कति उचित हो भन्ने प्रश्न पनि उठेको छ।
मानिसले आफ्नो अस्तित्वको लामो इतिहासदेखि नै कथा भन्दै आएका छन्। नयाँ कथा सिर्जना गर्नेदेखि पौराणिक कथा, दन्त्यकथा र पुस्तौँदेखि सुनाइँदै आएका कथालाई नयाँ ढंगले प्रस्तुत गर्ने परम्परा मानव समाजमा पुरानै हो। मौखिक रूपमा कथा सुनाउने यही परम्पराले पुस्तौँपुस्ताबीच कल्पना, संस्कृति र अनुभवलाई जोड्दै आएको छ।
व्यस्त दैनिकीका कारण अभिभावकका लागि हरेक रात नयाँ कथा सोचेर बालबालिकालाई सुनाउनु सहज नहुन सक्छ। यस्तो अवस्थामा स्टोरीकिट आकर्षक विकल्प बन्न सक्छ। घरमा भएका बालकथाका पुस्तक अस्वीकार गर्दै बच्चाले कछुवा र हेजहग मिल्ने साथी बनेर अन्तरिक्षका रहस्य समाधान गर्ने कथा सुनाउन आग्रह गरेमा एआईबाट तत्काल त्यस्तो कथा बनाउनु सहज हुन सक्छ।
तर यही सहजताले अर्को बहस पनि जन्माएको छ। बालबालिकासँग बसेर आफ्नै कल्पनामा रमाउँदै कथा बनाउने, हाँस्ने र रमाइला प्रसंग जोड्ने अवसरलाई स्मार्टफोनमा एआईले तयार पारेको स्क्रिप्ट पढेर सुनाउने अभ्यासले विस्थापित गर्ने त होइन भन्ने प्रश्न उठ्छ।
मेटाले यसअघि पनि इन्स्टाग्राम डिपफेक जेनेरेटरलगायत एआईसँग सम्बन्धित विभिन्न प्रयोग अघि सारेको छ। स्टोरीकिट भने बालबालिकाको कथा र अभिभावकसँगको सम्बन्धसँग प्रत्यक्ष जोडिएकाले यसको प्रयोगबारे फरक खालको बहस सुरु हुन सक्ने देखिन्छ।
स्टोरीकिटले अभिभावकको समय बचाउने र बालबालिकाका लागि चाहेजस्तो व्यक्तिगत कथा तत्काल तयार पार्ने सुविधा दिन सक्छ। अर्कोतर्फ बालबालिकाको कल्पनाशीलता विकास र अभिभावकसँगको आत्मीय संवादमा कथावाचनले खेल्दै आएको भूमिकालाई एआईले प्रतिस्थापन गर्नुपर्ने हो वा होइन भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ।
अन्तत बालबालिकाले सुत्ने बेलामा सुन्ने कथा लार्ज ल्याङ्ग्वेज मोडलले लेख्ने भविष्य स्वीकार गर्ने वा मानवीय कल्पना र आपसी संवादलाई प्राथमिकता दिने भन्ने छनोट भने प्रयोगकर्ताकै हातमा रहनेछ।
